सन् २००९ देखि ए लेभलको कक्षा सञ्चालन गर्दै आएको काठमाडौं युनिभर्सिटी हाईस्कूलले विज्ञान विषयलाई जोड दिँदै आएको छ । स्थापना कालदेखि नै यस शैक्षिक संस्थाले ११ र १२ कक्षालाई भन्दा पनि अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शैक्षिक कार्यक्रम ए लेभललाई प्राथमिकता दिँदै आएको छ । काभ्रेको चौकोटमा स्वच्छ, शान्त तथा रमणीय वातावरणमा रहेको यो हाईस्कूलबाट हरेक वर्ष ५० जना विद्यार्थीले ए लेभलको शिक्षा प्राप्त गरिरहेका छन् । सिकाइमैत्री वातावरणमा हरेक विषयमा पूरै समय पढाउने दुई÷दुईजना शिक्षकमार्फत एक–एक विद्यार्थीसँग अन्तरक्रियात्मक पठनपाठन हुने गरेको काठमाडौं युनिभर्सिटी हाईस्कूलका संयोजक सुरेन्द्र जोशीले जानकारी दिए । यसले ए लेभलमा विद्यार्थीलाई सृजनशील र सोच्न सक्ने क्षमताको विकास गर्छ । ए लेभलको अध्ययन तथा अध्यापन शैली अरूभन्दा फरक हुने भएकाले यसमा घोकेर पढ्नेलाई होइन, ज्ञान र खोजमा सक्रिय भएर पढ्नेलाई प्राथमिकता दिने गरिन्छ ।
उक्त हाई स्कूलले प्रत्येक वर्ष तीनजना विद्यार्थीलाई इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्ति दिँदै आएको छ । यो छात्रवृत्ति चाइनाको फुडान विश्वविद्यालयसँग भएको सम्झौता (एमओयू)अनुसार प्रदान गरिएको हो । यो छात्रवृत्ति प्राप्त गर्न विश्वविद्यालयको आवश्यक मापदण्ड पूरा गरी अन्तरवार्ताबाट छनोट हुनुपर्छ । यस स्कूलले पढ्नका लागि काठमाडौंबाट काभ्रेसम्म पुग्न यातायातको व्यवस्था गरेको छ । साथै, छात्र र छात्राहरूका लागि होष्टलको सुविधासमेत छ ।
मुलुकका लागि एक जिम्मेवारी, नेतृत्वदायी, व्यवसायी नयाँ पुस्ता उत्पादन गर्नु, अन्तराष्ट्रिय विश्वविद्यालयहरूको पहुँच दिनु, पढाइ परीक्षाका लागि मात्र नभई रचनात्मक सिकाइमा परिणत गर्नुलगायत यस संस्थाको मिशन रहेको छ । ए लेभलमा विभिन्न शिक्षण पद्धति अपनाएको यस हाईस्कूलले विशेषगरी तीनओटा तरीकामार्फत सिकाइ प्रभावकारी बनाएको छ, जसअन्तर्गत शिक्षक तथा पाठ्यपुस्तकबाट जानकारी प्राप्त गर्ने, अवलोकन तथा अनुभवबाट सिक्ने र आफ्नै सोचाइबाट सिक्ने पर्छन् । यी विधि महत्त्वपूर्ण र एकअर्काका परिपूरक भएको संस्थाको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।