नेपालबाट पर्यटकका रूपमा विदेश भ्रमण (आउट बाउण्ड टुर)का लागि जानेहरूको सङ्ख्या वर्षेनि बढ्दै गएको छ । सन् २०११ मा ३२ हजार नेपाली विदेश भ्रमणका लागि विभिन्न देश पुगे । गतवर्ष सन् २०१० को तुलनामा करीब १२ हजार बढी नेपाली पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार गतवर्ष नेपालबाट पर्यटककै रूपमा बाहिरिनेमा २० हजार २ सय ४२ पुरुष छन् भने ११ हजार ८ सय २१ जना महिला रहेका छन् । नेपालबाट विभिन्न प्रयोजनका लागि विदेश भ्रमणमा जाने नेपालीको सङ्ख्या सन् २०११ मा ७ लाख ७४ हजार रहेकोमा त्यसको ४ प्रतिशत मात्र केवल घुम्न मात्र गएको मन्त्रालयले जानकारी दिएको छ ।
व्यवसायीले आकर्षक प्याकेज ल्याएका र नेपालमा विदेशी वायुसेवा कम्पनीको उडान बढ्दै गएकाले पनि नेपालबाट बाहिर घुम्न जानेको सङ्ख्या वर्षेनि बढ्न थालेको मार्कापोलो ट्राभलका अपरेशन निर्देशक दीपक तुलाधरले बताए । नेपालीको विदेश घुम्ने रुचिका कारण आउट बाउण्ड टुर गर्नेको सङ्ख्या बढेको हुन सक्ने उनको अनुमान छ । नेपालबाट टुर प्याकेज लिएर जानेमा सबैभन्दा बढी थाइल्याण्ड, सिङ्गापुर र मलेसिया छन् । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई), टर्की, इजिप्ट, स्वीट्जरल्याण्ड, इटाली, अष्ट्रेलिया, जर्मनीलगायत गन्तव्यमा पनि टुर प्याकेज लिएरै ट्राभल व्यवसायीले घुम्न पठाउने गरेका छन् । नेपालमा करीब एक दर्जन ट्राभल एजेन्सीले आउट बाउण्ड टुर गराउँदै आएका छन् । ती कम्पनीहरूले आकर्षक प्याकेजका साथमा सहजै सेवा उपलब्ध गराउन थालेकाले पनि आउट बाउण्डप्रतिको नेपाली आकर्षण बढेको सम्बन्धित व्यवसायीहरू बताउँछन् ।
नेपालमा बढ्दै गएको विदेशी वायुसेवा कम्पनीको सङ्ख्या र तिनले दिने प्याकेजका कारण पनि आगामी वर्ष यो सङ्ख्या करीब ४० हजार पुग्न सक्ने व्यवसायीको अनुमान छ । विगत ३ वर्षदेखि आउट बाउण्डको प्याकेज शुरू गरेको मल्ल ट्राभल्सले नेपालीको आकर्षण बढेकै कारण चालू आवमा पनि यस्तो सेवालाई निरन्तरता दिएको सो ट्राभलका आउट बाउण्ड एक्जुकेटिभ नीली शाहले जानकारी दिएकी छन् । मल्लले दुबई, इजिप्ट, मलेसिया, मौरिसस, थाइल्याण्ड, चीन, टर्कीका लागि कम्तीमा तीन रात चार दिनदेखि सात रात आठ दिनसम्मको प्याकेज सञ्चालन गरिरहेको छ ।
विगत १० वर्षदेखि आउट बाउण्ड टुर्सका कार्यक्रम सञ्चालन गर्दै आएको प्रेसिडेण्ट ट्राभलले करीब २२ ओटा देशका लागि यस्तो प्याकेज सञ्चालन गरेको छ । यसले हालै मात्र थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, टर्की, चीन, हङकङ, मौरिसस र उज्वेकिस्तानसहतिका मुलुकका लागि प्याकेज बनाएको प्रेसिडेण्ट ट्राभलका टुर म्यानेजर सत्य कार्कीले जानकारी दिए ।
वल्र्डवाइड होलिडे ट्राभलले पनि हालै मात्र सिङ्गापुर मलेसिया, थाइल्याण्ड, अमेरिकाको प्याकेज तयार पारेको छ । यसले तीन रात चार दिनदेखि १० दिन ११ रातसम्मको प्याकेज ल्याएको वल्र्डवाइका सञ्चालक विजय घिमिरेले बताए । आउट बाउण्डको चार रात पाँच दिनको थाइल्याण्ड टुर प्याकेजका लागि जेट्स होलिडेले रू. ४६ हजार ९ सय ९९ निर्धारण गरेको छ । यसले मलेसिया र सिङ्गापुरका लागि रू. ९१ हजार ९ सय ९९ को प्याकेज उपलब्ध गराउने पनि यसका प्रबन्ध निर्देशक मिहिका धाख्वाले बताइन् । जेट्स होलिडेले मलेसिया र सिङ्गापुर भ्रमणका लागि तीन रात चार दिन र सात रात आठ दिनको प्याकेज बनाएको छ ।
यसैगरी चीनका विभिन्न गन्तव्यका लागि ९ दिन १० रातको प्याकेजका लागि रू. १ लाख ३५ हजारमा स्काई डिल्सले आउट बाउण्डको पर्यटकीय प्याकेज ल्याएको छ । यसले ३३औं विश्व पर्यटन दिवसको अवसर पारेर नेपालीलाई चीनको बेइजिङ, साङ्घाई, ग्वाञ्जाओ र कुन्मिङ घुमाउने प्याकेज बनाएको स्काई डिल्सका बजार निर्देशक विश्वास वज्राचार्यले बताए । नेपाली व्यवासयीले चीनबाट व्यावसायिक लाभका बारेमा जानकारी लिनका लागि उक्त गन्तव्यमा प्याकेज चाहेको वज्राचार्यको भनाइ छ । आउट बाउण्ड टुर सञ्चालन गर्दै आएको अर्को कम्पनी क्लब होलिडेज टुर्सले सन् २०१३ देखि नेपालीलाई दक्षिण अफ्रिका घुमाउने भएको छ ।
नेपालबाट आउट बाउण्डमा जाने नेपालीमा करीब ५० प्रतिशतले बैङ्कक रुचाउने गरेको पनि सम्बद्ध व्यवसायीहरूको भनाइ छ । नेपालबाट प्याकेजमा घुमाउने प्रायः सबै ट्राभल एजेन्सीले हवाई टिकट, बसोबास, चारतारे स्तरका होटलमा खाने–बस्नेलगायतका सुविधा समावेश गर्ने गरेका छन् । नेपालमा विदेशी एयरलाइन्सले सस्तो उडान गर्नु र विदेशी होटलमा सहजता हुनुले पनि वर्षेनि नेपालीको आकर्षण बढ्दै गएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।