इण्टरनेट सेवाको स्तरोन्नति गर्दै आईएसपी

Share News

केही वर्षअघिसम्म अचम्मको विषय मानिने इण्टरनेट सेवा अब सामान्य बनिसकेको छ । शहरमा मात्र नभई ग्रामीण भेगमा समेत इण्टरनेट अब जीवनयापनको अभिन्न अङ्ग बनेको छ । प्रविधिमा आएको परिवर्तनले यस्तो भएको हो । यसको प्रयोगविना हालको प्रतिस्पर्धी विश्वमा निकै पछाडि परिने भने पक्का छ ।

नेपालको तथ्याङ्क हेर्ने हो भने पनि वर्षेनि इण्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा अपत्यारिलो किसिमले वृद्धि हुँदै आएको छ । यसमा अझ टेलिकम अपरेटरहरूले जीएसएम प्रविधिमार्फत इण्टरनेट सेवा उपलब्ध गराउन थालेपछि नेपालका गाउँगाउँसम्म यो विस्तार भइसकेको छ । त्यसैले, इण्टरनेटको विकास होइन, यसको सम्पर्कमा रहे/नरहेको आममानिसमा चर्चाको विषय बन्न थालेको छ । प्रयोगकर्ताको सङ्ख्यामा आएको वृद्धिसँगै इण्टरनेटको प्रयोगमा एउटा समस्या भने देखिन थालेको छ । आफ्नो चाहनाअनुरूपको गति र समयमा इण्टरनेटको प्रयोग गर्न नपाउँदा ग्राहकहरू झन्झट मान्न थालेका छन् । तर, यही समस्या समाधान गर्न राजधानीमा आयोजना हुन लागेको ‘पाँचौं क्यान सफ्टेक’मा विभिन्न आईएसपी (इण्टरनेट सेवाप्रदायक)हरूले उच्चस्तरको इण्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले स्टलहरू राखेका छन् ।

सफ्टेकमा सुबिसु केबल नेट प्रालि, भायनेट कम्युनिकेशन प्रालि र वेबसर्फर नेपाल कम्युनिकेशन सिष्टम प्रालिले स्टल राखेका छन् । संस्थागत तथा व्यक्तिगत दुवै प्रयोगलाई ध्यानमा राखेर ती आईएसपीले छूटसहित उच्चस्तरको इण्टरनेट सुविधा प्रदान गर्न लागेको बताएका छन् । मेलामै ग्राहक बन्ने व्यक्तिलाई वेबसर्फरले ६ महीनाको ५० प्रतिशत र १ वर्षको शतप्रतिशत जडान खर्च छूट दिएको छ ।

वेबसर्फरका ग्राहकले अन्य अवस्थामा जडानका लागि ३ हजार ३ सय ९० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसैगरी मेलामा कर्पोरेट संस्थालाई लक्षित गर्दै निर्माण गरिएको एमभीपीएस (मल्टिप्रोटोकल लेभल स्वीचिङ) डिभाइस पनि वेबसर्फरले प्रदर्शन गर्न लागेको छ । व्यक्तिगत प्रयोजनका लागि उपयुक्त मानिने भीपीआर (भर्चुअल प्राइभेट नेटवर्क) पनि मेलामा आकर्षणका रूपमा रहेको वेबसर्फरका बजार प्रबन्धक सुदीपकुमार वलीले जानकारी दिए । यस्तै सफ्टेककै अवसरमा भायनेट कम्युनिकेशन प्रालिले सफ्टवेयर र इण्टरनेटमा छूटसहितको सुविधा दिने बताएको छ ।

मेलामा भायनेटले निर्माण गरेको एचआर (मानव व्यवस्थापन) सम्बन्धी सफ्टवेयर प्रमुख आकर्षण बन्न सक्नेछ । वेब डिजाइनिङका पारखीलाई लक्षित गर्दै प्रालिले रू. १५ हजारमा वेबस्पेस, डिजाइन र इण्टरनेटसम्बन्धी एकमुष्ट प्याकेज पनि मेलामा ल्याएको छ । त्यस्तै मेलामै भायनेटको फाइबर नेट इण्टरनेटको ग्राहक बन्नेलाई वार्षिक छूटको व्यवस्था गरेको पनि प्रालिले जानकारी दिएको छ । यसैगरी सफ्टेक मेलाको अवसरमा सुबिसु केबल नेट प्रालिले विभिन्न छूटसहित उच्चगतिको इण्टरनेट सेवा उपलब्ध गराउन लागेको बताएको छ । दशैंको अवसर पारेर सुबिसुले केबल मोडेम इण्टरनेट सर्भिस प्रतिमहीना ८ सय ९९ रुपैयाँमा दिन लागेको छ । यसको गति ५ सय १२ केबीपीएसको हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।