सीए (चार्टर्ड एकाउण्टेण्ट) कोर्सको नेपाली बोर्ड आईक्यानबाट निरन्तर सबै तह पास गर्न ५ वर्ष लाग्छ । भारत वा अन्यत्रको बोर्डबाट सीए उत्तीर्ण गरेकाहरूले नेपालमा आएर थप १ सालको इण्टर्नशिप र दुई विषयको सदस्यता परीक्षा दिनुपर्ने हुन्छ ।
सीए पढ्दा–पढ्दै विश्वविद्यालयका कोर्स आफ्नो समय व्यवस्थापन क्षमताअनुसार पढ्न सकिन्छ । सीए र माष्टर्स डिग्रीसँगै सक्ने पनि हुन्छन् । त्रिभुवन विश्वविद्यालयले प्लस टू गरी सीए गरेकालाई स्नातकको मान्यता दिएको छ भने सीए र स्नातक गरेकालाई स्नातकोत्तर सरहको मान्यता दिएको छ ।
अन्य पेशाको तुलनामा धेरै लामो ३ वर्षको आर्टिकलशिप तालीमले व्यावहारिक ज्ञान मजबूत बनाउने गर्छ । पहिलो तह प्रवेश परीक्षासरह हुन्छ । दोस्रो तहका केही या सबै विषय पास गरेर कम्प्युटर तालीमपछि शुरू हुने तीनवर्षे आर्टिकलशिप सफल भए सीए बन्न ठूलो मद्दत पुग्छ । तालीमको पछिल्लो खण्डमा अन्तिम तहको परीक्षा दिन पाइन्छ । अन्तिम तह पास भएसँगै जीएमसीएस नामको व्यवस्थापन र सञ्चारसम्बन्धी तालीमपश्चात् चाटर्ड एकाउण्टेण्टको मान्यता प्राप्त हुने गर्छ ।
लेखा अनुशासन
उद्योग–व्यवसायको मेरुदण्डको रूपमा रहेको आर्थिक कारोबार पारदर्शी बनाउन लेखाप्रणालीको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रतिस्पर्धात्मक बजारमा उद्योग–व्यवसायको चुस्त–दुरुस्त आर्थिक कारोबार र लेखाप्रणाली कायम राख्न चार्टर्ड एकाउण्टेण्टको आवश्यकता पर्छ । अहिले उच्च तहका औद्योगिक घराना तथा सङ्घसंस्थाहरूले आ–आफ्नो लेखा शाखामा चार्टर्ड एकाउण्टेण्टको पद सृजना गरी जिम्मेवारीपूर्ण कार्यसमेत थालनी गरेका छन् ।
चुस्त प्रशासन
चार्टर्ड एकाउण्टेण्टले कारोबारको लेखाप्रणाली मात्र नभई कर, वित्तीय तथा कार्यालय व्यवस्थापन र अन्य महत्त्वपूर्ण प्रशासनिक विधा पनि हेर्छ । उसले कार्यालयको सहज सञ्चालनमा सहयोग पुर्याउँछ ।
सम्मानजनक पेशा
सीए एउटा पूर्ण व्यावसायिक र सम्मानजनक पेशा हो । यो पेशा अँगाल्ने व्यक्तिप्रति संस्था वा कम्पनीको व्यवस्थापनले ठूलो आशा एवम् विश्वास राखेको हुन्छ । राम्रो व्यावहारिक ज्ञान हासिल गरेको विद्यार्थीका लागि अध्ययनपश्चात् रोजगारी पाउन कुनै अप्ठ्यारो छैन । देशमा अझै पनि अनुभवी र व्यावसायिक सीएको खाँचो छ । तर, रोजगार प्राप्त गर्न चाहने र रोजगार पाएपछि सोमा सफलतापूर्वक टिक्न अध्ययनको समयमा अनुभवी सीएको साथमा रही पूर्णरूपले प्रयोगात्मक एकाउण्टेन्सीसम्बन्धी काम गर्नुपर्छ ।
जुन विद्यार्थीले सीएअन्तर्गतको पूर्ण प्रयोगात्मक तालीम पाएका हुन्छन्, उनीहरूले राम्रो जागीर पाउँछन् । उनीहरूलाई काम गर्न पनि सहज हुन्छ । तर, ‘डमी ट्रेनिङ’ गरी सीए पास गर्ने विद्यार्थीले जागीर पाए पनि अनुभव नहुँदा काम गर्न कठिन हुन्छ ।
हरेक क्षेत्रमा माग
अडिटिङ, ट्याक्सेशन, पर्शनल फर्म सञ्चालन, उद्यमी र एडभाइजरका रूपमा पनि यस क्षेत्रमा काम गर्न सकिन्छ । समाजमा पनि सीएको राम्रो व्यक्तित्व हुन्छ । यो सम्मानित पेशा पनि हो ।
सीए भयो भन्दैमा अडिट मात्र गर्नुपर्छ भन्ने पनि छैन । व्यापारी, उद्यमी, आप्mनै अडिट फर्म पनि स्थापना गर्न सकिन्छ । एउटा सफल उद्यमी पनि बन्न सकिन्छ । एउटा सफल उद्यमी बन्न सीएको अध्ययनले सहयोग गर्छ ।
बैङ्क, वित्तीय संस्था तथा गैरसरकारी संस्था (एनजीओ), अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को बढ्दो स्थापनासँगै चार्टर्ड एकाउण्टेन्सी (सीए) अध्ययन गर्नेको सङ्ख्या पनि बढेको छ ।
सीए पढ्ने विद्यार्थीको माग धेरैजसो ठूला कर्पोरेट कार्यालय, एनजीओ र आईएनजीओमा रहेको छ । सीए अध्ययन गरेका विद्यार्थीले जुनसुकै कार्यालयको पनि उच्च तहमा रहेर काम गर्ने अवसर पाउँछन् । ठूलाठूला कार्यालयमा सीए नभएमा त्यहाँको हिसाबकिताब पारदर्शी नहुन सक्छ । त्यसैले, धेरैजसो ठूला कार्यालयमा सीएको आवश्यकता पर्छ ।
चार्टर्ड एकाउण्टेण्टको काम
चार्टर्ड एकाउण्टेण्टको पहिलो काम लेखापरीक्षण गर्ने हो । त्यस्तै, यसले रेकर्ड सङ्कलन तथा योजनाको सम्भाव्यता अध्ययन गर्दछ । व्यवसायमा आइपर्ने विभिन्न समस्या समाधानका लागि परामर्शदाताका रूपमा पनि चार्टर्ड एकाउण्टेण्टले काम गर्छन् । व्यवसायको वित्तीय निर्णय तथा लागत कम गराउनेलगायत विषयमा चार्टर्ड एकाउण्टेण्टले सहयोग गर्छ । नेपालको कानूनअनुसार नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्ंथाको सदस्य नभई लेखापरीक्षण गर्न पाउँदैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।