काठमाडौं । स्थानीय निकायको निर्वाचनका कारण उद्योग मन्त्रालयले युवा वर्गलाई लक्षित गरी आयोजना गर्न लागेको स्टार्ट अप समिटको समय तालिका हेरफेर हुने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको प्रेस सल्लाहकार प्रदीप चापागाईंका अनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ गते तय गरिएकाले पूर्वनिर्धारित जेठ २४ र २५ गतेको कार्यक्रम हेरफेर हुने भएको हो ।
उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने उद्देश्यले उद्योग मन्त्रालयले जेठको अन्तिम हप्तामा काठमाडौंमा उद्यमशीलतासम्बन्धी सम्मेलन स्टार्ट अप समिट आयोजना गर्न लागेको थियोे । देशभरका ७५ जिल्लाबाट ३ सय युवाको सहभागिता गराउनुपर्ने र विदेशबाट स्रोत व्यक्तिहरू निम्त्याउनुपर्ने भएकाले उद्योग मन्त्रालयलाई मिति तय गर्न सकस भएको छ । मन्त्रालयले जेठ १२ र १३ गते गर्ने सोच बनाए पनि व्यवस्थापन गर्न समय अभाव हुने भएकाले असारमा गर्ने पनि मनसाय बनाएको छ । यद्यपि, अहिलेसम्म मिति भने तय गरिसकेको छैन ।
‘समृद्धिको रहर : उद्यमशीलताको नयाँ प्रहर’ मूल नारा रहेको उक्त सम्मेलनमा स्रोत व्यक्तिका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सफल युवा उद्यमीलाई सहभागी गराउने उद्योग मन्त्रालयको तयारी छ । विदेशबाट आउने स्रोत व्यक्तिहरूले ती देशमा रहेको उद्यमशीलतासम्बन्धी अभ्यासका बारेमा आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका बारेमा समेत छलफल गर्ने कार्यक्रम छ । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्ति आत्मसात् गर्दै सँगै अगाडि बढ्न नेपालमा पहिलोपटक राष्ट्रिय स्टार्ट अप सम्मेलनको आयोजना गर्न लागिएको हो ।
उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरूलाई संलग्न गराउने उद्देश्य कार्यक्रमले लिएको छ । मन्त्रालयका अनुसार समिटमार्फत उद्यमशीलताका लागि आवश्यक वातावरण बनाइनेछ । उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालालाई एउटै मञ्चमा उभ्याउन पनि स्टार्ट अप समिटको आयोजना गर्न लागिएको हो । देशभर उद्यमशीलता विकासमा भएको प्रगतिसम्बन्धी पूर्ण जानकारी, उपलब्ध सेवा र अवसरहरू प्रस्तुत गर्ने तयारी उद्योग मन्त्रालयको छ ।
राज्यको तर्फबाट रहेको उद्यमशीलतासम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउने उद्देश्य राखिएको छ । कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेकाले सम्मेलन गर्न लागिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । अबको प्रतिस्पर्धी विश्वमा अपनाइने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ । त्यसैले, यो सम्मेलन नेपाली युवा उद्यमीका लागि निकै महत्त्वपूर्ण हुने अपेक्षा मन्त्रालयले गरेको छ ।
उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि स्टार्ट अप कमिटी बनाएर कार्यक्रम अगाडि बढाइरहेको छ । उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सहयोगी संस्थाका रूपमा रहनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।