पढ्ने इच्छा र क्षमता हुनेलाई अवसरै अवसर

Share News

काठमाडौं । चार्टर्ड एकाउण्टेण्ट (सीए) पढेको जनशक्तिले देशमै पर्याप्त रोजगारीको अवसर प्राप्त गर्ने अवस्था रहेको छ । सीए पढ्दा पढ्दै पनि एकाउण्ट विषयका विद्यार्थीलाई ट्युशन पढाइ आयआर्जन गर्न सकिन्छ । सीएको तेस्रो तहमा पुगेपछि भने पढाइसँगै विभिन्न कम्पनी तथा संस्थाहरूको लेखा परीक्षण गर्नुपर्ने हुन्छ, जसबाट थप कमाइ हुन्छ । त्यसैगरी सीए पास भएपछि लाइसेन्ससहित काम गर्न तथा फर्म खोल्न पाइने त यसको सबैभन्दा आकर्षक अवसर नै भइहाल्यो ।

समग्रमा रोजगारीको अवसरको खोजीमा विभिन्न निकाय तथा व्यावसायिक संस्थामा धाउनुको साटो सीएको पढाइले आफै रोजगारीको निर्माता हुने बाटो खोलिदिन्छ । आर्थिक कारोबारको लेखा राख्नका लागि सीए नै सबैभन्दा माथिल्लो तह हो । बजारको मागअनुसार पर्याप्त जनशक्ति उत्पादन नभइसकेका कारण चार्टर्ड एकाउण्टेण्टको आय पनि राम्रो छ । अर्थ बजारका गतिविधि बढेसँगै वास्तविक रूपमा हरेक सङ्घसंस्थाका आर्थिक हिसाबकिताब राख्न सक्ने सीएको ठूलो माग तथा राम्रो आयकै कारण पछिल्ला वर्षहरूमा कक्षा १२ वा सोसरहको पढाइ सकेका विद्यार्थीको रोजाइमा सीए कोर्स अगाडि आउन थालेको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले कक्षा १२ वा सोसरहको पढाइ सकेका जतिसुकै प्रतिशत ल्याएका विद्यार्थीका लागि पनि सीएको पढाइ खुला गरेको छ । सोहीअनुसार इन्ष्टिच्युटहरूले पनि भर्ना लिने गर्छन् । तर, केही इन्ष्टिच्युटहरूले भने विद्यार्थीले १२ कक्षाको परीक्षामा ल्याएको प्रतिशतका आधारमा उसले सीए पढ्दा हुने/नहुने भन्ने ढङ्गबाट परामर्श दिने गर्छन् । पहिलो तह लेखा, कानून, अर्थशास्त्र, वित्त तथा व्यवस्थापन र तथ्याङ्क शास्त्रको आधारभूत विषयवस्तु पढाइ हुने भएका कारण व्यवस्थापन सङ्कायबाट कक्षा १२ पूरा गरेर आएका विद्यार्थीका लागि सजिलो छ । त्यसैगरी इन्ष्टिच्युटहरूले पनि भर्ना लिनुअघि उक्त विषयमा विद्यार्थीको प्राप्ताङ्कलाई बढी ध्यान दिने गर्छन् । यसको मतलब अन्य सङ्कायबाट आएका वा उक्त विषयमा पूर्व प्राप्ताङ्क राम्रो नभएका विद्यार्थीले सीए पढ्नै सक्दैनन् भन्ने पनि होइन । यदि विद्यार्थी स्वेच्छा तथा लगनका साथ पढ्न चाहन्छ भने ती दुवै अवस्था नभएकाले पनि राम्रो प्रतिशतसहित सीए पास गरेका उदाहरण पनि धेरै छन् ।

