बन्दीपुर विशेष : पर्यटकीय गन्तव्य बन्दीपुर

Share News

केही दिनको बसाइमा सूर्योदय, सूर्यास्तदेखि प्याराग्लाइडिङ अनि र्‍याफ्टिङको मज्जा लिन चाहनेका लागि उपयुक्त गन्तव्य हो, बन्दीपुर । समुद्री सतहबाट १ हजार ३० मिटरको उचाइमा रहेको यस पहाडी इलाकामा आउने पर्यटकले आफ्नो फुर्सदअनुसार दुईदेखि पाँच दिनको अवधिमा पर्यटनका विभिन्न प्रकारको आनन्द लिन सक्छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, मनास्लु, धौलागिरिलगायतका हिमशृङ्खला देख्न सकिन्छ भने बिहानको सूर्यादय र साँझको सूर्यास्तको आनन्द लिन धेरै कष्ट बेहोर्नुपर्दैन । नेवार संस्कृतिको बाहुल्य रहेको बन्दीपुर मा १९औं शताब्दीमा भक्तपुरका नेवारहरूले निर्माण गरेका ऐतिहासिक भवनहरू अझै पनि देख्न सकिन्छ ।

बन्दीपुरका प्रमुख आकर्षण

सिद्धगुफा

बन्दीपुर बजारबाट करीब आधा घण्टाको पैदलयात्रापछि दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफा अवलोकन गर्न सकिन्छ । निकै फराकिलो यस गुफाभित्र बेलाबेला साहसिक खेल पनि आयोजना गरिन्छ । एकैपटकमा डेढ सय जनासम्म अटाउन सक्ने क्षमता राख्ने गुफाभित्र विभिन्न देवीदेवताका आकृति प्रस्ट रूपमा देख्न सकिन्छ । यहाँबाट केही मिनेटको दुरीमा रहेको मस्र्याङ्दी नदीमा र्‍याफ्टिङको व्यवस्था गरिएको छ ।

प्याराग्लाइडिङ
विभिन्न हिमशृङ्खला र सुन्दर प्राकृतिक दृश्यको आनन्द लिनका लागि यसै वर्षबाट बन्दीपुरमा प्याराग्लाइडिङ शुरू गरिएको छ । दैनिक रूपमा सञ्चालन हुने प्याराग्लाइडिङ गर्न चाहने स्वदेशीका लागि रू. ५ हजार र विदेशीका लागि १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । पोखराको ब्लु स्काई प्याराग्लाइडिङले शुरू गरेको प्याराग्लाइडिङको अवधि एक घण्टाको हुन्छ । धेरै विदेशी तथा स्वदेशीले यसको आनन्द लिने गरेका छन् ।

रक क्लाइम्बिङ
विमलनगरस्थित पृथ्वी राजमार्गनजिकै रहेको प्राकृतिक चट्टाने पहरोमा रक क्लाइम्बिङको सुविधा छ । हालसम्म कुनै पनि सेवाशुल्क नलिइएको यस पहरोको आरोहण गर्न चाहनेका लागि सिद्धगुफा व्यवस्थापन समितिले सहयोग गर्ने गरेको छ । आफै आवश्यक साधन नहुनेका लागि साधनको भाडा मात्र लिएर रक क्लाइम्बिङको सुविधा प्रदान गर्ने गरिएको छ ।

क्यान्योनिङ
विमलनगरस्थित सिद्धगुफानजिकै रहेको प्राकृतिक झरनामा साहसिक क्यान्योनिङ खेल खेल्ने प्रबन्ध गरिएको छ । गतवर्षबाट शुरू भएको यो खेलमा सहभागी हुन चाहनेले कुनै पनि शुल्क तिर्नुपर्दैन ।

होमस्टे
बन्दीपुरबासीले त्यहाँकै प्रकृति र संस्कृतिमा रमाउन चाहनेका लागि होमस्टे शुरुआत गरेका छन् । चण्डीदेवी पीपलथोक होमस्टे परिवारमा करीब २० घर आबद्ध छन् । यहाँ आवासका लागि एउटा कोठाको रू. ३ सय र सादा खानाको रू. १ सय शुल्क तोकिएको छ । नेवार तथा मगर समुदायको परम्परागत खाना र ठूलो समूह भए सांस्कृतिक गतिविधिमा समेत सामेल हुन सकिन्छ।

रामकोट
बन्दीपुर बजारबाट केही घण्टाको पैदल यात्रामा पुग्न सकिने मगर समुदायको बसोबास भएको रामकोट घुम्नलायक स्थान हो । मगर सांस्कृतिक खाना र कौराहा, झ्याउरे, लोकदोहोरी संस्कृतिमा रम्न चाहनेका लागि रामकोट भ्रमण अविस्मरणीय हुन सक्छ ।

पदयात्रा
कम कष्टकर छोटो पदयात्रा गर्न चाहनेका लागि बन्दीपुर उपयुक्त गन्तव्यस्थल हो । यहाँबाट समयको उपलब्धताका आधारमा दुई दिनसम्मको पदयात्रा गर्न सकिन्छ । छोटो पदयात्रा गर्न चाहनेले सिद्धगुफा, रामकोट, रानीवनलगायतका स्थान जान सक्नेछन् भने लामो दुरीको यात्रा गर्न चाहनेका लागि स्थानीय होटल सेवाप्रदायकले छिम्केश्वरी, हिलेखर्क, केशवटार, दमौलीसम्मको पदयात्राको प्रबन्ध गरेका छन् ।

यातायातको पहुँच
तनहुँस्थित पृथ्वी राजमार्गको डुम्रेबजारबाट आठ किलोमिटरको दुरीमा रहेको बन्दीपुर जान जीप, ट्याक्सी उपलब्ध छन् भने ठूलो समूह भएमा बस लिएर आउन सकिन्छ । पदयात्रा गर्न चाहनेले करीब दुई घण्टाको मनमोहक उकालो यात्रा गरी बन्दीपुर पुग्न सक्नेछन् । पिच गरिएको सडक भएका कारण वर्षायाम र हिउँदमा पैदल र सडकयात्रा गर्नका लागि यात्रुले सास्ती बेहोर्नुपर्दैन ।

समयावधि
विभिन्न ट्राभल एजेन्सीहरूले पर्यटकको माग र चाहनालाई ख्याल गरी थोरैमा एक रात दुई दिनदेखि तीन/चार रातसम्मको प्याकेज निर्माण गरी भ्रमण गराउने गरेका छन् । बन्दीपुरको सूर्योदय र दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफा भ्रमण गर्नका लागि एक दिनको समय पर्याप्त छ भने प्याराग्लाइडिङ, रामकोट भ्रमणसँगै सूर्योदय र सूर्यास्तको अनुभव लिनका लागि दुई रात छुट्ट्याउनुपर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।