जेठ २०, काठमाडौं (अस) । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार नयाँ प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको प्रस्तावकमा प्रधानमन्त्री दाहाल र समर्थकमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् ।
सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दिएको निर्देशनबमोजिम संसद् सचिवालयले शनिवार ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । आइतवार विहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।
मनोनयन अघि बसेको काङ्ग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठले बताए ।
काङ्ग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री दाहालले जेठ १० गते राजीनामा दिएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।