इन्फोडेभलपर्स क्यान सफ्टेक २०१२

Share News

सफ्टवेयर निर्माणमा संसारले केकस्ता उपलब्धि हासिल गरेको छ ? यसमा नेपाल कुन अवस्थामा छ र यो क्षेत्रमा नेपालले केकस्ता उपलब्धि हासिल गरेको छ ? यस्ता प्रश्नको उत्तर खोज्न चाहनुहुन्छ ? यिनै यावत् प्रश्नहरूको जवाफ खोज्ने उद्देश्यका साथ कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)को आयोजनामा ‘क्यान सफ्टेक २०१२’ आजबाट राजधानीमा शुरू हुँदै छ ।

आजको युग सूचना तथा सञ्चार प्रविधिको हो । संसारका ठूला उद्योगहरूको स्थान आज सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित उद्योगले कब्जा गरिसकेका छन् । यस्तो उद्योग संसारभर विस्तार हुँदै गएको छ । सूचना तथा सञ्चार प्रविधिमा पनि सफ्टवेयर निर्माण, विक्री र सेवा एउटा ठूलो उद्योगका रूपमा संसारभर स्थापित भइसकेको छ । संसारका ठूला र सम्पन्न राष्ट्रहरूबीच सफ्टवेयर उत्पादन गर्ने होड नै चलेको छ भन्दा फरक पर्दैन । यो होडमा नेपाल धेरै पछाडि भए पनि यहाँ यसको अभ्यास भने शुरू भइसकेको छ । यस्ता जानकारी प्राप्त गर्न क्यान सफ्टेक महत्वपूर्ण मञ्च हुन सक्छ ।

सफ्टवेयर, सर्भिसेज र सोलुशनका क्षेत्रमा भइरहेको काम, त्यसबाट हासिल भइरहेको उपलब्धिका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले विगत ५ वर्षदेखि सफ्टेकको आयोजना गर्दै आएको क्यानका अध्यक्ष सुरेशकुमार कर्णले बताए । संसारभरका प्रमुख सफ्टवेयर उद्योगमा भइरहेका नयाँ आविष्कार, यस क्षेत्रले हासिल गरेका उपलब्धि, यस क्षेत्रमा हामी कुन अवस्थामा छौं र के गरिरहेका छौं भनेर जानकारी दिने एउटा भरपर्दो ‘प्लेटफर्म’ सफ्टेक रहेको अध्यक्ष कर्णले बताए । लगानीविना कुनै पनि क्षेत्रको विकास सम्भव छैन । त्यसैले, यसपटकको क्यान सफ्टेक लगानीकर्तालाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ठूला व्यापारिक घरानाहरूको अत्यन्त कम लगानी रहेको क्यानका केन्द्रीय सदस्य एवम् नेक्ष्ट टेक्नोलोजी प्रालिका प्रमुख विश्वराज बलामीले बताए । उनले भने, ‘यसपटकको मेलाको आयोजनाद्वारा उनीहरूलाई यस क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिनेछ ।’

सफ्टवेयर निर्माता कम्पनी इन्फोडेभलपर्स प्रालिको मुख्य प्रायोजन रहेको पाँचौं सफ्टेकको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान सफ्टेक २०१२’ रहेको छ । क्यान सफ्टेकका अघिल्ला संस्करणहरू विशेषगरी सफ्टवेयरमा बढी केन्द्रित हुने गरेका थिए । तर, यसपटक क्यानले सफ्टवेयर सँगसँगै सर्भिसेज र सोलुशन पनि एकैसाथ ल्याएको छ । सफ्टवेयर, यससँग सम्बन्धित सर्भिसेज (सेवा) र सोलुशनबीच अन्तरसम्बन्ध हुने कारणले यी तीनै पक्षलाई एकसाथ अगाडि ल्याइएको कर्णले बताए ।

