ललितपुरको मेयरमा महर्जनले जित्नुको कारण पेश गर्न अदालतद्वारा आयोगलाई आदेश

Share News

जेठ १९, काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले जित्नुपर्ने कारण पेश गर्न शुक्रवार उच्च अदालत, पाटनले निर्वाचन आयोग समेतलाई आदेश दिएको छ ।  न्यायाधीश किशोर सिलवालको एकल इजलासले मेयर पदका अर्का उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार पराजित भई महर्जनले निर्वाचन जित्नुपर्ने कारण पेश गर्न आदेश दिएको हो ।

ललितपुर महानगरपालिकाका मेयर पदमा पराजित भएको घोषणा गरिएका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले आफूलाई धाँधली गरी हराइएको उल्लेख गर्दै सो अदालतमा बिहीवार मुद्दा दायर गरेका थिए । ललितपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर १, २, ४, ९ र २६ को मतगणना गर्दा कर्मचारीसमेतको मिलेमतोमा धाँधली भएको आरोप लगाएका थिए ।  

मतगणना कार्यमा संलग्न कर्मचारीले कम्प्युटरमा डाटा इण्ट्री गर्दा मत हेरफेर गरेको, आफ्ना मान्छेलाई त्यसमा रुजु गर्न नदिइएको, आफ्ना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षर गर्न नदिइएको जस्ता आरोप लगाई ब्यञ्जनकारले मुद्दा दायर गरेका थिए । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार बनेका ब्यञ्जनकारले २४ हजार ३ सय १६ र नेपाली काङ्ग्रेसबाट सोही पदमा उम्मेदवार बनेका चिरिबाबु महर्जनले २४ हजार ६ सय १६ मत पाई विजय भएको घोषणा गरिएको थियो ।  यसैगरी न्यायाधीश सिलवालको इजलासले नै गएको वैसाख ३१ गते सम्पन्न भएको निर्वाचनमा पराजित भएका भनिएका ब्यक्तिहरुको मुद्दामा पनि निर्वाचन आयोगलाई कारण पेश गर्न आदेश दिएको छ ।

 


 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।