ए लेभल र प्लस टूमा अध्ययन गर्ने कोर्सबीच धेरै अन्तर छ । ए लेभल क्याम्ब्रिज युनिभर्सिटीको कोर्स हो भने प्लस टू नेपाली बोर्डको । ए लेभल संसारभर पढाइने र यसको प्रमाणपत्र विश्वव्यापी भएकाले पनि यो बढी महत्त्वपूर्ण भएको हो । अर्को कुरा प्लस टू र ए लेभलको शैक्षिक प्रकृति नै भिन्न किसिमको छ । प्लस टूमा ‘यो भवन कसरी बन्यो’ भनेर अध्ययन गरिन्छ भने ए लेभलमा ‘यसको उपयोग कसरी गर्ने’ भनेर पढिन्छ । यी दुईबीचको मुख्य भिन्नता नै यही हो । प्लस टू तहले इतिहासको कुरा गर्छ भने ए लेभलले भविष्यलाई नियाल्छ ।
ए लेभलमा पाठ्यक्रम पनि नियमित ‘अपडेट’ भइरहन्छ । यसकारण विद्यार्थीले नयाँ कुराको बारेमा जानकारी पाउन सक्छन् । प्रयोगात्मक अभ्यास मात्रामा हुने र स्वाध्ययन गर्ने भएकाले विद्यार्थीहरू पनि प्लस टू तहको भन्दा बढी सृजनशील हुन्छन् । प्लस टूमा अध्ययन गर्ने विद्यार्थीको कोर्स एकपटक परिवर्तन भएपछि परिमार्जन हुन धेरै समय लाग्छ । यसो गर्दा विद्यार्थीलाई परिमार्जित कोर्सबारे जानकारी नै हुँदैन । ए लेभलमा धेरै गहिराइमा अध्ययन गराइने भएकाले विषयवस्तुबारे विद्यार्थी धेरै जानकार हुन्छन् ।
ग्रामीणस्तरका विद्यार्थी बेखवर
अझै पनि ग्रामीणस्तरका विद्यार्थीलाई ए लेभलबारे जानकारी छैन । यसबारे सबै विद्यार्थीले जानकारी पाउनु आवश्यक छ । त्यसले उनीहरूलाई विषय छनोट गर्न मद्दत पुग्छ । ए लेभललाई विदेश जानका लागि गरिने अध्ययन भनिन्छ । तर, नेपालमा ए लेभलसम्बन्धी थप अध्ययन गर्ने व्यवस्था नभएकाले विदेश जानुपरेको हो ।
महँगो भन्न मिल्दैन ए लेभल
ए लेभल जति महँगो छ, यसको गुणस्तर पनि त्यति नै राम्रो छ । तर, समग्रमा हल्ला चलेजति महँगो भने होइन । यसलाई मध्यमवर्गीय परिवारले पनि सजिलै अध्ययन गर्न सक्छन् । यसमा अध्ययन गर्ने विषयवस्तु धेरै छन् । त्यसैगरी, विद्यार्थीलाई सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक रूपमा अध्यापन गराइन्छ । प्लस टू तह अध्ययन गरेका भन्दा ए लेभलका विद्यार्थीलाई धेरै विषयको जानकारी हुन्छ । यसकारण विद्यार्थीले के पाए भन्ने दृष्टिकोणबाट तुलना गर्ने हो भने ए लेभललाई महँगो भन्न मिल्दैन ।
ए लेभल क्याम्ब्रिज युनिभर्सिटीको कोर्स भएका कारण विश्वको जुनसुकै कलेजमा पनि सजिलै अध्ययन गर्न सकिन्छ । तर, ए लेभललाई सबैको पहुँचमा पुर्याउन सरकारले नै पहल गर्नुपर्छ । केही मात्रामा सम्बन्धित कलेजले पनि सहयोग गर्न सक्छ । आर्थिक अवस्था कमजोर भएका उत्कृष्ट विद्यार्र्थीलाई कलेजले अध्ययन गर्ने अवसर दिएमा कलेज र विद्यार्थी दुवैका लागि राम्रो हुनेथियो । त्यसो भएमा थोरै नै सही, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि अध्ययन गर्ने अवसर पाउने थिए ।
शैक्षिक प्रणालीमा सुधार आवश्यक
