काठमाडौं । अन्तरराष्ट्रिय शैक्षिक मान्यताअनुसार १२औं कक्षासम्मको पढाइलाई विद्यालय तहमा राखिएको छ । बेलायतको विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा आधारित भएर पढाई हुने ‘ए लेभल’ विद्यालय तहको कक्षा ११ र १२ को समष्टि नाम हो ।
यो तह पढेका विद्यार्थीका लागि विश्वविद्यालयको ढोका खुला हुन्छ । हुन त देशभित्रकै तथा बाहिरका अन्य विश्वविद्यालयको पाठ्यक्रममा आधारित भएर पनि विद्यालयका यी अन्तिम दुईवर्षे तह पार गर्न सकिन्छ । तर, त्यसपछि स्नातक तह पढ्न पाउने विश्वविद्यालयको सङ्ख्या भने सीमित हुने गर्छ ।
उता, क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा आधारित ए लेभल पढेका विद्यार्थीका लागि भने विश्वभरका विश्वविद्यालयहरूले सजिलै भर्ना लिन्छन् । यो नै ए लेभल पढ्ने विद्यार्थीले पाउने सबैभन्दा ठूलो अवसर हो । नेपालमा ए लेभल पढ्ने विद्यार्थीको पहिलो उद्देश्य भनेकै त्यसपछिको पढाइ विदेश गएर पढ्ने भन्ने हुन्छ । ए लेभल पढ्नेमध्ये करीब ७० देखि ८० प्रतिशत विद्यार्थी हरेक वर्ष आफ्नो थप अध्ययन पूरा गर्न विदेश जाने गर्छन् । बाँकीले नेपालमै रहेका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालयअन्तर्गतका कलेजमा पनि पढाइ अघि बढाउँछन् ।
विश्वविद्यालयका जुनसुकै धार (सङ्काय)मा पनि अघि बढ्न सकिनेगरी ए लेभलको पाठ्यक्रम तयार भएका छन् । तीमध्ये नेपालमा कतिपय कलेजले साइन्स र ननसाइन्स भनेर अलग–अलग गरी पढाउँछन् भने कतिपयले एकै ठाउँमा राखेर ऐच्छिक विषयहरूमा मात्र अलग गरेर पनि पढाउँछन् । जे होस् हालै लागु भएको नियमअनुसार कुनै पनि चार (अङ्ग्रेजी अनिवार्य) विषयमा उत्तीर्ण गरेपछि नेपाल सरकारले ए लेभल उत्तीर्णको मान्यता दिएको छ । यति भएपछि विद्यार्थीलाई संसारका जुनसुकै देशमा आफ्नो पढाइ अघि बढाउन समस्या पर्दैन ।
यो धारमा पढ्ने विद्यार्थीले सामान्य कक्षा ११ र १२ का विद्यार्थीलेभन्दा केही विशेष कुराहरू प्राप्त गर्छन् । ए लेभल पढ्ने विद्यार्थीले पढाइका क्रममा ज्ञान, शीप र विश्लेषणात्मक क्षमता प्राप्त गर्छन् । पढेको कुरालाई व्यवहारमा उतार्न सिकाउने र व्यवहारमा लागू हुने कुरा पढ्न पाउनु यो धारका विद्यार्थीका लागि महत्त्वपूर्ण अवसर हो । यसमा विषयअनुसार लिखित, मौखिक तथा प्रयोगात्मक सवै प्रकारका परीक्षा हुन्छन् ।
विशेष क्षमता र दक्षतासहित ए लेभल पार गर्ने नेपालका विद्यार्थीहरूबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय टपरहरू निस्किरहेका छन् । राम्रो ग्रेडमा ए लेभल उत्तीर्ण गर्नेहरूले देश तथा विदेशका विश्वविद्यालयमा राम्रो परिमाणमा छात्रवृत्ति पनि पाइरहेका छन् ।
रोजगारीको पाटो
ए लेभलको पाठ्यक्रम विश्वस्तरीय भएको हुनाले यसबाट उत्तीर्ण हुने विद्यार्थीलाई रोजगारीका लागि पनि विश्वभरका ढोका खुला हुन्छन् । यसअन्तर्गत सम्पूर्ण सङ्कायका विषयहरू पढाइ हुने हुँदा अवसरका बाटा पनि सबै क्षेत्रकै हुन्छन् ।
ए लेभलको पढाइ सकिएपछि देशभित्रकै विश्वविद्यालय तथा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकीलगायत विषय पढेका थुप्रै विद्यार्थीले आ–आफ्ना कार्यक्षेत्रमा पनि विषयअनुसार सफलता प्राप्त गरिरहेका छन् ।
ए लेभलको साइन्स धारमा पढ्ने धेरैजसो विद्यार्थी डाक्टर, इञ्जिनीयर, नर्स बनेका छन् । त्यसैगरी ननसाइन्स धारमा पढ्नेमा धेरैजसो बिजनेश म्यानेजमेण्टका क्षेत्रमा अघि बढेका छन् । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, ए लेभल पढेका विद्यार्थी जागिरको खोजीमा लाग्नेभन्दा पनि रोजगारी सृजना गर्नेतर्फ बढी सक्रिय हुने गरेका छन् । यसबाट पाइने ज्ञान, शीप र विश्लेषकीय क्षमताले उनीहरूमा आफ्नै काम गर्न सक्ने आँट र दृष्टि प्रदान गर्छ । सानै भए पनि आफ्नै काम गर्ने र अरूका लागि रोजगारी सृजना गर्ने क्षमता ए लेभल गरेका विद्यार्थीमा पाइने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।