काठमाडौं । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ पहिलोपटक आफै नाप्ने भएको छ । उक्त कामका लागि सम्पूर्ण प्रारम्भिक तयारी पूरा भएको नापी विभागले बताएको छ । विभागका अनुसार उचाइ मापनलाई विश्वसनीय बनाउन उत्तरतर्फसमेत जीपीएस र ग्राभिटी सर्वेक्षणका लागि चीन सरकारसँग अनुरोध गरिनेछ ।
उक्त कार्यका लागि २५ करोड रुपैयाँभन्दा बढी खर्च हुनसक्ने विभागका निर्देशक तथा सूचना अधिकारी अनिल मरासिनीले जानकारी दिए । तर, सो कामका लागि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा रू. २ करोडमात्र बजेट विनियोजन गरेको छ ।
गत साता काठमाडौंमा सम्पन्न सगरमाथाको उचाइसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीबाट प्राप्त तथ्याङ्क, सुझाव र सल्लाहका आधारमा सगरमाथाको उचाइ आफैले मापन गर्ने निर्णय गरेको मरासिनीले बताए । केही दिनअघि काठमाडौंमा सम्पन्न अन्तरराष्ट्रिय गोष्ठीमा जापान, अमेरिका, स्वीडेन, स्वीट्जरल्याण्ड, भारत, चीन, इटलीलगायत देशका विज्ञहरूको सहभागिता थियो ।
सगरमाथाको उचाइ मापन गर्न तयार पारेको कार्यविधिलाई अन्तिम रूप दिएर अन्तरराष्ट्रिय विज्ञहरूको सहयोगमा नेपाली विज्ञ तथा प्राविधिकहरूले नै सगरमाथाको आधिकारिक उचाइ मापन गरिने मरासिनीले बताए । उनले भने, ‘उचाइ मापनका लागि नेपाली विज्ञ तथा प्राविधिक नै संलग्न हुनेछन् । आवश्यक परेमात्र अन्तरराष्ट्रिय विज्ञको परामर्श लिइनेछ । त्यसैले पनि यो पूर्णरूपमा नेपालीले नै गर्ने हो ।’
उचाइ मापनको काममा भारतको समेत सहयोग लिइने र भारतीय सीमाक्षेत्रको कुनै निश्चित स्थानलाई आधार विन्दु बनाएर उचाइ प्रमाणीकरण गरिने विभागको भनाइ छ । उक्त प्रयोजनका लागि भारत सरकारलाई नेपालको सीमासम्म उचाइ मापनका लागि अनुरोध गरिनेछ । भारतीय सीमाबाट नेपालतर्फको मापन कार्यविधि पनि तयार भइसकेको मरासिनीले बताए । उनका अनुसार सिराहा जिल्लाको मिर्चैयासम्म भारतीय नजीकको सीमाबाट उचाइ मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको ताक्सिन्दु, पिके, सोलुङ र छुल्यामुसम्म मापन गरिनेछ ।
त्यसपछि ‘ट्रिगोनोमेट्रिकल लेभलिङ’बाट सगरमाथाको उचाइ मापन गर्ने विभागको योजना छ ।यसरी नापिदैछ सगरमाथा
सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि विभिन्न १२ विन्दु छनोट गरी जीपीएस सर्वे गरिनेछ । यस्तै लेभलिङ गरिएका विन्दु तथा सगरमाथा नजीकका क्षेत्रहरूमा ग्राभिटी सर्वे गरी त्यस क्षेत्रको ‘जिवोड’ निर्धारण गरेपछि सगरमाथामा जीपीएस सर्वेक्षण गरेर उचाइ निर्धारण हुने मरासिनीले बताए ।यो सबै काम सम्पन्न गर्न बढीमा २ वर्षसम्मको समय लाग्नसक्ने नापी विभागको अनुमान छ । मरासिनीले सबै मौसममा सगरमाथाको उचाइ मापन कार्य कठिन हुने भएकाले सिजनमा मात्र काम हुँदा बढी समय लिने बताए । ‘जिवोड’ भनेको समुद्र नभएको स्थानमा उचाइ मापनका लागि तय गरिने आधार विन्दु हो । सो आधार विन्दु नजीकको समुद्रबाट नहरमार्फत पानी ल्याउन सकिने गरी तयार गरिएको काल्पनिक रेखाद्वारा निर्धारण गरिन्छ ।विभागका अनुसार २०७२ वैशाखको भूकम्पपछि सगरमाथाका लेबल लाइन हल्लिएकाले त्यसको निर्धारण र सगरमाथाको चुचुरोमा मेशिन राखेर मापन गर्नुपर्ने हुँदा प्रतिकूल मौसम र नेपालले गरेको उचाइ मापनलाई अन्तरराष्ट्रिय मान्यता दिलाउनु चुनौतीपूर्ण कार्य भएको निर्देशक मरासिनीले बताए । तत्कालीन इष्ट इण्डिया कम्पनीको मातहत रहेको सर्वे अफ इण्डियाले सन् १९४७ मा विश्वकै सर्वोच्च शिखर मापन गरेको थियो । त्यस मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मापन गरिएको थियो । त्यसपछि पनि पाँचओटा छुट्टाछुट्टै सर्वेक्षण भइसकेको छ । यो पटकको मापन नेपालको आधिकारिक मापन हुने उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।