खाद्यप्रविधि शिक्षा : रोजगारीमुखी अवसर

Share News

खाद्य गुणस्तर भएन भन्दै विदेशबाट आयातित खाद्यपदार्थ महँगोमा खरीद गरी खानेहरूको सङ्ख्या शहरी क्षेत्रमा कम छैन । स्वास्थ्यप्रति अलि बढी सजग भएका एउटा वर्गले खोजेकोजस्तो खाद्यपदार्थ उत्पादन गर्न नेपालका उद्यमीहरुलाई पनि गाह्रो भइरहेको छ । यसको प्रमुख कारण नेपालमा दक्ष खाद्य प्राविधिकको सङ्ख्या पुग्दो मात्रामा नहुनु हो । नेपालमा खाद्य प्रविधि पढेकाहरू पनि थप अध्ययनका लागि मुलुकबाहिर जाने र उतै बस्ने भएकाले समेत यस्तो समस्या भएको हो ।

नेपालमा नै पढ्छु र नेपालमै काम गर्छु भन्नेहरूका लागि खाद्यप्रविधि एउटा अवसर सृजना गर्ने शिक्षा हुन सक्छ । प्लस टूमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले बीटेक (ब्याचलर इन टेक्निकल इण्डष्ट्रिज)मा भर्ना हुन सक्छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल कलेज अफ फूड साइन्स एण्ड टेक्नोलोजी, ललितपुर भ्याली कलेज, गोल्डेनगेट इण्टरनेशनल कलेज, पद्मश्री इण्टरनेशनल कलेजलगायतले बीटेक अध्यापन गराइरहेका छन् । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी, इन्ष्टिच्युट अफ एप्लाइड फूड एण्ड डेरी टेक्नोलोजीमा पनि यो विषय अध्यापन भइरहेको छ ।

नेपालमा पर्याप्त मात्रामा दक्ष प्राविधिक छैनन् । साथै, सजिलै रोजगारी पाउन सकिने भएपछि उच्चशिक्षामा प्राविधिक विषय अध्ययन गर्नेहरूको सङ्ख्या वर्षेनि बढ्दो छ ।  खाद्यप्रविधि अध्ययन गरेका विद्यार्थीको माग बढ्न थालेकाले यो विषय पढ्ने विद्यार्थीको सङ्ख्या पनि बढ्न थालेको सम्बन्धित कलेजहरू बताउँछन् ।

नेपालमा २०३० सालमा धरानमा व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्थापना भएको थियो । उक्त अध्ययन संस्थानले प्रवीणता प्रमाणपत्र तहमा खाद्यप्रविधि विषयको अध्यापन शुरू गरेको हो । उद्योग र प्रयोगशालालाई आवश्यक मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने सो संस्थाको उद्देश्य थियो । तर, उक्त संस्थालाई २०३५ सालमा धरानबाट काठमाडांैको कीर्तिपुरमा सारेर व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट)मा परिणत गरियो । २०३६ सालमा विज्ञान सङ्कायअन्तर्गत धरानको हात्तीसारमा केन्द्रीय खाद्यप्रविधि क्याम्पसमा स्नातक तहमा खाद्यप्रविधिको ४ वर्षे ‘बीटेक फूड’ विषयको अध्यापन शुरू भयो ।

२०४६ सालमा यसै क्याम्पसलाई केन्द्रीय प्रविधि क्याम्पसका रूपमा विकसित गरियो । यो संस्था हाल खाद्यप्रविधि उच्चशिक्षा अध्यापन गराउने एक मात्र संस्था हो । २०५८ सालमा यसै क्याम्पसमा खाद्यप्रविधि केन्द्रीय विभाग स्थापना भएर स्नातकोत्तर र विद्यावारिधिको अध्ययनसमेत शुरू भएको छ ।

खाद्यप्रविधिमा स्नातकोत्तर गरेका विद्यार्थीहरू सरकारी कलेजहरूमा प्राध्यापकका रूपमा काम गर्न सक्छन् । त्यस्तै, गुणस्तर नियन्त्रण र विभित्र राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा समेत रोजगारको प्रशस्त सम्भावना पनि हुने गर्दछ । त्यसमाथि खाद्य उद्योगहरूमा समेत यही विषय पढेका जनशक्तिको माग उच्च रहेको छ । सरकारी र निजी दुवै क्षेत्रमा यो विषय पढेका विद्यार्थीहरूले रोजगार पाउने प्रवल सम्भावना रहेको छ ।

खाद्यप्रविधिमा स्नातक र स्नातकोत्तर गरेका मानिसहरू प्राध्यापक, वैज्ञानिक, टेक्निकल अफिसर, प्रबन्धक, खाद्य अनुसन्धान अधिकृतका रूपमा काम गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान तथा अन्य यूरोपेली राष्ट्रका खाद्य अनुसन्धान कम्पनीहरूमा समेत रोजगारीको अवसर पाएको उदाहरण यथेष्ट छ ।

खाद्यप्रविधिको अध्ययनमा सूक्ष्म जीवशास्त्र, खाद्य इञ्जिनीयरिङ, खाद्य रसायनशास्त्र, पोषणशास्त्र, जीव रसायनशास्त्रजस्ता विषयहरू अध्ययन गर्नुपर्छ । खाद्यप्रविधि शिक्षामा खाद्यपदार्थको गुण र विशेषताको व्यवस्थित अध्ययन र प्रशोधनबारे अध्यापन गराइन्छ । त्यसैगरी, खाद्यवस्तुको विनाश हुनुको कारण, खाद्य संरक्षणको वैज्ञानिक सिद्धान्त, औद्योगिकस्तरमा खाद्यवस्तुहरूको प्रशोधनप्रविधि, पोषण, गुणस्तरीय खाद्यवस्तुको उत्पादन आदिका बारेमा पनि अध्यापन गराइन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।