मेड इन नेपाल : आफ्नो भन्या आफ्नै हो

Share News

नेपाली उपभोक्तालाई स्वदेशी सेवा तथा उत्पादनको गुणस्तरसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा ‘मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी’ शुरू भएको छ । भदौ २१ देखि २४ गतेसम्म सञ्चालन हुने मेलामा नेपालमा उत्पादित विभिन्न सेवा तथा प्रडक्टसम्बन्धी जानकारी दिइनुका साथै विक्रीसमेत गरिने मेलाका संयोजक तथा युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष अनुजकमार श्रेष्ठले बताए । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा सञ्चालन भएको मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनीमा डाइरेक्शन नेपालको व्यवस्थापन सहयोग रहेको छ भने नेपाल उद्योग वाणिज्य महासङ्घले यसको प्रवद्र्धन गरेको छ ।

‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ सञ्चालन भएको मेलामा १ सयभन्दा बढी स्वदेशी उद्योगको सहभागिता रहेको छ । मेलामा नेपाली हस्तकला, पश्मिना, जडीबुटी, छाला तथा जुत्तालगायतका १ सय ४० भन्दा बढी स्वदेशी उत्पादनका स्टल रहेका छन् । चार दिनसम्म सञ्चालन हुने मेलामा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । सर्वसाधारण उपभोक्तामाझ पनि गुणस्तरीय वस्तु हामै्र देशमा उत्पादन हुन्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको हो । नेपाली उत्पादनको बजार बढ्दै गएको अवस्थामा यस्तो मेला सकारात्मक हुने श्रेष्ठको भनाइ छ । नेपाली उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ब्राण्ड पहिचानका लागि यस्तो मेलाले धेरै सहयोग पुर्‍याएको आयोजकको दाबी छ ।

आव २०६८/६९ को पहिलो १० महीनामा नेपालबाट ६० अर्ब ४५ करोड रुपैयाँबराबरको सामान विभिन्न देशमा निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब ८ अर्ब रुपैयाँले बढी हो । आव २०६७/६८ को पहिलो १० महीनामा नेपालबाट ५२ अर्ब ६९ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । निर्यात व्यापारमा वृद्धि देखिए पनि नेपालको व्यापार घाटा भने अत्यधिक बढेको प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइ छ ।

उनका अनुसार अघिल्लो आवमा नेपालले ३ सय ८७ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्नुपरेको थियो । आव २०६८/६९ मा नेपालबाट करीब ७५ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो भने ४ सय ६१ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरिएको डा. भट्टराईले बताए । नेपालमा गुणस्तरीय सामान उत्पादन गर्ने उद्योग हुँदाहुँदै पनि विदेशी सामानहरूप्रति उपभोक्ताको आकर्षणले गर्दा व्यापार घाटा बढेको नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष अजय प्रधानाङ्गको भनाइ छ । कफी, चिया, चाउचाउ, सिमेण्ट, छालाजन्य उत्पादनलगायत उद्योगमा नेपाल आत्मनिर्भर भइसकेको छ ।

विदेशीकै भर पर्नुपरेको स्वास्थ्य सेवामा पनि क्रमशः नेपाल बलियो हुँदै छ । अहिले ६० प्रकारका औषधिमा नेपाल आत्मनिर्भर भइरहेको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । नेपालको औषधि उद्योगमा मात्र १६ अर्ब रुपैयाँभन्दा बढी स्वदेशी लगानी भएको छ । अटोमोबाइल क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने लुब्रिकेण्टको बजारमा पनि स्वदेशी उत्पादनको बजारहिस्सा ३० प्रतिशतभन्दा बढी छ । त्यस्तै गार्मेण्ट्स, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा पनि स्वदेशी लगानी बढिरहेको छ । यस्तो अवस्थामा स्वदेशीमै लगानी बढाउन युवा उद्यामीहरूलाई प्रदर्शनीबाट ठूलो सहयोग पुग्ने डाइरेक्शन नेपालका इभेण्ट म्यानेजर पशुपति केसीले बताए ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू
गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटायल, फलाम स्टील तथा तिनका उत्पादन, हस्तकलाका सामग्री, चाँदीका गहना, चाउचाउ, टूथपेष्ट, चिया, अदुवा, कफी, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीबुटी आदि ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।