तनहुँ विशेष : पर्यटन, कृषि र उद्योगमा तनहुँको सम्भावना

Share News

पृथ्वी राजमार्गको ७२ किलोमिटर भूभाग ओगटेको तनहुँलाई आर्थिक विकासको प्रशस्त सम्भावना भएको जिल्लाका रूपमा लिन सकिन्छ । जिल्लामा उद्योग–व्यवसायको विकास गर्न सकिने प्रशस्त सम्भावना भएर पनि यसको उपयोग गर्न नसकिएको जिल्लाको विकासलाई नियालिरहेकाहरू बताउँछन् । कम राजनीतिक प्रभाव र सडक, विद्युत्, जमीनको उपलब्धताका कारण यस क्षेत्रमा अन्यत्रका उद्योगधन्दासमेत स्थानान्तरण भएर आउन सक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शान्तिरमण वाग्लेको तर्क छ । कृषि, पर्यटन र जलस्रोत यस्ता क्षेत्र हुन्, जसलाई सही ढङ्गबाट परिचालन गर्न सकिए जिल्लाको समग्र आर्थिक विकासले गति लिन सक्छ । तर, सम्भावनाअनुरूप स्रोत परिचालनमा भने जिल्ला पछि परेको छ ।

तनहुँको अधिकांश भूभाग कृषिका दृष्टिले उपयोगी छ । जिल्लाको ठूलो क्षेत्रफलमा राजमार्गको पहुँच छ भने शाखा सडकले पनि धेरै भागलाई छोएका छन् । जिल्लाका साँगे, पुर्कोट, अत्रौली, रिसिङ रानीपोखरीलगायत ठूला समथर भूमि कृषिका दृष्टिले निकै उर्वर मानिन्छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले पनि खाद्यान्नलगायत केही बालीमा तनहुँ आत्मनिर्भर देखाएको छ । कृषिमा जिल्लाले बढी लगानी र ध्यान केन्द्रित गर्ने हो भने अहिलेको तुलनामा खाद्यान्न र अन्य कृषिजन्य उत्पादन प्रशस्तै बढाउन सकिने कृषि विकास कार्यालयका निमित्त प्रमुख डोलकृष्ण सुवेदी बताउँछन् । उद्योग वाणिज्य सङ्घसम्बद्ध व्यवसायी पनि जिल्लाको कृषिक्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्छन् । तर, विदेशबाट फर्किएका केही युवाहरूले छिटपुट रूपमा थालेको व्यावसायिक कृषिबाहेक समग्र जिल्लाले यसबाट खासै फाइदा लिन सकेको छैन ।

तनहुँको याम्पा, बरादी, सत्रसयलगायत स्थानका कृषकले थालेको व्यावसायिक तरकारी खेतीले पनि गति लिन सकेको छैन । तर, पशुपालन, विशेषगरी दूधमा आधारित पशुपालनबाट भने जिल्लाले राम्रो आम्दानी लिन थालेको छ । तनहुँ जिल्लाका कृषकहरूले सहकारीमार्फत दैनिक १३ हजार लिटर दूध जिल्लाभित्र तथा बाहिर लगेर विक्री गर्ने गरेका छन् । यसबाहेक पनि विभिन्न स्थानमा केही युवा व्यवसायीले गाईपालनबाट सीधै पोखराका ठूला डेरीहरूको दूधको माग आपूर्ति गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि पशुपालनमा संलग्न भएकाले जिल्लाले पशुपालनमा केही प्रगति गर्न सक्ने अनुमान लगाउँछन् जिल्ला पशुसेवा कार्यालय तनहुँका प्रमुख बाबुराम जमरकट्टेल । जिल्लामा दुग्ध व्यवसायलाई व्यावसायिक बनाउन बेलायती सहयोग नियोगसँग समन्वय गरेर गैरसरकारी संस्था समन्वय समितिले सञ्चालन गरेको डेरी मासाफ परियोजनाले पनि यसमा केही हदसम्म सघाएको संस्थाका अध्यक्ष प्रतापसिंह गुरुङ बताउँछन् ।

