वाणिज्य शास्त्र (व्यवस्थापन सङ्काय) पढिरहेका तथा चार्टर्ड एकाउण्टेण्ट (सीए) बन्न चाहनेका लागि बाटो खुलेको छ । व्यवस्थापन सङ्कायमा कक्षा १२ सकेकाले होस् वा बीबीएस सकेका, उनीहरू सबैले यो विषय पढ्न पाउँछन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान)ले कक्षा १२ वा स्नातक तहको नतीजा पर्खंदै गरेका सीए पढ्ने चाहना भएकाहरूलाई पनि भर्ना गर्न पाउने प्रावधान बनाएको छ ।
चाहना भएकाहरूका लागि यो एउटा अवसर हुने भएकाले यस्तो प्रावधान प्रभावकारी बनिरहेको आईक्यानको भनाइ छ । यसका लागि विद्यार्थी आफूले दिएको परीक्षाको प्रोभिजनल सर्टिफिकेट पेश गरी सीएमा भर्ना हुन सक्छन् । तर, भर्ना भइसकेको ६ महीनाभित्र आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसक्नुपर्नेछ ।
पछिल्लो समय सीएमा आकर्षण बढ्न थालेको छ । हालसम्म नेपालभर करीब १ हजार २ सय सीएका सदस्य भएको आईक्यानको तथ्याङ्क रहेको छ । नेपालमा सीए पढाउन शुरू भएको २१ वर्षको अवधिमा भने यो सङ्ख्या न्यून हो । वित्तीय कारोबार पारदर्शी बनाउन सीएको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरूले अर्थतन्त्र बढाउन थोरै भए पनि मद्दत पुर्याउँछन् ।
हाल आईक्यानबाट नेपालभर १२ ओटा विभिन्न इन्ष्टिच्युटमार्फत सीए कोर्स पढाइ हँुदै आएको छ, जसमा अधिकांशले नेपाल र भारत दुवै बोर्डका कोर्स पढाइरहेका छन् । विस्तारै विद्यार्थीको आकर्षण नेपाल बोर्डकै पढाइमा बढ्दै गएको छ । त्यसो हुनुको मुख्य कारण भारतीय बोर्डअन्तर्गत पढ्ने विद्यार्थीले भर्ना उता गरेर पहिलो र दोस्रो तह नेपालमै बसेर पढ्न पाए पनि तेस्रो अर्थात् तीनवर्षे कोर्सका लागि भने उतै गएर बस्नुपर्ने भएकाले पनि हो ।
जुन देशको बोर्डअन्तर्गतको सीए कोर्स पढ्यो, सोही देशका सङ्घसंस्थाका आर्थिक हिसाबकिताब उसकै देशको कानून तथा ट्याक्स प्रणालीअनुसार भए÷नभएको थाहा पाउन उतै गएर पढ्नुपरेको हो । यही कारण भारतीय बोर्डबाट पढ्ने विद्यार्थी यो तहको अध्ययनका लागि भारतमै जानुपर्ने हुन्छ । यही एकाउण्टेन्सी कानून र कर प्रणाली उताको पढेका हुने कारणले भारतीय बोर्डबाट सीए पढ्नेले सीएको लाइसेन्स पाइसकेपछि पनि नेपालमा काम गर्न नेपालको एकाउण्टेन्सी कानून र ट्याक्स प्रणालीको छुट्टै परीक्षा दिनुपर्ने हुन्छ । नेपाल तथा भारतका बोर्डअन्तर्गत चल्ने सीए कोर्सलाई यसरी नामकरण तथा विभाजन गरिएको छ :
सीएको पढाइ
सीए भनेको पेशागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि विद्यार्थीहरूले मुख्यतया लेखापरीक्षणको कार्य गर्न पाउँछन् । यसका अतिरिक्त विद्यार्थीहरू सीए गरेपछि लेखा, वित्तीय व्यवस्थापन, कर, कानूनलगायत विभिन्न विधामा दक्ष हुने भएकाले सोसम्बन्धी परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि कार्य गर्न सक्छन् ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाले १२ कक्षा पास गरेका जतिसुकै प्रतिशत ल्याएका विद्यार्थीका लागि पनि सीएको पढाइ खुला गरेका कारण इन्ष्टिच्युटहरूले पनि सोही नियम कार्यान्वयन गरेका छन् । तर, केही इन्ष्टिच्युटहरूले भने विद्यार्थीले १२ कक्षामा ल्याएको प्रतिशतका आधारमा सीए पढ्दा हुने/नहुने भन्ने परामर्श दिने गर्छन् ।
