जेठ १९, काठमाडौं । साताभरि परिसूचक ओरालो लागेको थियो । सोमवार सार्वजनिक भएको बजेटबाट लगानीकर्ताहरु खुशी देखिएनन् । फलस्वरुप मङ्गलवार दिनभरि परिसूचक घटेको थियो । बुधवार भने परिसूचकमा न्यून सुधार देखिएतापनि अन्तिम दिन पुनः बजार ओरालो लाग्यो । परिसूचक घटेसँगै कारोबार रकम र लगानीकर्ताहरुको सम्पत्तिमा पनि कमी देखिएको थियो । अघिल्लो साताको अन्तिम व्यापार दिनको तुलनामा गत साताको अन्तिम दिन कारोबार रकम रू. ४ करोड ५३ लाख घटेको थियो । लगानीकर्ताको सम्पत्तिमा भने रू. २१ अर्ब १२ करोडको कमी देखापरेको छ ।
सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४३ दशमलव ८३ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । गत साता नेप्से परिसूचक २५ दशमलव २७ अङ्क घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ६ सय २९ दशमलव ५८ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ६ सय ४ दशमलव ३१ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेको हो । सातामा जलविद्युत समूह र उत्पादन तथा प्रशोधन समूह बोहक सबै समूहको परिसूचक घटेको थियो ।
जलविद्युत समूहको परिसूचक १४ दशमलव ६७ अङ्क र उत्पादन तथा प्रशोधन समूहको १९ दशमलव ७२ अङ्क बढेको हो । त्यस्तै, ‘अन्य’ समूहको परिसूचक २७ दशमलव ४७ अङ्कले घटेको थियो । साथै, बैङ्किङ समूहको परिसूचक ११ दशमलव ७१ अङ्क, विकास बैङ्कको ५ दशमलव २७ अङ्क र वित्त कम्पनीको शून्य दशमलव ९ अङ्क घटेको हो । होटल समूहको परिसूचक १६ दशमलव ४१ अङ्क र बीमाको ९ दशमलव ५८ अङ्क घटेको थियो ।
गत साता २७ हजार ३ सय ४१ कारोबारबाट १ सय ५८ कम्पनीहरुको ५१ लाख २१ हजार १ सय ६० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. २ अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ५ दशमलव ८१ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ५५ कम्पनीहरुको २३ हजार ७ सय ३५ कारोबारबाट ४५ लाख ६७ हजार ९० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. २ अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको कारोबार भएको थियो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन २ दशमलव ९४ अङ्कले घटेर ३ सय ४० दशमलव ३४ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ८ अङ्कले घटेर १ सय १८ दशमलव २४ अङ्कमा पुगेको हो ।
सो साता कारोबार रकमका आधारमा र कारोबार सङ्ख्याका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कले गत साता रू. १७ करोड ९२ लाख ५० हजार बराबरको शेयर कारोबार गरेको थियो भने ३ हजार २ सय ९ ओटा कारोबार गरेको थियो । कारोबार भएको शेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैङ्क अग्रस्थानमा रहेको छ । यस बैङ्कको २ लाख ४७ हजार कित्ता शेयर खरीद विक्री भएको थियो ।
गत साताको समूहगत परिसूचक :
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।