ए लेभल अध्ययन गर्ने धेरैजसो विद्यार्थीको चाहना विदेश जाने नै हुन्छ । तर, नेपालमै यो कोर्स पूरा गर्ने व्यवस्था भएमा विदेश गइरहनुपर्ने बाध्यता रहँदैन । त्यसैले, उत्कृष्ट विद्यार्थीका लागि राज्यले अवसर र पढ्ने व्यवस्था मिलाउनुपर्छ । ए लेभल गरेका विद्यार्थीलाई विश्वका सबै देशले अध्ययनका लागि सजिलै अनुमति दिने गर्छन् । अध्ययनका लागि उत्कृष्ट विद्यार्थी विदेश जानुलाई नराम्रो भन्न मिल्दैन । यदि, विद्यार्थीमा राष्ट्रप्रति केही गर्नुपर्छ भन्ने भावना छ भने त्यसले देशका लागि अवश्य केही गर्छ । होइन भने स्वदेश वा विदेश जहाँ भए पनि केही फरक पर्दैन । हामीले नेपालको शैक्षिक प्रणालीमा सुधार गर्न पहल गर्नुपर्ने भएको छ । यहाँ नपढेका नेता र तिनीहरूकै पछि लाग्ने कर्मचारी भएकाले नेपालको शैक्षिक अवस्था गुणात्मक रूपमा विकास हुन नसकेको हो ।
एउटै शिक्षकले धेरैओटाकक्षा लिनुपर्ने बाध्यता
नेपालका थोरै मात्र कलेजमा ए लेभलका लागि चाहिने शैक्षिक तथा भौतिक संरचनाको राम्रो व्यवस्था छ । बाँकीमा उपयुक्त वातावरण छैन । अध्ययनका लागि आवश्यक मात्रामा चाहिने शैक्षिक सामग्री भएन भने अध्ययन गर्न गाह्रो हुन्छ । ए लेभल अध्यापन गराउने शिक्षकको सङ्ख्या पनि न्यून छ । ए लेभल अध्ययनका लागि उपयुक्त वातावरण बनाउन ब्रिटिश काउन्सिल र नेपाल सरकारले पनि पहल गर्नुपर्छ । प्लस टू तहमा अध्यापन गर्ने शिक्षकलाई तालीम दिएर पनि ए लेभल अध्ययन गराउने शिक्षक उत्पादन गर्न सकिन्छ । एउटै शिक्षकले धेरैओटा कक्षा लिनुपर्ने भएकाले विद्यार्थीले पर्याप्त समय पाउन सकेका छैनन् ।
अनावश्यक सुविधाले महँगो
ए लेभल विश्वको उत्कृष्ट कोर्स भएकाले पनि केही महँगो भएको हो । तर, नेपालमा महँगो हुनुका अन्य थुप्रै कारण छन् । व्यवसायीकरणले शिक्षालाई धेरै महँगो बनाएको छ । कतिपय शैक्षिक संस्थाले आवश्यकभन्दा बढी विज्ञापन गरिरहेका छन् । अधिकांशले कलेजले स्वीमिङ पूल, अट्याच बाथरूम, एयर कण्डिशनजस्ता सुविधा थपेका छन् । यस्ता अनावश्यक सुविधाको लागत विद्यार्थीमाथि थोपरिएको छ, जसकारण हामीले आवश्यकभन्दा महँगोमा पढ्न बाध्य हुनुपरेको छ । विद्यार्थीलाई एसी र स्वीमिङ पूल होइन, स्तरीय शिक्षा आवश्यक छ ।
अहिले ए लेभल अध्यापन गराउने कलेजको सङ्ख्या बढ्दो छ । यसले गर्दा शिक्षकको अभाव भएको हो । यस्तो अवस्थामा शिक्षकलाई धेरै पैसा दिनुपर्छ । त्यसको आर्थिक भार सीधै विद्यार्थीमा पर्छ । विद्यार्थीले आवश्यकताभन्दा धेरै शुल्क तिर्नुपर्ने बाध्यता छ । तर, गरीब तथा जेहेनदार विद्यार्थीका लागि कलेजहरूले केही गरेको पाइँदैन ।
सरकारको गम्भीरता आवश्यक
ए लेभल अध्ययन गरेका विद्यार्थीको प्रमुख चाहना विदेश जाने नै हुन्छ । यहाँ ए लेभललाई निरन्तरता दिने व्यवस्था पनि हुन सकेको छैन । नेपालको निजामती सेवालगायत आमप्रतिस्पर्धा प्लस टू तहका कोर्समा आधारित हुने भएकाले ए लेभलका विद्यार्थीका लागि उपयुक्त हुँदैन । सरकार राजनीतिक मुद्दामा मात्र केन्द्रित छ । त्यसैले, उसको ध्यान अन्य विषयमा नगएको हो । यसले पनि उत्कृष्ट विद्यार्थी स्वदेशमै अध्ययन गर्ने वातावरण बन्न नसकेको स्पष्ट हुन्छ । सरकारले आफ्नो मातहतमा रहेको प्लस टू शिक्षालाई त उत्कृष्ट बनाउन सकेको छैन भने ए लेभललाई कसरी राम्रो बनाउन सक्छ ? विदेशमा सिकेको शिक्षालाई सरकारले स्वदेशको हितमा प्रयोग गर्ने वातावरण बनाउने हो भने त्यो बढी फलदायी हुन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।