पहिलो तह लेखा, कानून, अर्थशास्त्र, वित्त तथा व्यवस्थापन र तथ्याङ्क शास्त्रको आधारभूत विषय पढाइ हुने भएका कारण धेरैजसो व्यवस्थापन सङ्कायमा प्लस टू गरेका विद्यार्थीका लागि सजिलो हुन्छ । अन्य सङ्कायबाट आएका विद्यार्थीले पनि केही बढी मेहनत गर्दा राम्रै प्रतिशतसहित पास गर्न सक्छन् । इन्ष्टिच्युटहरूको पछिल्लो वर्षको रेकर्ड हेर्दा ८० देखि ९० प्रतिशत विद्यार्थीले यो तह उत्तीर्ण गरेको पाउन सकिन्छ ।
दोस्रो तहमा कोर्सको गहनता निकै बढी हुन्छ । यस तहमा विशिष्ट ढङ्गले लेखा राख्नेदेखि अडिट, कर्पोरेट तथा अन्य कानून, इनकम ट्याक्स र भ्याट, आर्थिक व्यवस्थापन जस्ता कुरा पढाइ हुन्छन् । ९ महीनाको छोटो यो तहमा पढ्नु र सम्झिनुपर्ने कुरा धेरै हुने गर्छन् । यस तहमा सबै इन्ष्टिच्युटको नतीजा हेर्दा औसत १५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
३ वर्षको अवधिभर चल्ने विशिष्ट आर्थिक प्रतिवेदन/व्यवस्थापन, कानूनलगायत आर्थिक गतिविधिसम्बन्धी विशिष्ट ज्ञान हासिल गर्दै संस्थागत रूपमा व्यावहारिक अभ्यासमा जोड दिइने तेस्रो तहको नतीजा न्यून नै छ । यसमा अध्ययनका साथै सम्बन्धित कम्पनी, सङ्घसंस्थामै गएर उनीहरूको आर्थिक क्रियाकलापको अडिट गर्दै प्राप्त ज्ञानका आधारमा अघि बढ्ने कोर्स हुन्छ ।
न्यूनतम मापदण्ड
विद्यार्थी क्याप १ तहमा भर्ना हुन कम्तीमा १२ कक्षा (यसअघि १० जोड २ वा प्रवीणता प्रमाणपत्र तह)को परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । क्याप २ मध्यम तह हो । विद्यार्थीले यो तहमा भर्ना हुन क्याप १ तह उत्तीर्ण गरेको हुनुपर्छ । तर, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा कर मुख्य विषय लिई कम्तीमा ५० प्रतिशत वा वाणिज्य शास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा करबाहेकका अन्य मुख्य विषय लिई कम्तीमा ५५ प्रतिशत वा अन्य सङ्कायको भए कम्तीमा ६० प्रतिशत औसत अङ्क प्राप्त गरी कम्तीमा स्नातक उत्तीर्ण गरेका विद्यार्थी क्याप २ तहमा भर्ना हुन पाउँछन् । क्याप ३ अन्तिम तह हो । विद्यार्थी यो तहमा भर्ना हुन क्याप २ तह उत्तीर्ण गरेको हुनुपर्छ ।
पढ्न लाग्ने खर्च
कतिपय विषयको पढाइमा पूरै पैसा पहिल्यै तिर्नुपर्ने हुन्छ । तर, सीएमा हरेक तह पार गर्दा विद्यार्थीले सो तहसम्मको मात्रै शुल्क तिर्नुपर्छ । नेपाली बोर्डअन्तर्गत पढ्ने विद्यार्थीले तीनै तहको भर्ना आईक्यानमा गर्नुपर्ने हुन्छ । आईक्यानका अनुसार सीए पढ्न लाग्ने खर्च अन्य पेशागत अध्ययनको तुलनामा सस्तो पर्छ । क्याप १ तह अध्ययन गर्न रू. ३० हजार ३ सय ५० लाग्छ भने क्याप २ तह पूरा गर्न रू. ३५ हजार ४ सय ५० शुल्क तिर्नुपर्छ । क्याप ३ तहमा रू. ४० हजार १ सय दर्ता शुल्क तिरे पुग्छ । यो आईक्यानमा प्रत्यक्ष पढ्न लाग्ने खर्च हो । आईक्यानबाट मान्यताप्राप्त भएका संस्थाहरूमार्फत अध्ययन गर्ने हो भने सो शुल्कसहित थप ट्युशन शुल्क तिर्नुपर्छ । यो शुल्क भने इन्ष्टिच्युटअनुसार फरक हुन्छ । यो कोर्स पढ्न आईक्यानलाई तिनुपर्नेसहित करीब साढे ३ लाख रुपैयाँ शुल्क हाल बजारमा चलेको छ । लाग्ने शुल्कको ५० प्रतिशत भर्ना हुने बेलामा पहिलो किस्ताको रूपमा बुझाउनुपर्छ, जसमध्ये क्याप १ मा दोस्रो किस्ता भर्ना भएको मितिले ३ महीनाभित्र बुझाउनुपर्छ । त्यस्तै, क्याप २ र ३ को दोस्रो किस्ता भर्ना भएको मितिले क्रमशः ६ महीना र १ वर्षभित्र बुझाइसक्नुपर्नेछ ।
