मुक्तिनाथ विकास बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १८ जेठ २०७४)

Share News

प्रमुख गतिविधि :
मुक्तिनाथ विकास बैङ्कको दशौं वार्षिक साधारणसभाबाट पारितबमोजिम ४० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ  । बैङ्कले १ सय रुपैयाँ अङ्कित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५ सय ४ रुपैयाँको ६१ लाख ७० हजार ८६५ कित्ता शेयर निष्कासन गर्न लागेको हो । यस ४० प्रतिशत हकप्रद विक्री गरेपछि बैङ्कको पूँजी २ अर्ब १६ करोड पुग्नेछ । बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ ।

बैङ्कले गत आर्थिक वर्षमा पनि ५० प्रतिशत हकप्रद विक्री गरेको थियो भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस गरी ८४ प्रतिशत पूँजी बढाएको थियो ।

मुक्तिनाथ विकास बैङ्क लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण र गत आर्थिक वर्षको सोही त्रैमासमा प्रकाशित वित्तीय विवरणबीच तुलना गर्दा :

  • बैङ्क चालू आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ३५ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा ४३ दशमलव शून्य २ प्रतिशत बढी हो । बैङ्कले गतवर्षको सोही अवधिमा मुनाफा २४ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।
  • १ अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्तापूँजी भएको यस बैङ्कले जगेडा कोषमा ६३ करोड ४८ लाख रुपैयाँ छुट्ट्याएको छ ।
  • निक्षेपमा ५३ दशमलव ८३ प्रतिशत वृद्धि गरी १५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
  • कर्जामा ६४ दशमलव ६७ प्रतिशत वृद्धि गरी १४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैङ्कको खुद ब्याज आम्दानी ५१ दशमलव ९७ प्रतिशत बढेर ७३ करोड १० लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ४६ दशमलव ९९ प्रतिशत वृद्धि गरी ५३ करोड ६७लाख रुपैयाँ पुगेको छ । बैङ्कको प्रोभिजनमा ४ करोड ७५ लाख रुपैयाँ राखेको छ ।
  • बैङ्कको जोखीमयुक्त सम्पत्ति १४ दशमलव ९७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १० प्रतिशत रहेको छ ।
  • बैङ्कको प्रतिशेयर आम्दानी (वार्षिक) ३० दशमलव ६९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) ३४ दशलमव १४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४० दशमलव ७४ रुपैयाँ र तरलता अनुपात २० दशमल ९७ प्रतिशत रहेको छ ।

निष्कर्ष
बैङ्कको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा बढ्नुमा प्रमुख रूपमा खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी, फी, कमिशन तथा छूटमा उलेख्य वृद्धि कारण रहेका छन् । बैङ्क खुद ब्याज आम्दानीमा ४३ दशमलव शून्य २ प्रतिशत, फी, कमिशन तथा छूटमा १ सय ५५ प्रतिशत र अन्य सञ्चालन आर्जनमा ३६ दशमलव ३६ प्रतिशत बढेको देखिन्छ । नकारात्मक पक्षको कुरा गर्नुपर्दा खर्च तथा प्रोभिजनमा रकम बढेको छ । गतवर्षको तुलनामा चुक्तापूँजीमा ८३  प्रतिशत वृद्धि भएको देखिन्छ । मुनाफातर्फ ४३ प्रतिशत मात्र बढेकोले प्रतिशेयर आम्दानी घटेको छ । बैङ्कको जारी हुने ४० प्रतिशत हकप्रदले अझ प्रतिशेयर आम्दानीमा दबाब पर्नेछ ।

प्राविधिक विश्लेषण : टेवा तोड्दै मुक्तिनाथ

प्रतिरोध २ : १०९० । प्रतिरोध १ : १०६० । हालको अन्तिम मूल्य : ९९० । टेवा १ : ९६० । टेवा २ : ९३४

बजारको अवस्था
२ महीना अगाडिदेखि बढ्न थालेको मुक्तिनाथ विकास बैङ्कको शेयरमूल्य १ महीनायता भने बढ्न सकेको छैन । गत फेब्रुअरीमा ६ सयको आसपासमा रहेको यस कम्पनीको शेयरमूल्य लगातार बढेर १ हजार ९४ रुपैयाँसम्म पुगेको थियो  । बैङ्कका लागि १ हजार ९० को बिन्दु निकै मजबूत अवरोध रहेको पुष्टि भएको छ । यस कम्पनीको शेयरमूल्य १ हजार ९० को बिन्दुमाथि जान धेरै सङ्घर्ष गरे पनि असफल भएको छ  । बुधवार यस बैङ्कको शेयरमूल्य १ दशमलव शून्य २ प्रतिशत अर्थात् १० रुपैयाँ बढेको छ भने ७ हजार २ सय ९९ कित्ता शेयर कारोबार भएको छ । मङ्गलवार यस कम्पनीको शेयरमूल्यले ९ सय ९० को महत्त्वपूर्ण टेवा तोडेको थियो भने बुधवार फेरि बढेर ९ सय ९० रुपैयाँको बिन्दुमा बन्द भएको छ  ।

मुभिङ एभरेज
२१ दिने मुभिङ एभरेजअनुसार यस विकास बैङ्कको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ भने ५० दिने मुभिङ एभरेजअनुसार अझै बढ्दो प्रवृत्तिमा रहेको छ  ।

एडीएक्स
एडीएक्स सूचकअनुसार यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ ।

एटीआर
एटीआर सूचक घट्दै जानुले बैङ्कको शेयरमूल्यमा उतारचढाव कम रहेको बुझाउँछ ।

स्टोकाष्टिक
स्टोकाष्टिक सूचक केही बढेको हुनाले बजार केही बढ्न गरेको देखिन्छ  ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको बुझाएकाले अहिले लगानी गर्न केही जोखीम रहेको बुझाउँछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।