ए लेभल भनेको विदेश जाने लाइसेन्स होइन

Share News

प्रभात क्षेत्री
ए लेभल को–अर्डिनेटर,
लिट्टिल एञ्जेल्स कलेज

संसारभर करीब १ सय ६० ओटा देशले अध्यापन गर्दै आएको ए लेभल कोर्स नेपालमा पनि ३ दशकयता सञ्चालन हुँदै आएको छ । सन् २००९ देखि ए लेभल शुरू गरेको लिट्टिल एञ्जेल्स कलेजमा विद्यार्थीको आकर्षण हरेक वर्ष बढ्दै गएको छ । उक्त कलेजमा हाल २ सय विद्यार्थीले ए लेभल गरिरहेका छन् । यसै सन्दर्भमा ए लेभलको वास्तविकता, लिट्टिल एञ्जेल्स कलेजमा यसको अवस्था, विद्यार्थीको आकर्षणलगायत विषयमा कलेजका ए लेभल को–अर्डिनेटर प्रभात क्षेत्रीसँग आर्थिक अभियानका ममता थापाले गरेको कुराकानीको सार :

ए लेभलबारे आम जनमानसको बुझाइ कस्तो छ, यसको वास्तविकता के हो  ?
ए लेभल क्याम्ब्रिज विश्वविद्यालयद्वारा सञ्चालित विश्वका १ सय ६० भन्दा बढी देशमा चलिरहेको एड्भान्स कोर्स हो । १० कक्षा सकेपछिको दुईवर्षे हाईस्कूल डिग्री हो । नेपालमा यसलाई कतिपयले विदेश जाने लाइसेन्सको रूपमा बुझ्नुभएको छ, तर वास्तविकता यो होइन । विश्व परिवेशअनुसार चौतर्फी रूपमा सबल हुने एउटा शिक्षा पद्धति हो ए लेभल ।

ए लेभल यही स्तरका अन्य शिक्षाभन्दा कसरी फरक छ ?
हुन त नेपाललगायत दक्षिण एशियाली देशमा उच्च माध्यमिक तह भनेर १०+२ को पढाइ प्रचलित छ । जुन पद्धतिमा पाठ्यक्रम र विषय वस्तुलाई गहन अध्ययन गर्नुपर्ने हुन्छ, तर ए लेभलमा पढाइका साथै विश्लेषण गर्ने र व्यावहारिक रूपमा जीवन पद्घतिलाई बुझ्न सक्ने पाठ्यक्रम राखिएको हुन्छ । यसको मूल्याङ्कन विधि पनि १०+२ भन्दा केही भिन्न हुन्छ, जस्तै– हरेक ६/६ महीनामा विषय छानेर परीक्षा दिन पाइन्छ र घोकेर भन्दा बुझेर तयारी गर्नुपर्ने हुन्छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार अहिले यो कोर्स पढाउन ३६ ओटा शैक्षिक संस्था दर्ता भए पनि सबै सञ्चालनमा छैनन् नि ? यसो हुनुको कारण के होला ?
बूढानीलकण्ठ स्कूलले सन् १९८६ बाट नेपालमा ए लेभल भिœयाएको हो । क्रमशः यो पाठ्यक्रम अन्य संस्थाहरूले पनि शुरू गर्दै हाल करीब ३६ संस्था शिक्षा मन्त्रालयमा दर्ता भएका छन् । तर, २०–२५ ओटाले मात्र पूर्णरूपमा ए लेभल सञ्चालन गरेको पाइन्छ । यसको मुख्य कारण ए लेभल सञ्चालनका लागि लगानी बढी पर्ने तर यो कोर्स पढ्ने विद्यार्थीको सङ्ख्या कम भएर पनि हुन सक्छ ।

ए लेभलमा खास फाइदा तथा बेफाइदा के–के छन् ?
बेलायतको क्याम्ब्रिज इण्टरनेशनल एक्जामिनेशन्स (सीआईए) तथा क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रमअन्तर्गत नेपालमा ब्रिटिश काउन्सिलको सहयोगमा ए लेभलको अध्यापन हुँदै आएको छ । मुख्यतः क्याम्ब्रिज विश्वविद्यालयको प्रमाणपत्र हासिल गर्नु नै यसको मूल फाइदा हो । यसपछि परीक्षा विधि, विभिन्न विषयबाट रोजेर तीन वा चारओटा मात्र विषय पढ्न पाइने, विश्वभर मान्यताप्राप्त भएकाले स्वदेश वा विदेश जहाँ पनि उच्च शिक्षाका लागि तयार भइने लगायत यसका फाइदा हुन् । यद्यपि, बढी खर्च लाग्ने र यसको अध्ययन तरीका नबुझ्दा सजिलै डिग्री लिन गाह्रो पर्ने हुन सक्छ । यो कोर्समा घोकन्ते तरीकाले खासै फाइदा हुँदैन ।