पाठ्यक्रम तथा पाठ्यसामग्री
चार्टर्ड एकाउण्टेण्टसम्बन्धी अन्तरराष्ट्रिय संस्था (आईक्यान)द्वारा निर्धारित पाठ्यक्रम नै यहाँ पनि लागू हुन्छ । सोहीअनुसारका पाठ्यपुस्तक तथा पाठ्यसामग्री सम्बन्धित इन्ष्टिच्युटहरूले प्रकाशित गर्छन् । नेपालमा सीए कोर्सको शुरूशुरूका वर्षहरूमा पाठ्यपुस्तकको समस्या रहे पनि हाल खासै समस्या छैन । यसका पेपर डकुमेण्ट मात्र नभई आजभोलि इन्ष्टिच्युटहरूले अडियो, भिजुअल र अनलाइन डकुमेण्ट खुला तथा आ–आफ्नो विद्यार्थीको क्लोज ग्रूपमा उपलब्ध गराउँदै आएका छन् ।
भर्ना अवधि
सीए पढ्ने विद्यार्थीका लागि भर्ना वर्षैभरि खुला रहन्छ । तथापि, विद्यार्थीहरूले केही कुरामा ध्यान दिनुपर्छ । क्याप १ तहमा भर्ना हुने विद्यार्थीले अङ्ग्रेजी महीनाको जुन १ देखि सोही वर्षको नोभेम्बर मसान्तसम्ममा भर्ना गरेमा आउने वर्षको जुन महीनामा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछन् । उदाहरणका लागि कुनै विद्यार्थीले जुन १, २०१६ देखि नोभेम्बर मसान्त २०१६ भित्र भर्ना गरेमा उसले जुन २०१७ मा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछ । त्यसैगरी क्याप २ मा भर्ना हुने विद्यार्थीले अङ्ग्रेजी महीनाको डिसेम्बर १ देखि अर्को वर्षको मे मसान्तसम्ममा भर्ना गरेमा सो वर्षको डिसेम्बर महीनामा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछ । क्याप ३ तहमा भर्ना भएको २ वर्ष अवधि व्यतीत भएपछि मात्र सो तहको अन्तिम परीक्षामा सामेल हुन पाइन्छ ।
परीक्षा विधि
सीएको हरेक तहको अन्तिम परीक्षा वर्षको दुईपटक ६ महीनाको फरकमा जुन तथा डिसेम्बरमा सञ्चालन हुन्छ । अन्तिम परीक्षामा सामेल हुन विद्यार्थीले पहिले योग्यता परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । परीक्षाको नतीजा परीक्षा सम्पन्न भएको २ महीनामा आउने गर्छ । जस्तै– डिसेम्बरमा सञ्चालन भएको परीक्षाको परीक्षाफल फेब्रुअरी तथा जुनमा सञ्चालन भएको परीक्षाको नतीजा अगष्टमा हुने गर्छ । सीएको क्याप १ तहको परीक्षामा विषयगत र वस्तुगत प्रश्नहरू ५०/५० अङ्कको गरी सोधिन्छ । क्याप २ तथा ३ तहमा भने १ सय अङ्कको पूरै विषयगत प्रश्न सोधिन्छ । वस्तुगत प्रश्नहरू बढीमा २ अङ्कसम्मका हुन्छन् । विषयगत प्रश्नहरू क्याप १ तहमा बढीमा १५ अङ्कका हुन्छन् भने क्याप २ र क्याप ३ तहमा बढीमा २० अङ्कका हुन्छन् ।
तालीम
सीए पढ्दा विद्यार्थीले क्याप ३ तहमा ३ वर्षको तालीम लिनुपर्ने व्यवस्था रहेको छ, जसलाई आर्टिकलशिप टे«निङ भनिन्छ । यस्तो तालिम विद्यार्थीलाई पेशागत व्यवसायमा रहेका चार्टर्ड एकाउण्टेण्टले दिने गर्छ । विद्यार्थीलाई तालीम अवधिमा चार्टर्ड एकाउण्टेण्टले कम्तीमा पहिलो वर्ष मासिक कम्तीमा रू. ३ हजार, दोस्रो वर्ष रू. ४ हजार र तेस्रो वर्ष रू. ५ हजारका दरले प्रशिक्षण भत्ता अनिवार्य रूपमा प्रदान गर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।