नेपालमा ए लेभलको पढाइ शुरू भएको ३ दशक नाघिसकेको छ । कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी तथा सम्पन्न वर्गका छोराछोरी पढाउन ४० को दशकमा यो शिक्षा नेपालमा भित्रिएको थियो । अहिले अन्तरराष्ट्रिय स्तरको शिक्षा लिन चाहने नेपालीको पहुँचमा आइसकेको छ ।
वास्तवमा बेलायती विश्वविद्यालय क्याम्ब्रिजले सञ्चालन गरेको ए लेभल जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई)अन्तर्गतको कार्यक्रम हो । अन्तराष्ट्रियस्तर र मान्यताको शिक्षा नेपालमै लिन चाहनेका लागि क्याम्ब्रिज ए लेभल कार्यक्रम राम्रो विकल्पका रूपमा स्थापित हुन थालेको छ । आफ्नै परिवारसँग बसेर पढ्न पाइने भएपछि ए लेभलले विदेश जाने विद्यार्थीलाई स्वदेशमै रोक्न थालेको समेत छ ।
ए लेभल पढेका कोटेश्वरका राजन फुँयालले भने, ‘नेपालमै विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयको डिग्री लिन पनि पाइने र विदेशमा गएर पढ्न सकिने भएकाले ए लेभल रोजेको हुँ ।’ अर्का विद्यार्थी रविना श्रेष्ठले भनिन्, ‘प्लस टूको तुलनामा यसको मान्यता धेरै ठाउँमा हुने भएकाले आफूले ए लेभल अध्ययन गरेकी हुँ । यसको परीक्षा प्रणाली र कोर्स पनि ‘फ्लेक्जिबल’ भएकाले मलाई मन परेको हो ।’ पछिल्लो समयमा आएर गाउँ–गाउँका विद्यार्थीको पनि ए लेभल पहिलो रोजाइ बन्न थालेको छ । अङ्ग्रेजी राम्रो भएका र उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीको रोजाइ ए लेभल हुन थालेको कलेज सञ्चालकहरूको बुझाइ छ ।
के हो ए लेभल ?
ए लेभल विश्वभरि नै मान्यताप्राप्त शिक्षा हो । विश्वका करीब १ सय २५ मुलुकमा ए लेभलको पढाइ हुन्छ र उनीहरूले यसलाई मान्यता दिएका छन् । नेपालमा पनि अभिभावकले आफ्ना छोराछोरीलाई विश्व मान्यताप्राप्त शिक्षा दिन चाहेको देखिन्छ । विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढूँ भन्ने सोचाइले यसमा विद्यार्थीहरू आकर्षित भएका छन् ।
जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) क्याम्ब्रिज इण्टरनेशनल एक्जामिनेशन (सीआईई) बोर्डद्वारा सञ्चालन गरिन्छ । यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अङ्ग हो । जीसीईले आधा शताब्दीदेखि विश्वका करीब १ सय ७० देशमा झण्डै ७० विषयमा एड्भान्स लेभल क्वालिफिकेशन÷ ए लेभल क्वालिफिकेशन प्रदान गर्दै आएको छ ।
अध्ययनपछिको भविष्य
ए लेभल बेलायतस्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई)अन्तर्गतको कार्यक्रम हो । क्याम्ब्रिज ए लेभललाई नेपालको उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ सरहको प्राज्ञिक मान्यता दिइएको छ । यसले गर्दा विद्यार्थीहरू विश्वभरि नै उच्च शिक्षा लिने अवसर पाउँछन् भने नेपालमा पनि यसको अध्ययनपश्चात् विद्यार्थीले सहजै स्नातक अध्ययन गर्न सक्छन् ।
प्लस टू र ए लेभलमा भिन्नता
