‘हिसान एडुफेयर’ शुरू हुँदै

Share News

काठमाडौं (अस)। बिहीवारबाट ‘हिसान एडुफेयर’ राजधानीमा शुरू हुने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने फेयर आइतवारसम्म चल्ने आयोजक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान)ले बताएको छ ।

फेयरमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)का साथै राष्ट्रिय परीक्षा बोर्डको समेत सहकार्य रहने जानकारी दिइएको छ, जसअनुसार उल्लिखित विश्वविद्यालय तथा निकायहरूमा आबद्ध कलेजसहित १ सयभन्दा बढी शैक्षिक संस्थाको सहभागिता प्रदर्शनीमा रहने छ ।

विद्यार्थी तथा अभिभावकलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने बारेमा परामर्श दिने उद्देश्यले फेयर आयोजना गर्न लागिएको हिसानका महासचिव एवम् फेयरका संयोजक लोकबहादुर भण्डारीले बताए । ‘नेपालमै सञ्चालित गुणस्तरीय र उत्कृष्ट शिक्षालयहरूले दिने शिक्षाका बारेमा उचित जानकारी नहुँदा र कतिपय विद्यार्थी तथा अभिभावकको विदेश मोहका कारणले उत्कृष्ट शिक्षाको गन्तव्य कुन हो भन्ने अन्योल छ,’ भण्डारीले भने, ‘जसका कारण शिक्षा प्राप्तिका नाममा ठूलो धनराशी विदेशिएको छ ।’

सोही अन्योल हटाई धनराशी विदेशिनबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तिलाई नेपालमै सञ्चालित शैक्षिक संस्थाहरूले दिने गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिने मूल ध्येय फेयर आयोजनाको रहेको छ । २ लाखभन्दा आगन्तुकले फेयर अवलोकन गर्ने आयोजकको अनुमान छ, जहाँ विभिन्न संस्थाका शैक्षिक, अतिरिक्त प्रस्तुतिका साथै शिक्षासम्बन्धी विविध जानकारीमूलक, विषयगत सेमिनारसमेत आयोजना हुने हिसानका अध्यक्ष रमेश सिलवालले बताए । फेयर बिहीवार बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसभन्दा अघि हिसानले उच्च माध्यमिक विद्यालय (कक्षा ११ र १२) सञ्चालन गर्ने स्कूल तथा कलेजको नेतृत्व गर्दै आएको थियो । नयाँ शिक्षा ऐन (आठौं संशोधन)ले कक्षा ११ र १२ लाई विद्यालय तहमा गाभेपछि हिसानले आफ्नो कार्यक्षेत्र गरी माध्यमिक तहको कक्षा ९ देखि विश्वविद्यालय तहको विद्यावारिधिसम्म विस्तार गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।