जेठ २०, काठमाडौं । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको शुक्रवार आयोजित एक समारोहका वीच शुभारम्भ गरेकी छिन् ।
सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन् । पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सम्मेलनले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिने बताइन् । उनले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको दावी गरिन् ।
कार्यक्रमका मुख्य वक्ता तथा एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।
शुक्रवारको सम्मेलनमा विभिन्न ५३ देशका २ सय ५० जना प्रतिनिधि सहभागी रहेको आयोजकले बताएको छ । यस सम्मेलनमा विश्वमा पर्यटनका क्षेत्रका क्रेता र बिक्रेताका विषयमा जानकारी आदानप्रदान गरिनेछ । सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा शुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले महत्वपूर्ण रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाललाई विश्वसामु उपयुक्त पर्यटकीय गन्यव्यस्थल हो भन्ने सन्देश दिन खोजिएको धारणा राखेका थिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।