विषयको गहनताका साथै बजारमा सीएको मागका आधारमा हेर्ने हो भने सीए कोर्सका लागि लाग्ने लगानी एकदमै सस्तो हो । त्यो पनि उपाय नभएकाहरूका लागि कतिपय इन्ष्टिच्युटहरूले कमाएर फिर्ता गर्नुपर्ने वा नपर्ने हिसाबले लगानी गरिदिने प्रावधान पनि राखेका छन् । सीए उत्तीर्ण गर्ने विद्यार्थीले त आरामले रोजगारी पाइहाल्छन् । नहुनेले पनि व्यवस्थापनका विद्यार्थीलाई ट्युशन पढाउने, सङ्घ संस्थाका आर्थिक हिसाबकिताब राख्ने कार्यमा पनि भित्री रूपमा काम गर्न पाउने जस्ता अवसरले सीएका विद्यार्थीलाई राम्रो आम्दानी गर्ने अवसर छन् ।

अनुभवी शिक्षक
नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका अनुसार हालसम्म १ हजार २ सय जनाभन्दा बढी नेपालीले चार्टर्ड एकाउण्टेण्ट पास गरेर आइसकेका छन् । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी नेपालमै रहेका छन् । उनीहरू विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुका साथै सीए बन्न चाहनेलाई पढाउने काममा पनि संलग्न रहेका छन् । शिक्षाका साथै अनुभव भएका सीएको उपलब्धताका कारण दक्ष शिक्षकहरूको अभाव नभएको सीए पढाइ हुने इन्ष्टिच्युटका सञ्चालकहरू बताउँछन् ।

समय दिनुपर्ने विषय
सीएको कोर्स धेरै पढ्नु र सम्झिनुपर्ने खालको हुने भएकाले यसको पहिलो शर्त भनेको विद्यार्थीले पढाइमा अधिकतम समय दिनुपर्छ । परीक्षाको मुखमा पुगेर पढ्ने बानीले यो विषय कटाउला भन्ने नसोच्दा पनि हुन्छ । दैनिक तालिका बनाएर मेहनतका साथ पढ्न सक्नेले नै यो विषय पास गर्न सक्छन् । यो कोर्स कसैको दबाब वा देखासिकीमा नभई विद्यार्थीको आफ्नै रुचि र लगनशीलता भए मात्र पढ्न सकिन्छ र पास भइन्छ । समग्रमा साढे ४ वर्ष कडा मेहनत गरेर बाँकी जिन्दगी रोजगारीको सुनिश्चिततासहित जिउने हिम्मत राख्ने विद्यार्थीले यो कोर्स कटाउन सक्छन् भन्दा फरक पर्दैन ।
आफै पनि सीए पास गरी इन्ष्टिच्युट सञ्चालन गरेर बस्नेहरू भन्छन्, ‘सीएको कोर्स नसकुन्जेल आफ्नै विवाहलाई पनि पछिका लागि थाती राख्नु, सामाजिक गतिविधि, पारिवारिक जिम्मेवारी, सोसल मिडियाको ज्यादा प्रयोग, रमझम जस्ता कुराहरूबाट अलग रहनु नै हितकर हुन्छ ।’ त्यसैगरी, हाम्रो शिक्षा प्रणालीअनुसार सामान्यतया एकै पटकमा सीएका प्रत्येक तह कटाउनुलाई राम्रो मानिन्छ ।

सीए कोर्सका विद्यार्थीका लागि राम्रो पक्ष भनेकै पुनः परीक्षा दिन पाउने व्यवस्था हुनु र प्रमाणपत्रमा कतै पनि पुनः परीक्षा दिएर पास गरेको उल्लेख नहुनु हो । अन्य विषय पढ्दा कति पटकमा पास गरेको, कति नम्बर ल्याएको भन्ने कुराले फरक महत्त्व राख्छ, तर सीएमा पास भए मात्र पुग्छ । पास भएर एकपटक लाइसेन्स पाइसकेपछि निश्चित दस्तुर तिरेर लाइसेन्स नवीकरण गराउने काम मात्र बाँकी रहन्छ । अघिल्लो असफलताबाट पाठ सिकेर पुनः प्रयास गरी पास भएर बजारमा छाएका सीएहरू धेरै छन् । त्यसैले धैर्य, लगनशीलता र मेहनतका साथ पढे कम्तीमा दोस्रो–तेस्रो प्रयासमा यो कोर्स पास गर्न सकिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।