कृषिपछि जिल्लाको सबैभन्दा धेरै सम्भावना बोकेको क्षेत्रका रूपमा पर्यटनलाई लिन सकिन्छ । तनहुँ जिल्लाभित्र पर्यटनका दृष्टिले अति नै सम्भावना बोकेका पर्यटकीय स्थल भए पनि तिनको पर्याप्त प्रचार नहुँदा जिल्लाले आशातित प्रगति गर्न सकिरहेको छैन । सञ्चारमाध्यमहरूमा प्राकृतिक सुन्दरताका हिसाबले चर्चामा छाउने बन्दीपुर जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूमध्येको एक हो । यहाँ मुख्य सिजनमा दैनिक ७ सय र सामान्य समयमा पनि २ सयसम्मको हाराहारीमा पर्यटक आउने गरेको तथ्याङ्कले देखाएको छ । बन्दीपुरबाट सूर्योदय, सूर्यास्त तथा अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङलगायत हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने भएकाले नै लामो समयदेखि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । यसैगरी बन्दीपुरबाट केही दुरीमा रहेको विमलनगर पनि एशियाकै ठूलो सिद्धगुफा तथा प्राकृतिक रकक्लाइम्बिङका कारण पर्यटन सम्भावना बोकेको ठाउँका रूपमा रहेको छ ।

सेती नदीको जलविहारलाई यहाँको एउटा मुख्य पर्यटकीय गन्तव्यको स्थानका रूपमा लिन सकिन्छ । मन्द गतिको तथा वर्षैभर र्‍याफ्टिङ गर्न सकिने भएकाले यो नदी शिकारु तथा अनुभवी र्‍याफ्टरहरूका लागिसमेत अनुकूल मानिन्छ । वर्षायाममा समेत र्‍याफ्टिङ गर्न सकिने भएकाले यस नदीले वर्षैभर हजारौंको सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेको छ । त्यसैले पनि नेपाली र्‍याफ्टिङ कम्पनी तथा पर्यटकहरूको पहिलो रोजाइमा यो नदी पर्ने गरेको छ । धार्मिक पर्यटनका दृष्टिले सम्भावना बोकेका देवघाट, छाब्दी वाराही, ढोर वाराही, छिम्केश्वरी, थानीको थानलगायत मन्दिरले वर्षेनि जिल्लामा ठूलो मात्रामा आन्तरिक तथा भारतीय पर्यटक भिœयाइरहेका छन् ।

जिल्लामा उद्योगधन्दाहरू विस्तारै खुल्ने क्रम चलेको भए पनि अहिल्यै त्यसले फड्को मारिहाल्ने सम्भावना कम रहेको उद्योगीहरू बताउँछन् । त्यसकारण पनि तनहुँलाई विशेष प्राथमिकता दिएर पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङको सुझाव छ । जिल्लाका छिम्केश्वरी, हिलेखर्क, वसन्तपुरलगायत पहाडी इलाकाका बासिन्दाले आफ्नै पहलमा होमस्टेको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने अभियान थालेका छन् । यसलाई सहयोग गरेर विशेष प्राथमिकतासाथ पूर्वाधार विकासमा ध्यान दिने हो भने समग्र तनहुँले पर्यटनबाट प्रचुर लाभ लिनेमा दुईमत छैन ।

जिल्लाका केही प्रख्यात पर्यटकीय स्थानले केही लाभ लिइरहेको भए पनि त्योभन्दा धेरै स्थान सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका छन् । प्राकृतिक दृश्यावलोकनका दृष्टिले महाभारत शृङ्खलाको उच्च भागमा रहेको र १६ भन्दा बढी हिमाल देख्न सकिने छिम्केश्वरी, पदयात्राका लागि सम्भावना भएको रिसिङलगायत धेरै स्थानको पूर्वाधार विकास र प्रवद्र्धनमा ध्यान दिने हो भने जिल्लालै छिट्टै नै पर्यटनबाट अपेक्षाकृत फाइदा लिन सक्ने सम्भावना छ । तर, सरकार र स्थानीय निकायको ध्यान त्यसतर्फ जान सकेको देखिँदैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।