ए लेभल सामान्यतया १६–१८ वर्षकाले मात्र पढ्न पाउँछन् भन्ने छ । यसमा उमेरको हकबन्दी तोकिएको हो ?
विदेशतिर पढाइको तह हाम्रो जस्तो कक्षागत नभई उमेरअनुसार हुने गर्छ । १४/१५ वर्षमा १० कक्षासम्म सकिने हुँदा १६ वर्षदेखि १८ वर्ष सम्ममा हाईस्कूल गर्नुपर्छ भन्ने मान्यताअनुसार यो उमेर समूह तोकिएको हो ।

विश्वमा ए लेभलको शुरुआत, नेपालमा यसको प्रवेश र हाल यसको स्थिति कस्तो छ ?
संयुक्त अधिराज्य बेलायतमा सन् १९५१ ताका ए लेभल कोर्स शुरू गरिएको हो । क्रमशः आयरल्याण्ड, स्कटल्याण्ड हुँदै यो विश्वव्यापी भयो । नेपालमा सन् १९८६ मा पहिलोपल्ट बूढानीलकण्ठ स्कूलमा यो कार्यक्रम ल्याइयो । हाल काठमाडौं, पोखरा, बुटवल, चितवन आदि शहरहरूमा फैलिएर करीब ५ हजार हाराहारीमा प्रत्येक वर्ष विद्यार्थी ए लेभलमा भर्ना हुन्छन् ।

ए लेभलका राम्रा पक्ष धेरै सुनिन्छ, तर यसका नकारात्मक पक्ष पनि छन् होला नि ?
हरेक कुरामा केही न केही कमजोरी त भई नै हाल्छन् । ए लेभल समष्टिगत रूपमा राम्रो भए तापनि यसमा लाग्ने महँगो खर्च एउटा नकारात्मक पक्ष होला, तर राम्रो वस्तु खरीद गर्दा त्यसको मूल्यभन्दा उपयोगितालाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ मलाई ।

यो कोर्स पढ्न सबैको पहुँच नपुग्ने भएकाले यसलाई कसरी सुलभ गर्न सकिएला ?
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सञ्चालित भएको र पढाइका साथै धेरै प्रयोगात्मक तथा व्यावहारिक कुरा सिकाउनुपर्ने हुँदा खर्च अलि बढी लाग्नु स्वाभाविक हो । नेपाल सरकार, ब्रिटिश काउन्सिल र स्वयम् क्याम्ब्रिजको बीचमा राम्रो समन्वय गरी लागत कम गराउने पहल भए परिवारको औसत आए भएका विद्यार्थीले पनि ए लेभल पढ्न सक्छन् ।

युवा पुस्ताहरू विदेश जान सहज हुने भएकाले यसतर्फ आकर्षित भएको पाइन्छ । ए लेभल पढेकालाई स्वदेशमै अवसर छैनन् ?
यो कुरा पक्कै होइन । मैले माथि नै भनिसकेँ नि, ए लेभल भनेको विदेश जाने लाइसेन्स होइन । यो एउटा शिक्षा पद्घति हो । यसका पाठ्यक्रम र शिक्षण विधिले विद्यार्थीलाई विश्लेषणात्मक सोच राख्ने व्यक्तित्व विकास गर्ने र समाजलाई अङ्गीकार गरी आफ्नो जीवन पद्घतिलाई सर्वस्वीकार्य र प्रतिस्पर्धात्मक बनाउने उत्प्रेरणा दिन्छ । ए लेभलमा उपर्युक्त विषयहरू पढेमा नेपाल, भारत वा जहाँसुकै गए पनि उच्च शिक्षा हासिल गर्न सकिन्छ ।