विषयका हिसाबले धेरै कुरा मिल्न जान्छ । प्लस टूमा जस्तै ए लेभलमा पनि विद्यार्थीले मानविकी, व्यवस्थापन, विज्ञान सङ्काय रोज्न पाउँछन् । प्लस टूमा एउटा सङ्काय रोजेपछि अर्को सङ्कायमा अध्ययन गर्न पाउने सुविधा छैन । तर, ए लेभल पढ्ने विद्यार्थीले ७० ओटा विषयमा आफूले चाहेअनुसारका विषय छान्न पाउँछन् । त्यस्तै, यसको पढाउने तरीका फरक छ । विद्यार्थीलाई ज्ञान, बुझाइ, विश्लेषण, प्रयोग र मूल्याङ्कनका आधारमा सिक्ने मौका दिइन्छ । यसले विद्यार्थीले पढ्ने मात्र होइन, पढेको कुरालाई जीवनमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्छन् । ए लेभलमा पढेर, अनुभव र प्रयोगमार्फत सिक्छन् । त्यस्तै, वर्षको दुईपटक तथा आफ्नो इच्छाअनुसार परीक्षा दिन पाउँछन् ।
पाठ्यक्रम अङ्ग्रेजीमा दख्खल भएकालाई मात्र
यसको पाठ्यक्रम सबै अङ्ग्रेजीमा हुन्छ । त्यसैले, ए लेभल पढ्न चाहने विद्यार्थीमा सबैभन्दा मुख्य कुरा अङ्ग्रेजी भाषा राम्रो हुनैपर्छ । उसले अङ्ग्रेजी शुद्धसँग लेख्न सक्नुपर्छ । त्यसैले, सबै नेपाली विद्यार्थीले यो पढ्न सक्दैनन् । यसको पाठ्यक्रममा रहेको राम्रो पक्ष समयअनुसार परिमार्जन गरिएको हुन्छ । प्लस टू र ए लेभलका धेरै विषय मिल्दाजुल्दा हुन्छन् । फरक के छ भने विद्यार्थीले आफ्नो इच्छाअनुसार विषय चयन गर्न पाउँछन् । तर, नेपालको सन्दर्भमा भने चाहेअनुसार विद्यार्थीले स्नातकमा विषय परिवर्तन गर्न गाह्रो छ ।
कलेजबीच अस्वस्थ प्रतिस्पर्धा
कलेजहरूले लिने शुल्कमा केही अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । तर, अहिलेको अवस्थामा कलेज सञ्चालकहरूले आफूहरूबीच ऐक्यबद्धता आवश्यक रहेको महसूस गरेका छन् । अर्को ए लेभल पढाउने कलेजबीच प्रतिस्पर्धाभन्दा पनि गुणस्तरीय शिक्षा दिन अगाडि सर्नुपर्ने देखिन्छ ।
शुल्क
क्याम्ब्रिजले लिने परीक्षा शुल्क समान छ । कलेजहरूले करीब २ लाखदेखि ३ लाख रुपैयाँ लिने गरेका छन्, जुन प्लस टूमा लिइने शुल्कभन्दा बढी नै छ । त्यसले गर्दा सबै नेपाली विद्यार्थीले ए लेभल अध्ययन गर्न सकेका छैनन् । तर, हरेक कलेजले १० प्रतिशत विद्यार्थीलाई छूट दिएका छन् । विद्यार्थी सङ्ख्या कम, पुस्तकको मूल्य बढी तथा अतिरिक्त क्रियाकलाप गराउनुपर्ने भएकाले शुल्क केही महँगो भएको हो । नेपालको प्लस टू पढ्न लाग्ने शुल्कको तुलनामा ए लेभलको शुल्क बढी छ । यसको परीक्षाका लागि विश्वविद्यालयले लिने शुल्क धेरै भएकाले र प्रयोगात्मक शिक्षालाई जोड दिनुपरेकाले केही महँगो हुने गर्दछ ।
राजधानी केन्द्रित
यो अन्तरराष्ट्रिय स्तरको शिक्षा हो । यसको उद्देश्य सबै ठाउँमा पुर्याउनेभन्दा पनि विदेशमा पढ्न चाहने विद्यार्थीलाई नेपालमै शिक्षा दिनु हो । त्यसैले, यसलाई देशभर विस्तार गर्ने लक्ष्य लिइएको पाइँदैन । यसले राष्ट्रिय शिक्षालाई सच्चिन र सुधार गर्न सहयोग गर्छ ।
ए लेभलपछिको उच्च शिक्षा
यो विश्वभर मान्यता तथा वैधानिकता प्राप्त शिक्षाका रूपमा स्थापित भएको छ । विदेशमा हरेक विश्वविद्यालयले स्नातक तहको अध्ययन प्रवेशका लागि आईईएलटीएस, टोफल, स्याटको परीक्षा लिने गर्छन् । नेपालका मुख्य विश्वविद्यालयले मान्यता दिएकाले अध्ययन गर्न सहज छ । नेपालमा पनि यसले सहज मान्यता प्राप्त गरेको छ । तर, नेपाली विश्वविद्यालयले ‘क्रस डिसिप्लिनरी’ अवधारणा विकास गरिनसकेकाले केही समस्या देखापरेका छन् ।
पाठ्यक्रम र परीक्षा प्रणाली
