नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) २०५३ सालमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ऐन २०५३ अन्तर्गत स्थापना भएको एउटा स्वायत्त नियमनकारी संस्था हो । यसले नेपालमा लेखा व्यवसायलाई नियमन गर्छ ।
नेपालमा चार्टर्ड एकाउण्टेन्सी शिक्षाको व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने हुनाले यसले शैक्षिक संस्थाको समेत कार्य गर्छ । अन्तरराष्ट्रिय स्तरमा यसले आप्mनो छुट्टै तथा विशिष्ट पहिचान बनाएको छ ।
आईक्यानले अन्तरराष्ट्रिय लेखा व्यवसायी महासङ्घ (आईएफएसी), एशिया प्रशान्त क्षेत्रीय लेखा व्यवसायी महासङ्घ (सीएपीए), दक्षिण एशियाली लेखा व्यवसायी महासङ्घ (साफा)को सदस्यता लिएको छ । साथै, लेखासँग सम्बन्धित विश्वभर आयोजना हुने विभिन्न सभा, समारोहहरूमा प्रतिनिधित्व गर्दै आएको छ ।
हालै आईक्यानले मलेशिया इन्ष्टिच्युट अफ एकाउण्ट (एमआईए)सँग म्युचुअल रिकग्नाइजेशनका लागि समझदारीपत्रमा सम्झौता गरेको छ । यसैगरी अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र वेल्सको चार्टर्ड एकाउण्टेण्ट्ससँग इन्ष्टिच्युशनको रूपमा मान्यता प्राप्त गरेको छ ।
सीए आईक्यानको मान्यताप्राप्त संस्था र आईक्यानमा पनि पढ्न सकिन्छ । प्रत्यक्ष आईक्यानमा मात्र पढ्दा सीएको कोर्स क्याप १, क्याप २ र क्याप ३ सम्मको पूरा गर्न करीब १ लाख ५ हजार ८ सय रूपैयाँ शुल्क लाग्छ । तर, यहाँ विद्यार्थीले आफै पढ्नुपर्छ । यदि यसबाट मान्यता प्राप्त संस्थामा अध्ययन गर्ने हो भने विद्यार्थीले यसबाहेक संस्थागत नियमअनुसार सेवाशुल्क बुझाउनुपर्छ ।
आईक्यानमा प्राइभेट पढ्दा भने उक्त शुल्क भुक्तानीपछि न्यूनतम परीक्षा शुल्कबाहेक अन्य कुनै शुल्क तिर्नुपर्दैन । उक्त शुल्कमा विद्यार्थीले आफूले पढ्ने पुस्तक पनि प्राप्त गर्न सक्छ । साथै, पुस्तकालयको सुविधाका लागि भने रू. १ सय ५० थप शुल्क लाग्छ । यहाँ दर्ता गरेपछि विद्यार्थीहरू आफैले अध्ययन गरी परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसकारण सीए पढ्ने विद्यार्थीले दिइएको पाठ्यक्रमअनुसार स्वाध्ययन गर्नुपर्ने हुन्छ । यसमा विद्यार्थीलाई परम्परागत तवरको शिक्षकले पढाउने भन्ने हुँदैन । तथापि, विद्यार्थीको मागलाई ध्यानमा राख्दै आईक्यानले क्याप २ र क्याप ३ तहकालाई छोटो समयका कक्षा भने सञ्चालन गर्छ । यसबाहेक विद्यार्थीलाई सामूहिक रूपमा सरल ढङ्गले अध्ययन गर्न आईक्यानले ललितपुरको सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूमा पुस्तकालयको समेत व्यवस्था गरेको छ ।
यससँग यसका सदस्य चार्टर्ड एकाउण्टेण्ट तथा चार्टर्ड एकाउण्टेण्ट पढाइ हुने संस्थाका लागि सहयोगी भूमिका निर्वाह गर्नुका साथै नियमसङ्गत काम नगर्नेलाई कारबाही गर्ने पनि अधिकार छ । यो संस्था सीए कोर्सका लागि नेपाल बोर्ड पनि हो ।
आईक्यानले आफ्नो बोर्डबाट सीए उत्पादन गर्नुका साथै भारतीय बोर्डबाट सीए उत्तीर्ण विद्यार्थीहरूलाई दुई पेपरको परीक्षा लिई नेपालमा काम गर्ने आधिकारिकता पनि प्रदान गर्छ । भारतीय बोर्डबाट सीए हुनेहरूलाई नेपालमा काम गर्ने आधिकारिकता दिँदै आएको आईक्यानले आफ्नो बोर्डबाट पास भएकाहरूलाई पनि भारतमा आधिकारिकता दिन आग्रह गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।