समूहको चार दशकको औद्योगिक यात्रामा एक दर्जनभन्दा बढी उद्योगमा लगानी गरिसकेको छ । पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले विसं २०२९ मा झापामा पञ्चकन्या राइस मिल स्थापना गरी औद्योगिक यात्रा शुरू गरेको हुन् ।
नेपालको निर्माण सामग्री व्यवसायमा अग्रणी स्थान ओगट्न सफल पञ्चकन्या समूह आजदेखि ४० वर्षमा प्रवेश गरेको छ । यस वर्षको वार्षिकोत्सवलाई विशेष रूपमा मनाउने तयारी गरिएको समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । पञ्चकन्या समूहका संस्थापक प्रेमबहादुर श्रेष्ठको ८२औं जन्मोत्सव भएकाले यस वर्षको ‘पञ्चकन्या डे’ विशेष भएको उनी बताउँछन् । श्रेष्ठका अनुसार यस वर्ष समूहले सामाजिक उत्तरदायित्व (सीएसआर)लाई प्राथमिकतामा राखेको छ । त्यसैगरी यो वार्षिकोत्सवमा कर्मचारीलाई सम्मान गर्नुका साथै डिलर्सहरूलाई समेत पुरस्कृत गर्ने समूहको कार्यक्रम छ ।
समूहले चार दशकको औद्योगिक यात्रामा एक दर्जनभन्दा बढी उद्योगमा लगानी गरिसकेको छ । पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले विसं २०२९ मा झापामा पञ्चकन्या राइस मिल स्थापना गरी औद्योगिक यात्रा शुरू गरेका हुन् । सो समयमा उद्योग सञ्चालनका लागि लाइसेन्स पाउन कठिन थियो भने अहिले उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण भएको प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछन् । हालको अवस्थामा उद्योगक्षेत्रमा प्रवेश गर्नु भनेको आफैलाई बन्धक बनाउनुसरह भएको उनको विचार छ । श्रेष्ठले भने, ‘त्यहाँ प्रवेश गरेपछि निस्कने बाटो छैन ।’ उनका अनुसार देशको बिग्रँदो राजनीतिक परिस्थितिका कारण अहिले उद्योगीहरू ‘पर्ख र हेर’को स्थितिमा रहेका छन् ।
हालसम्मको अवधिमा समूहले अर्बौको लगानी गरेर अथक मेहनत र समय त्यसैको विस्तारमा खर्चेको श्रेष्ठ बताउँछन् । स्थापनाकालदेखि नै पञ्चकन्या समूहले नेपालमा नयाँ उत्पादन भित्र्याउने उद्योगका रूपमा आफूलाई स्थापित गराउँदै आएको छ । पुराना फलामे पाइपलाई विस्थापित गर्दै सफा पानी आपूर्ति गर्नै विभिन्न प्रविधिका प्लाष्टिक पाइप सबैभन्दा पहिला पञ्चकन्याले नै भित्र्याएको हो । पछिल्लो समयमा हिटिङ मेशिन नचाहिने सीपीभीसी प्रविधिको पाइप तथा फिटिङको उत्पादन पञ्चकन्याले शुरू गरेको छ । यो प्रविधि पनि नेपालमा नयाँ हो । ‘त्यसबाहेक हाम्रो अर्को विशेषता भनेको उत्पादनमा गुणस्तरीयता र एकरूपता कायम राख्नु पनि हो,’ श्रेष्ठले भने । त्यसैगरी नेपालमा थर्मेक्स टीएमटी प्रविधि भित्र्याउने पञ्चकन्या स्टील पहिलो उद्योग हो ।
