नारायणप्रसाद घिमिरे
वित्तीय विश्लेषक, नागरिक लगानी कोष
असोज १४ गतेदेखि इन्टरनेसनल डेभलपमेन्ट बैङ्कको रू. १९ करोड २० लाखबराबरको प्राथमिक शेयर निष्कासन खुला गर्ने तयारी गरेका छौं । यसका लागि नागरिक लगानी कोष र एनसीएम मर्चेण्ट बैङ्किङ लि दुवैले विक्री प्रबन्धक तथा शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारी पाएका छौं । कुल निष्कासनको ५० प्रतिशत रकम (रू. ९ करोड ६० लाख) बराबरको शेयर प्रत्याभूत (अण्डरराइटिङ) गर्नुपर्ने नियमअनुसार रू. १ करोड ६० लाखको एनसीएमले र बाँकी रू. ८ करोडको हामी (नागरिक लगानी कोष)ले प्रत्याभूति गरेका छौं ।
विक्री प्रबन्धक तथा शेयर प्रत्याभूतिकर्ताका लागि सम्झौता गर्नुअघि बैङ्कको वित्तीय अवस्थाको अध्ययन गरेका थियौं । आव २०६८/६९ को अन्त्यमा रू. ४४ करोड ८० लाख चुक्ता पूँजी रहेको यो बैङ्कको खुद मुनाफा रू. ५ करोड छ । अहिले धेरै चुक्ता पूँजी हुने वाणिज्य बैङ्कहरूको मुनाफा पनि रू. ४/५ करोडको हाराहारीमै देखिन्छ । त्यसका आधारमा यो बैङ्कको मुनाफालाई राम्रो मान्नुपर्छ । गत आवको अन्त्यमा बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचक तथा अन्य आधारभूत पक्ष सकारात्मक नै देखिएका छन् ।
बैङ्कको वर्तमान वित्तीय अवस्था हेर्दा विगतका वर्षहरूको नाफाबाटै बैङ्कले १० देखि १२ प्रतिशतसम्म नगद लाभांश दिन सक्ने देखिन्छ । अहिले बैङ्कहरूले निक्षेपमा ब्याजदर घटाउँदै गएको अवस्था छ । यो अवस्थामा उचित प्रतिफल प्राप्त गर्न यो बैङ्कको शेयर किन्नु उपयुक्त देखिन्छ । प्राथमिक निष्कासनपछि नेप्सेमा सूचीकरण हुँदा यो बैङ्कको प्रतिशेयर मूल्य रू. १ सय २५ देखि १ सय ३० सम्म कायम हुने देखिन्छ ।
शेयर विक्रीका लागि काठमाडौं उपत्यकाभित्र तथा बाहिरका समेत विभिन्न जिल्लाहरूमा अन्तरक्रिया कार्यक्रम (प्रचारप्रसार) सञ्चालन गरिसकेका छौं । सो क्रममा उपत्यकाबाहिरका धेरै लगानीकर्ताले शेयर खरीद गर्ने इच्छा देखाएको पाएका छौं । तीमध्ये पनि धरान, विराटनगर, पोखरा, बुटवल र वालिङजस्ता ठाउँमा धेरै शेयर किन्ने प्रतिबद्धता पाएका छौं । लगानीकर्ताको सुविधाका लागि पाँचै विकासक्षेत्रमा ५८ ओटा आवेदन सङ्कलन केन्द्र स्थापना गरेका छौं ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।