
काठमाडौं । काठमाडौंको चोभारमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि सरकारले जग्गा प्राप्त गरेको छ । हिमाल सिमेण्ट उद्योगको नाममा रहेको ८ सय १६ रोपनी जग्गामा सुक्खा बन्दरगाह निर्माण गर्ने सरकारी घोषणासँगै बन्दरगाह निर्माणका लागि उद्योगको लालपुर्जा वाणिज्य मन्त्रालयअन्र्तगतको नेपाल इण्टरमोडल यातायात विकास समितिले प्राप्त गरेको हो । लामो समयदेखि अलपत्र चोभारस्थित हिमाल सिमेण्ट कारखानाको जग्गा सरकारले आफ्नो नाममा प्राप्त गरेसँगै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढेको समितिका कार्यकारी निर्देशक लक्ष्मणबाबु बस्नेतले बताए । सरकारले सन् २०१० मा नै उक्त जग्गामा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीस्थल तथा सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको थियो ।
बन्दरगाह निर्माणका लागि आवश्यक कागजी प्रक्रिया पूरा हुन नसक्दा निर्माण कार्य अघि बढ्न सकेको थिएन । जग्गा प्राप्तिको काम सकिएपछि अहिले बन्दरगाह निर्माणका लागि टेण्डर प्रक्रियासमेत अन्तिम चरणमा पुगिसकेको बताइएको छ । बस्नेतले भने, ‘अब केही समयभित्रै टेण्डर आह्वान गरेर निर्माण कार्य थाल्ने तयारी छ ।’ टेण्डरपछि २ वर्षभित्र सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न हुने पनि उनले दाबी गरे । अहिले स्थानीय निकायसँग समन्वय गरेर निर्माण कार्य अघि बढाउने योजना रहेको बस्नेतले जानकारी दिए । उनका अनुसार विश्व बैङ्कको डेढ अर्ब रुपैयाँ ऋण सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । तर, लागत सोभन्दा बढी पनि पर्नसक्ने अनुमान गरिएको उनले बताए ।
अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण पनि सँगसँगै अघि बढे पनि लगानीबारे भने सम्झौता भइनसकेको बस्नेतले बताए । उनका अनुसार प्रदर्शनीस्थल निर्माणका लागि पनि विश्व बैङ्कसँग सम्झौता गरिनेछ । सरकारले काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनीस्थल साँघुरो भएको भन्दै आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा हिमाल सिमेण्ट कारखानाको जग्गामा प्रदर्शनीस्थल बनाउने घोषणा गरेको थियो । तर, उक्त समय हिमाल सिमेण्ट कारखानाको बाँकी रहेको २५ करोड रुपैयाँ ऋण चुक्ता नभएकाले नेपाल औद्योगिक विकास निगमले सरकारलाई जग्गा हस्तान्तरण गरेको थिएन ।
सुक्खा बन्दरगाह निर्माणले आयात हुने सामानको व्यवस्थापनमा ठूलो सहयोग पुग्ने समितिको भनाइ छ । कोलकाता, विशाखापत्तनम्, केरुङलगायत स्थानबाट आउने कण्टेनर यही बन्दरगाहबाट चेकजाँच गरी अन्यत्र लैजाने व्यवस्था हुने बस्नेतले बताए । हाल विभिन्न भन्सार नाकामा भन्सार पास गरी सामान आयात हुने गरेको छ । सुक्खा बन्दरगाहमा २ सय ५० ओटासम्म कण्टेनर पार्किङ गर्नसक्ने व्यवस्था हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।