फर्नेक्स एक्स्पो–२०१२ : स्वदेशी फर्निचर उद्योगको प्रवद्र्धन आवश्यक छ

Share News

कृष्णलाल प्रधान
अध्यक्ष, नेपाल फर्निचर एण्ड फर्निसिङ एशोसिएशन


हाम्रा पौराणिक र मौलिक कलाकृतियुक्त फर्निचरहरू नेपालमा मात्र होइन, सारा संसारभर प्रसिद्ध थिए । आज विभिन्न कारणले यस्ता फर्निचर उद्योग अगाडि बढ्न सकेका छैनन् । पहिले पहिले मौलिक कलाकृतियुक्त फर्निचरहरू यहीँ उत्पादन हुन्थे, त्यसलाई यही उपयोग गरेर मानिसले आफ्नो गुजारा चलाइरहेका हुन्थे । तर, बदलिँदो समय र परिस्थितिअनुसार मानिसको रहनसहन र जीवनशैली बदलिँदै गएको छ । यो परिवर्तनसँगै मानिसका चाहनाहरू प्नि बदलिएका छन् । यही बदलिँदो वातावरणमा मानिसहरू आफ्नो मौलिक उत्पादनभन्दा बाहिरबाट आयातित वस्तुहरूमा आकर्षित हुन पुगे ।

फर्निचर उद्योगको प्रवद्र्धन गर्न नसकेका कारण एकातिर दक्ष कामदार विदेशिन बाध्य भए भने अर्कातिर हामी आफैले फर्निचरको परिपूर्ति गर्न सकेनौं । त्यसैले हामीले आफ्नो उत्पादनभन्दा अन्य देशबाट आयात गरेका फर्निचर प्रयोग गर्नुपर्ने बाध्यता भयो । यस्तो अवस्थामा यो उद्योगलाई राज्य तहबाट पनि कुनै प्रोत्साहन र संरक्षण भएन । उद्योग सञ्चालन गर्ने एउटा स्पष्ट र प्रभावकारी नीतिको सरकारले व्यवस्था गरिदिएन । स्वदेशी उद्योगहरूलाई कुनै किसिमका सहुलियतहरू प्रदान गरिएन । यिनै कारणले व्यवसायी र कामदारहरू कामको अभावमा विदेश पलायन हुन बाध्य भए । हामीले देखेका छौं, हरेक क्षेत्रका मानिसहरू विदेशमा कठिन भन्दा कठिन काम गरेर आफ्नो र परिवारको जीवन पाल्न बाध्य छन् । रेमिट्यान्स नै देश चलाउने एउटा साधन बन्न पुगेको छ । यो स्थिति लामो समयसम्म रहिरहनु ठीक होइन । यसले राष्ट्रलाई उन्नति र प्रगतितर्फ डोर्‍याउन सक्दैन । र, यसले नागरिकको आर्थिक स्थिति सुदृढ गर्ने स्थितिको सृजना पनि गर्दैन ।

यिनै कुरालाई ध्यानमा राखेर नेपाल फर्निचर तथा फर्निसिङ एशोसिएशनले नेपालमै पहिलोपटक फर्निचर र फर्निसिङसम्बन्धी एक्स्पोको गर्न लागेको हो । यो एक्स्पोको मुख्य उद्देश्य आफ्नो उत्पादन विक्री गर्ने मात्र होइन, नेपालमा के–कस्ता फर्निचरहरू उत्पादन हुँदा रहेछन् त्यसको जानकारी गराउने पनि हो । व्यवसायीहरूले कस्ता कठिनाइ र समस्याहरूको सामना गरिरहेका छन्, त्यसलाई बाहिर ल्याउन पनि यसले सहयोग गर्छ । फर्निचर निर्माणसम्बन्धी शीप र प्रविधिका बारेमा प्रचार गर्नु पनि यसको उद्देश्य हो भने नयाँ र आधुनिक प्रविधिहरूलाई नेपालमा भित्र्याउनु पनि एक्स्पोको उद्देश्य हो ।

फर्निचर भनेपछि काठका, स्टीलका, बाँसका र बेतका सामग्री पर्दछन् । फर्निसिङमा कार्पेट तथा अन्य बिच्छ्याउने कुराहरू पर्दछन् । असोज ११ देखि १५ गतेसम्म राजधानीमा आयोजना हुने एक्स्पोमा हामीले फर्निचर र फर्निसिङसँग सम्बन्धित व्यवसायी, उत्पादक, विक्रेता, क्रेता र सम्बन्धित अन्य सबै पक्षलाई एकै ठाउँमा भेला गराएर प्रत्यक्ष भेटघाट गराउने जमर्को गरेका छौं । राज्यपक्षले पनि सङ्कटमा परेको फर्निचर उद्योगका लागि केही गरोस् भन्ने हाम्रो चाहना हो । फर्निचर उद्योगले पनि देश विकासमा योगदान पुर्‍याउन सकोस् भन्न उद्देश्यले यो एक्स्पोको आयोजना गर्न लागिएको हो ।

एक्स्पोमा सहभागी उत्पादक वा व्यवसायी कसैले पनि विक्रीमा मात्र ध्यान दिनुहुने छैन । जुन उद्देश्यका लागि यो आयोजना हुन लागेको हो, त्यसलाई पूरा गर्न उहाँहरूले सहयोग गर्नुहुनेछ । र, फर्निचरमा नेपाललाई आत्मनिर्भर बनाउन आफ्ना तर्फबाट सक्दो योगदान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।