मोबाइलमा पनि दशैं

Share News

नेपालीको महान् पर्व दशैं र तिहारको आगमनसँगै सामान्य पसलदेखि शपिङ मलहरूमा समेत ग्राहकको चहलपहल निकै बढेको छ । सामान्यतया दशैंलाई नेपालीहरूले आफूलाई मन परेका सामग्री खरीद गर्ने समयका रूपमा लिन्छन् । पछिल्लो समय खाद्यान्न र लत्ताकपडासँगै मोबाइलसमेत दशैं किनमेलको अग्रसूचीमा पर्न थालेको छ ।

दशैंतिहारजस्ता पर्व नजिकिँदै गर्दा विक्रेता कम्पनीहरूले पनि यो समयमा ग्राहक आकर्षित गर्न मोबाइल सेटको खरीदमा छूट र उपहारका विभिन्न योजना ल्याउने गरेका छन् । चाडपर्वको समयमा मोबाइलको विक्री दोब्बर हुने गरेको कलर्स र स्पाइस ब्राण्डका मोबाइल विक्री गरिरहेको टेलिटक प्रालिकी बजार व्यवस्थापक गीता न्यौपानेको भनाइ छ । यस्तै अनुभव प्रायः सबै कम्पनीसँग रहेको छ । यसकारण पनि सबैजसो कम्पनीले चाडपर्वको मौसममा नयाँ मोडलका मोबाइल सेट बजारमा भित्र्याउँदै आएका छन् ।

नेपालमा मोबाइल सेवाको शुरुआत २०५६ सालबाट भएको हो । दशक अघिसम्म सीमित मानिसको पहुँचमा रहेको मोबाइल अहिले सबैका लागि आवश्यक वस्तु बनेको छ । यसैले पनि मोबाइलको प्रयोग निरन्तर बढ्दै गएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको भदौ महीनाको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ६४ दशमलव ९१ प्रतिशत मानिस सञ्चारसेवाबाट लाभान्वित भइरहेका छन् । यसमध्ये ५७ दशमलव ६० प्रतिशत मानिसले मोबाइलबाट सञ्चार सेवा लिइरहेका छन् । यस तथ्याङ्कले नेपालमा मोबाइल प्रयोगकर्ता सबैभन्दा बढी रहको देखाउँछ । व्यवसायीहरूले पनि नेपालमा मोबाइलको विक्री हरेक वर्ष १० देखि २० प्रतिशतसम्म वृद्धि हुने गरेको बताउँदै आएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्याङ्कअनुसार नेपालमा मासिक १ लाख ४० हजार थान मोबाइल भित्रिने गरेको छ । त्यस्तै, मूल्यका आधारमा मासिक करीब ४० करोड रुपैयाँबराबरको मोबाइल नेपालमा आयात हुने गरेको इण्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिका कार्यकारी अध्यक्ष दीपक मल्होत्रा बताउँछन् । इण्टरनेशनल मार्केटिङ सर्भिसेजले विगत १२ वर्षदेखि सामसुङ ब्राण्डका मोबाइलको विक्री गरिरहेको छ ।

आधिकारिक बाटो भएर जति मोबाइल आयात हुने गरेका छन्, त्यति नै सङ्ख्यामा गैरकानूनी बाटो भएर पनि भित्रिने गरेको मोबाइल व्यवसायीहरू बताउँछन् । नोकिया ब्राण्डका मोबाइल सेट मात्र दैनिक करीब १० हजार थान अनधिकृत रूपमा नेपाल भित्रिने गरेको पारामाउण्ट इलेक्ट्रिक प्रालिका महाप्रबन्धक प्रियदर्शी रोयको अनुमान छ । साथै, सोही अनुपातमा अन्य ब्राण्डका मोबाइल पनि गैरकानूनी बाटोबाट नेपाल भित्रिने व्यवसायीहरूको अनुमान छ । त्यसैले, समग्रमा नेपाल भित्रिने मोबाइलको कुल मूल्य अझै बढ्ने देखिन्छ ।

दूरसञ्चार कम्पनीको आम्दानी बढ्दो
दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगै नेपालमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या पनि निरन्तर बढिरहेको छ । तर, त्योभन्दा महत्वपूर्ण कुरा दूरसञ्चार कम्पनीको आम्दानीमा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०६८/६९ मा नेपालीहरूले दूरसञ्चार सेवा (मोबाइल, टेलिफोन र इण्टरनेट) लिएबापत उपभोक्ताले ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । यो आव २०६७/६८ को तुलनामा १० अर्ब रुपैयाँले बढी हो । आव २०६७/६८ मा नेपालीले दूरसञ्चार सेवाका लागि रू. ३६ अर्ब खर्च गरेका थिए । उपभोक्ताले खर्च गरेकोमध्ये करीब ८० प्रतिशत मोबाइलको हिस्सा रहेको दूरसञ्चार कम्पनीहरूको भनाइ छ ।

उपभोक्ता सेवा केन्द्र बढाइदै
उपभोक्तालाई सहज सुविधा उपलब्ध गराउन मोबाइल विक्रेता कम्पनीहरूले सेवा केन्द्रहरूको सङ्ख्या बढाउँदै लगेका छन् । यस्ता सेवा केन्द्रहरू मुख्यतया दुई उद्देश्यले खोल्ने गरिएको छ । पहिलो, उपभोक्तामा आफ्नो ब्राण्डप्रति जागरण ल्याउन र दोस्रो विक्रीपछिको सेवा उपलब्ध गराउन ।

सामसुङ ब्राण्डका मोबाइल विक्री गर्दै आएको इण्टरनेशनल मार्केटिङ सर्भिसेजले अहिले ‘सामसुङ स्मार्टफोन क्याफे’ नाममा आउटलेटहरू खोलिरहेको छ । यसको उद्देश्य धेरैभन्दा धेरै ग्राहकलाई आफ्नो उत्पादनबारे जानकारी गराउनु रहेको कम्पनीले जानकारी दिएको छ । उसले नेपालमा २०१३ सम्म ५० ओटा स्मार्टफोन क्याफे सञ्चालनमा ल्याउने योजना बनाएको छ । सन् २०१२ भित्र भने २० ओटा क्याफे सञ्चालनमा ल्याइसक्ने योजना रहेको कार्यकारी अध्यक्ष मल्होत्राले जानकारी दिए । अहिलेसम्म पाँचओटा क्याफे सञ्चालनमा आइसकेको उनले बताए । त्यस्तै, टेलिटकले नेपालभर १७ ओटा सेवा केन्द्र स्थापना गरिसकेको जानकारी दिएको छ । एम–टेक ब्राण्डका मोबाइल विक्री गरिरहेको सिद्धि मोबाइल प्रालिले पनि १४ ओटा सेवा केन्द्र खोलिसकेको विक्री व्यवस्थापक विनायक पोखरेलले बताए । त्यस्तै, ग्याजेट्स नेपालले नेपालभर २९ ओटा सर्भिस सेण्टरमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।