आयातकर्ताको प्रश्न – रेलवे यार्ड खोल्ने, भन्सार चाहिँ किन बन्द ?

Share News

जेठ २०, वीरगञ्ज । भारतले सीमावर्ती रक्सौल रेलवे स्टेशनमा मालबस्तुको लोड अनलोड २४सै घण्टा खुला गरेपनि भन्सार कार्यालय नखुल्दा आयतकर्ता रेलवेलाई चर्को जरीवाना बुझाउन बाध्य भएका छन् । रेलवेले रक्सौल गोदाममा आयातित मालसामानको चाप बढेको भन्दै २४ घण्टे सेवा लागू गरेको थियो ।

रेलवेले आफ्नो यार्ड खुला राखे पनि सीमावर्ती भारतीय रक्सौल भन्सार र नेपालको वीरगञ्ज भन्सार निर्धारित समयमा मात्रै खुल्ने गरेकाले आयातमा जरीवानाको भारी थपिएको आयातकर्ताले बताए । यी कार्यालय राति ११ देखि बिहान ५ बजेसम्म बन्द रहन्छन् । डाट लगाएर आवागमन बन्द गरिन्छ ।

मध्यपूर्वी रेलवेले अघिल्लो वर्ष जुलाई ८ देखि यो नियम लागू गरेको थियो । त्यसयता एक ¥याक मालसामान आयातमा ८ लाख रुपैयाँसम्म जरीवाना तिर्नु परेको आयातकर्ता माधव राजपालले बताए । स्वदेशी आयातकर्ताले अहिलेसम्म ३० करोड रुपैयाँभन्दा बढी जरीवाना बुझाइसकेको अनुमान वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहेका राजपालको छ । ‘रेलवेले २४सै घण्टा लोडअनलोड खुला गरेपछि आयातकर्तालाई झनमार परेको छ,’ उनले भने । यो नियमअघि यो परिमाण ६ करोडभन्दा बढी नभएको दाबी आयातकर्ताको छ । 

यसअघि रेलवेको रक्सौल गोदाम बिहान ६ बजेदेखि राति १० बजेसम्ममात्र खुल्दै आएको थियो । सो समयबाहेक अन्य बेला लोडअनलोड गर्न प्रतिबन्ध लगाइएको थियो । रेलवेले रक्सौलमा रेल आइपुगे पछि अनलोडका लागि ९ र गोदाममा झारिएको मालसामान लैजान १२ घण्टाको निशुल्क समय दिने गरेको छ । 

२४ घण्टे समय लागू हुनुअघि रातको १० बजेदेखि बिहान ६ बजेसम्मको समय गणना नहुनेमा त्यसयता आयातकर्ताले यो समयको पनि जरीवना तिर्नु परेको छ । स्टेशनमा रेल जुनसुकै बेला आएपनि तत्कालै निःशुल्क समयको समयसीमा प्रभावकारी हुने भएकाले जरीवाना बढी तिर्नु परेको सङ्घका अध्यक्ष ओम प्रकाश शर्माले बताए । तोकिएको समयमा रेलको मालसमान लोड अनलोड नभएमा एउटा वेगनको प्रतिघण्टा १ सय ५० भारतीय रुपयाका दरले जरीवना लिने गरेको छ ।

भन्सार बन्द भएको समयमा आयातित बस्तुको जाँचपास गराउन नपाइने भएकाले रेलवेको नियम आयातकर्ताका लागि खर्चको भार बढाउने उपायमात्र सावित भएको अध्यक्ष शर्माले बताए । राति यार्डमा कामगर्ने मजदूरसमेत नपाइने आयातकर्ताले बताए । शर्माको नेतृत्वमा सङ्घका पदाधिकारीहरूले गत महीना भारतीय रेलवे राज्यमन्त्री मनोज सिन्हालाई भारतको पटनामा भेटेर यो समस्याका बारेमा जानकारी गराएका थिए । राज्यमन्त्री सिन्हाले रेलवे अधिकारीहरुलाई एक हप्ता भित्र निकास निकाल्न निर्देशन दिएपनि अहिलेसम्म समस्या जस्ताको त्यस्तै रहेको शर्माले बताए ।

रक्सौलमा अधिकांश स्वदेशी उद्योगका कच्चापदार्थ आउँछ । कोइला, क्लिङकर, जिप्सम, स्ल्याग, आइरन ओर, नुनलगायतका मालसामान रक्सौल–वीरगञ्ज हुँदै नेपाल भित्रिने गरेका छन् । रातिको समयमा ढुवानीका साधनसमेत उपलब्ध नहुने भएकाले रेलवेको नियम अव्यवहारिक भएको आयातकर्ता राजेश क्यालले बताए । रक्सौल यार्ड २४सै घण्टा खोलेर आयातकर्तालाई जरीवानाको भारमात्र बढाउने काम भएको उनले बताए । ‘कि दुवै तिरको भन्सार पनि २४ सै घण्टा खोलेर काम हुनु पर्छ, होइन भने रेलवेले २४ घण्टे नियम हटाउनु पर्छ,’ उनले भने ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भन्सार कार्यालय तोकिएको समयभन्दा बढी खोल्न नसकिने बताए ।  ‘अन्तरराष्ट्रिय सीमानामा रहेको भन्सार कार्यालय २४ सै घण्टा खोल्ने अभ्यास छैन । सुरक्षा संवेदन शिलताका कुरा पनि हुन्छन्,’ पोखरेलले भने ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।