सुर्खेतमा स्वास्थ्य बीमा कार्यक्रम शुरू

Share News
वीरेन्द्रनगर । सुर्खेतमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ (ज)अन्तर्गत नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउने उद्देश्यले जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको हो । सामाजिक सुरक्षा विकास समितिले वीरेन्द्रनगरमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य बीमाको सदस्यता दर्ता आरम्भ गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले पहिलो स्वास्थ्य बीमा गराएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख मोहनप्रसाद देवकोटाले ४ सय स्वास्थ्यकर्मीलाई बीमासम्बन्धी तालीम दिएर जिल्लाका सबै स्थानीय तहमा पठाइसकिएको जानकारी दिए । जिल्लाका ९९ ओटा वडामा यस कार्यक्रमको सदस्यता भर्न मिल्न व्यवस्था गरिएको छ । देशभरका १५ जिल्लामा यसअघि नै सञ्चालन भइसकेको स्वास्थ्य बीमा कार्यक्रम सुर्खेतसहित ६ जिल्लामा भने यही असोजबाट शुरू गरएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख सुवेदीले नगरवासी सबैलाई स्वास्थ्य बीमा कार्यक्रमबाट लाभ लिन आग्रह गरे । ‘सामान्य उत्सव मनाउँदा एक रातमै ३ हजारभन्दा बढी खर्च गर्छौं,’ उनले भने, ‘अब २ हजार ५ सय तिरेर परिवार आफ्नो स्वास्थ्य सुरक्षा गर्नुहोस् ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको स्वास्थ्य बीमा जिल्लाभर प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । स्वास्थ्य बीमाको सदस्यता लिइसकेपछि पाँचजनाको परीवारले ५० हजारसम्मको सेवा प्राप्त गर्न सक्नेछन् । जिल्लामा यो सुविधा पाइने स्वास्थ्यसंस्था सुर्खेतको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मेहकुना अस्पताल, अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्र, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र र सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । यी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए क्षेत्रीय अस्पतालबाट यो सेवा लिन पाउनेछ ।स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, साधारण चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखीम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इञ्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।