नेपालका शिक्षण संस्थालाई पाठ्यक्रमको सम्बन्धन दिन, अनुगमन गर्न र परीक्षा सञ्चालन गर्न क्याम्ब्रिज विश्वविद्यालयले नेपालस्थित ब्रिटिश काउन्सिललाई अधिकार दिएको छ । कुनै पनि संस्थाले ए लेभल अध्यापन गराउन ब्रिटिश काउन्सिल र नेपालको शिक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । ब्रिटिश काउन्सिलबाट स्वीकृति नलिएका कलेज क्याम्ब्रिज बोर्ड परीक्षामा सहभागी हुन पाउँदैनन् । ए लेभलमा विद्यार्थीले उपलब्ध विषयमध्येबाट अङ्ग्रेजी भाषा र अन्य चाहेका कम्तीमा तीनओटा विषय लिनुपर्छ । विद्यार्थीले ७० विषयमध्ये इच्छाअनुसार जति पनि विषयमा परीक्षा दिन पाउँछन् ।
यसको पाठ्यक्रमलाई दुई भागमा बाँडिएको छ । एउटालाई ‘एडभान्स सब्सिडिअरी’ (एएस) लेभल भनिन्छ । यसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ । अर्को आधालाई ‘एटू सिलेबस’ भनिन्छ । विद्यार्थीले सम्पूर्ण ए लेभल क्वालिफिकेशन पाउनका लागि २ वर्षमा दुईपटक वा २ वर्षको अन्त्यमा एकैपटक परीक्षा दिन सक्छन् । ए लेभल परीक्षा वर्षको दुईपटक मे–जुन र अक्टोबर–नोभेम्बरमा विश्वभरि नै एकैपटक सञ्चालन गरिन्छ र नतीजा पनि एकैसाथ प्रकाशन हुन्छ ।
विद्यार्थीले कति जान्यो भन्दा पनि कति बुझ्यो भन्ने विषयलाई यस कोर्सले महत्त्व दिन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ । यसमा वस्तुगत, लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्न समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्याङ्कन गरिने प्रयास गरिन्छ । ए लेभल नेपालको प्लस टूसरहको पाठ्यक्रम हो । यो तह उत्तीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै विश्वविद्यालयमा स्नातक अध्ययनका लागि आवेदन दिन पाउँछन् । ए लेभलमा प्रयोगात्मक शिक्षालाई सैद्धान्तिकबराबर जोड दिइन्छ । कक्षा क्रियाकलाप सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान विधि, गू्रपवर्क, प्रोजेक्ट वर्क, प्रतिवेदन लेखन, प्रस्तुतीकरण, समसामयिक अध्ययनमा आधारित हुन्छन् ।
विश्व मान्यताले मुख्य आकर्षण
ए लेभल कोर्स नेपालका धेरै विश्वविद्यालय र विश्वका लगभग १ सय ७० देशका अधिकांश शैक्षिक संस्थाबाट मान्यताप्राप्त शिक्षा हो । नेपालमा त्रिभुवन विश्वविद्यालयले सीआईईले दिएको ‘ग्रेड ए’ देखि ‘ई’ लाई ९५ देखि ५५ प्रतिशतसम्मको समकक्षता निर्धारण गरेको छ । त्यस्तै, अन्य विश्वविद्यालयहरूले पनि यसलाई मान्यता दिएका छन् । ए लेभलमा व्यवस्थापन सङ्कायका विद्यार्थीले ‘सोसल साइन्स’का विषय पनि पढ्न पाउँछन् भने विज्ञान सङ्कायकाले व्यवस्थापनका विषय पनि छान्न पाउँछन् । अहिले विश्वभरि नै ‘क्रस डिसिप्लिनरी’ शिक्षा लिन पाउने भए पनि नेपालको पाठ्यक्रम क्रस डिसिप्लिनरी नभएका कारण केही असहज हुने गरेको बताइन्छ । विद्यार्थीले आफ्नो गे्रड सुधार्नका लागि पुनः परीक्षामा बस्न पाउने प्रावधान पनि छ । त्यसैले, एकपटक केही कारणले परीक्षा बिग्रेमा समस्या हुँदैन । विद्यार्थीहरूको हौसला बढाउन युनिभर्सिटी अफ क्याम्ब्रिज र ब्रिटिश काउन्सिल नेपालले हरेक वर्ष पुरस्कार वितरण पनि गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।