ए लेभलमा अध्यापन गर्ने शिक्षकको अझै कमी भएकाले एउटै शिक्षकले ६–७ ओटामा भ्याउनुपर्ने अवस्था छ भनिन्छ नि ?
हुन त ए लेभलमा शिक्षकहरू सीमित उत्पादन हुन्छन् । राम्रो दख्खल भएका शिक्षकको माग जुनसुकै कलेजका हुनु स्वाभाविक हो । एमए लेभल सकेका कुनै पनि शिक्षकले ब्रिटिश काउन्सिलमार्फत क्याम्ब्रिजको तालीम लिएको भए ए लेभल पढाउन सक्नुहुन्छ ।

ए लेभल पढपछिको अवसर कस्तो हुन्छ ?
हालसम्मको अनुभव हेर्दा ए लेभल गरेका धेरैजसो विद्यार्थी छात्रवृत्ति खोज्दै विदेशतिर जाने गरेको पाइन्छ । केही नेपाल, भारत, बङ्गलादेशमा पनि पढ्दै छन् । यसको विषयगत दक्षता र बहुआयामिक शीप विकासले गर्दा ए लेभल गरेका विद्यार्थी तुलनात्मक रूपले केही निपुण देखिन्छन् ।

लिट्टिल एञ्जेल्सले सञ्चालन गरेको ए लेभल कोर्समा विद्यार्थीको चाप तथा आकर्षण कस्तो छ ?
लिट्टिल एञ्जेल्स कलेजले सन् २००९ देखि ए लेभल शुरू गरेको हो । देशकै ठूलो र अग्रणी संस्था भएकाले विदेशको डिग्री पनि दिलाऊँ भन्ने अभिप्रायले यो कोर्स थालनी गरिएको हो । हुन् त १०+२, बीबीए, नर्सिङलगायत उच्च शिक्षाका विभिन्न सङ्कायहरू लिट्टिल एञ्जेल्समा पहिलेदेखि नै सफलतापूर्वक चलिरहेका छन् । यहाँ ए लेभल कोर्स सफलताका साथ सञ्चालनमा छन । विद्यार्थीको आकर्षण पनि हरेक वर्ष बढ्दै गएको छ । हाल करीब २ सय विद्यार्थी यहाँ ए लेभल गर्दै छन् ।

ए लेभलमा विद्यार्थीलाई के–कस्ता सुविधा दिँदै आउनुभएको छ ?
लिट्टिल एञ्जेल्स भौतिक पूर्वाधारमा सुसम्पन्न कलेज हो । ए लेभलका लागि भूकम्पप्रतिरोधी छुट्टै कम्प्लेक्स बनाइएको छ । विज्ञान विषय र कम्प्युटरका लागि धेरै ल्याबहरू बनाइएका छन् । अतिरिक्त क्रियाकलाप, खेलकुद, स्वीमिङको सुविधा दिइएको छ । जम्मा २५ जना मात्र राख्नेगरी प्रत्येक कक्षाकोठा डिजिटल प्रणालीले बनाइएका छन् । सबभन्दा मुख्य त ए लेभलका लागि देशकै प्रसिद्घ शिक्षक समूह नियुक्त गरिएको छ ।

लिट्टिल एञ्जेल्स अन्यभन्दा के मा पृथक् छ ?
क्याम्ब्रिजले निर्धारण गरेको सिकाइका विधिहरू पूर्ण लागू गरिएकाले लिट्टिल एञ्जेल्स विद्यार्थीको रोजाइमा पर्छ । अतिरिक्त क्रियाकलापमा यो संस्था अग्रपङ्क्तिमा आउँछ । नतीजा पनि हरेक वर्ष ९० प्रतिशतभन्दा बढी नै आउँछ ।

ए लेभललाई सैद्धान्तिक भन्दा पनि व्यावहारिक तथा प्रयोगात्मक पढाइ मानिन्छ । खासमा यसबाट व्यावहारिक ज्ञान कसरी दिइन्छ ?
व्यावहारिक ज्ञानका लागि क्यालेण्डर नै डिजाइन गरिएको छ । हरेक दिनजसो केही न केही व्यावहारिक कार्यक्रम चलिरहेका हुन्छन् ।

लिट्टिल एञ्जेल्सले छात्रवृत्तिका लागि कस्तो व्यवस्था गरेको छ ?
उत्कृष्ट नतीजा ल्याउने जेहेनदार विद्यार्थीलाई हामी मेरिट स्कलरशिप दिन्छौं । त्यसबाहेक हरेक सेमेष्टर परीक्षापछि पनि छात्रवृत्ति दिँदै जान्छौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।