त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेण्टरको कन्भेन्सन सेण्टरमा आयोजना हुने सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चारदिने मेलामा सफ्टवेयर निर्माण र सेवासम्बन्धी ३५ स्वदेशी कम्पनीका ५१ ऋोटा स्टल रहने क्यानले जानकारी दिएको छ । यसमा सफ्टवेयर निर्माणअन्तर्गत शिक्षा, कम्प्युटर सुरक्षा, बैङ्किङ, सूचना तथा लेखा व्यवस्थापनसम्बन्धी स्टल रहने क्यानले बताएको छ । त्यस्तै सेवा क्षेत्रअन्तर्गत टेलिकम सेवा, इण्टरनेट सेवा, सोलुशनका क्षेत्रमा सेक्युरिटी सोलुशन तथा वायरलेस सोलुशनसम्बन्धी स्टल रहनेछन् ।

यसपटकको सफ्टेकलाई सफ्टवेयर प्याभिलियन र आईसीटी प्याभिलियन गरी दुई भागमा विभाजित गरिएको छ । सफ्टवेयर प्याभिलियनमा सफ्टवेयर निर्माण तथा विक्री, एण्टिभाइरस, ई–गभर्नेन्स, एक्सेस कण्ट्रोल, बीपीओ, क्लाउड कम्प्युटिङसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहनेछ । त्यस्तै, आईसीटी प्याभिलियनमा नेटवर्किङ, मोबाइल, सेक्युरिटी, इण्टरनेट, टेलिकम, ब्रोडब्याण्ड, केबल, वायरलेस तथा बैङ्किङ सोलुशनसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहनेछ ।

सफ्टेकमा विभिन्न कम्पनीले उत्पादन गरेका नयाँनयाँ सफ्टवेयरसमेत प्रदर्शन गरिनेछ । क्यान सफ्टेकको मुख्य प्रायोजक इन्फोडेभलपर्स प्रालिले यहाँका साना र निम्नमध्यम वर्गका बिजनेश हाउसलाई लक्षित गरेर ‘आई–प्याकेज’ नामक अफिस सफ्टवेयर सार्वजनिक गर्दै छ । गोल्छा अर्गनाइजेशनअन्तर्गतको आईटी नेपालले सफ्टेकमा ‘ट्याली सफ्टवेयर’ प्रदर्शन गर्दै छ । नेपाल सरकारका विभिन्न निकायले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधि पनि क्यान सफ्टेकमा प्रदर्शन गरिने कार्यक्रम छ ।

मेलाको पहिलो दिन सफ्टवेयर स्वतन्त्रता दिवसको अवसर पारेर फ्री–ओपन सोर्स सफ्टवेयर (एफओएसएस) नेपालले ‘भाइसर फ्री कम्प्युटिङ’ विषयमा सेमिनारको आयोजना गर्ने क्यानका महासचिव नारायण न्यौपानेले जानकारी दिए । दोस्रो दिन क्यानले ‘क्रिएटिङ अपच्र्युनिटी एन आईसीटी’ विषयक सेमिनारको आयोजना गर्ने उनले बताए । त्यस्तै, तेस्रो दिन मुख्य प्रायोजक इन्फोडेभलपर्सले माइक्रो–फाइनान्ससम्बन्धी सेमिनारको आयोजना गर्ने जानकारीसमेत उनले दिए । त्यस्तै स्वदेशमै मोबाइल एप्लिकेशन निर्माण गरिरहेका कम्पनीले मेला अवधिभर हरेक दिन एकएक घण्टा प्रचारात्मक कार्यक्रमको आयोजना गर्ने क्यान अध्यक्ष कर्णले बताए ।

नेपालमै तयार पारिएका विभिन्न किसिमका सफ्टवेयर, एण्टिभाइरस, इण्टरनेट तथा इण्टरनेट सेवा, वेबपेज डिजाइनिङ, सफ्टवेयर ट्रेनिङ, एनिमेशनलगायत सेवासहित विभिन्न कम्पनीहरू क्यान सफ्टेकमा सहभागी हुँदै छन् । यसपटकको संस्करणमा नेपाल केबल टेलिभिजन फेडेरेशनको पनि स्टल रहनेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) साइबर अपराधविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ क्यान सफ्टेकमा सहभागी हुँदै छ । करीब ५० हजार अवलोकनकर्ताले क्यान सफ्टेक २०१२ अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।