जेठ २०, खोटाङ । राजधानी काठमाडौंलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ । बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको हो ।
गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा रहेको बेलिब्रिज निकालिएसँगै जिल्लाबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । दूधकोसीस्थित जयरामघाटमा पुलको अभावमा हरेकवर्ष अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । बाटोमा पर्ने दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौं तथा कटारी हुँदै धरान, विराटनगर, झापा, जनकपुरलगायतका पूर्वी शहर जान र आउनका लागि जयरामघाटमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता शुरु भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए ।
दूधकोसीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणकार्य थालेको नौ वर्षमा पनि पूरा हुनसकेको छैन् । अस्थायी बेलिब्रिज झिकिएपछि तराईबाट जिल्ला भित्रिने दैनिक उपभोग्य सामान दूधकोसीमा भरियामार्फत गाडीबाट झारेर नदी तार्नुपर्ने र पुनः गाडीमा राख्नुपर्ने समस्याले त्यसको मूल्य बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र मयालुले बताए । ‘बेलिब्रिज झिकिएसँगै जिल्लावासीको कष्टको दिन शुरु भयो,” उनले भने, ‘लामो समयदेखि भोग्दै आएको समस्या समाधानतर्फ कसैको ध्यान गएको छैन ।”
करीब एघार वर्षअघि हेलिकोप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ६० लाख भन्दा बढी राज्य कोषको रकम खर्च हुने गरेको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।