नेपाल गुणस्तर प्रमाण चिन्ह र आईएसओका विभिन्न विधाहरू पाउने पञ्चकन्या स्टील देशकै पहिलो उद्योग हो । नेपालमा रेडिमिक्स कङ्क्रिटको व्यावसायिक उत्पादन पनि पञ्यकन्या समूहले नै शुरू गरेको हो । राजधानीको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर निर्माणका लागि आवश्यक कङ्क्रिट तयारी रूपमै उपलब्ध गराउनका लागि ५ वर्षअघि यस समूहले यो व्यवसाय थालेको हो । हाल यो समूह सिमेण्ट उद्योग स्थापनाको तयारीमा जुटेको छ । स्वदेशी क्लिङ्करकै प्रयोग गरी सिमेण्ट उत्पादन गर्ने आफ्नो अडानले उद्योग स्थापनामा ढिलाइ भएको श्रेष्ठले जानकारी दिए । ‘आफ्नै क्लिङ्कर बनाउने उद्योग स्थापनाका लागि उपयुक्त चुनढुङ्गा खानीको पहिचान गरिसकेका छौं,’ उनले भने, ‘पञ्चकन्याको सिमेण्ट उद्योग राजधानीबाट ५० किमि दक्षिणमा रहनेछ ।’
त्यसैगरी देशमा व्याप्त लोडशेडिङ न्यूनीकरण गर्ने उद्देश्यले समूहले इलामको माईमजुवामा १० मेगावाट र पाँच मेगावाटका दुई जलविद्युत् परियोजना शुरू गरेको छ । सरकारले समयमै ट्रान्समिशन लाइन तयार गर्न सकेमा आगामी २ वर्षमा ती आयोजनाबाट बिजुली आपूर्ति शुरू भइसक्ने समूहले जानकारी दिएको छ ।
निजीकरण हुनुअगाडि सधैं घाटा बेहोरेको नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग यो समूहले लिएर सञ्चालन गरेपश्चात् नाफामा गइरहेको छ । नेपाल आयल निगमअन्तर्गत रहेको सो उद्योग विसं २०५१ मा निजीकरण गरिएको थियो । सरकारी संस्थानका रूपमा सो उद्योगले बिटुमिन झिकाउँदा १ वर्षअघि नै अग्रीम भुक्तानी गरिसक्नुपथ्र्याे । तर, पञ्चकन्या समूहको सदस्य भएपछि सो उद्योगले सामान आएको १ वर्षपछि रकम भुक्तानी गरे हुने व्यवस्था भएको छ । यो आफ्नो समूहप्रति आपूर्तिकर्ताको विश्वासको द्योतक भएको समूहको मान्यता छ ।
पञ्चकन्या समूहअन्तर्गत २ वर्षअघि मात्र स्थापना भएको नेपाल सिलिण्डर उद्योगले ग्यास सिलिण्डर बजारको ४० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । भारतबाट आयात हुने कम गुणस्तरका ग्यास सिलिण्डर प्रतिस्थापनमा सो उद्योगले महŒवपूर्ण भूमिका खेल्दै आएको छ । निर्माण क्षेत्रको लगानीलाई प्राथमिकता दिँदै आएको पञ्चकन्या समूहले युनिक प्रोफाइल्स प्रालिमार्फत झ्याल, ढोका र पार्टिशन सामग्री उत्पादनमा पनि लगानी गरेको छ । पाटन औद्योगिक क्षेत्रस्थित कम्पनीले अहिले चीनबाट प्रोफाइल आयात गरी यस्ता सामग्री उत्पादन गर्दै आएको छ ।
पञ्चकन्याअन्तर्गत युनिक फर्निचर प्रालिले उच्चस्तरका सोफा, दराज, कुर्सी, टेबल, र्याकलगायतका फर्निचर उत्पादन गर्दै आएको समूहले जानकारी दिएको छ । आफ्ना निर्माण परियोजनामा प्रयोग हुने तर, आफूले हाल उत्पादन नगरेका अन्य सामग्रीहरू भने समूहले आयात गरी यसका लागि समूहअन्तर्गत पाँचओटा ‘ट्रेडिङ विङ’ स्थापना गरेको छ । समूहले एउटै छानामुनि सम्पूर्ण निर्माण सामग्री उपलब्ध गराउने ‘टिप टू टप’ अवधारणाअनुसार यो सञ्चालनमा ल्याएको श्रेष्ठ बताउँछन् । यसबाहेक समूह विभिन्न वाणिज्य बैङ्कको प्रमोटरका रूपमा रहेको छ । त्यसगरी र्याम्स हस्पिटल, काभ्रेमा रहेको मल्पी इण्टरनेशनल स्कूल, विभिन्न हाउजिङ कम्पनी र निर्माण कम्पनीमा समेत पञ्चकन्या समूहले लगानी विस्तार गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।