दशैं शुरू हुनुअघि नै सामान्य पसलदेखि व्यापारिक भवनहरूमा ग्राहकको चहलपहल बढ्दै गएको छ । दशैं अधिकांश नेपालीहरूको मीठो खाने, राम्रो लाउने र आफन्तहरूसँगको भेटघाटमा रमाउने पर्व भएकै कारण यो समय बजारमा सबैभन्दा बढी कारोबार हुन्छ । खासगरी यो समय लत्ताकपडा, खाद्यान्न र विद्युतीय उपकरणको व्यवसाय बढी हुन्छ । त्यसमध्ये कपडाको बजार ठूलोमध्येको एक हो ।
नेपालमा दशैं र नयाँ पोशाक पर्याय नै बनिसकेको छ । आफूलाई मन परेको पोशाक खरीद गर्ने पर्व भएकै कारण हरेक वर्ष दशैं नजिकिँदै गर्दा ग्राहक र विक्रेता दुवैलाई भ्याइनभ्याइ हुन्छ । सामान्य समयभन्दा दशैंतिहारजस्ता पर्वका अवसरमा कपडाको व्यवसाय करीब तीनगुणाले बढ्ने व्यवसायीहरूको भनाइ छ । दशैंलगत्तै मौसम परिवर्तन हुने भएका कारण कतिपय कम्पनीले भने मौज्दात कपडाको विक्री गर्नका लागि उपयुक्त समय मान्ने गर्छन् । पुरानो मोडलका कपडा विक्री गर्नकै लागि विक्रेताहरूले सेल र छूटका साथै अन्य विभिन्न आकर्षक योजना ल्याउने गरेका छन् ।
आधुनिक जीवनशैली र ब्राण्ड सचेतनाका कारण पछिल्लो समय उपभोक्ताहरू ब्राण्डेड पोशाकतर्फ आकर्षित हुन थालेका छन् । उपभोक्तामा बढ्दै गएको ब्राण्ड सचेतनालाई अवसरका रूपमा लिँदै राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीहरूले काठमाडौं उपत्यकालगायत बाहिरका शहरी क्षेत्रमा आफ्ना शोरूमहरू सञ्चालनमा ल्याएका छन् । यसरी आउटलेट खुल्न थालेपछि ब्राण्डेड कपडा पारखीहरूलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम भएको छ । यस्ता कपडाहरू बलियो, रङ नखुइलिने, आरामदायी तथा लगाउँदा सुविधाजनक हुने गर्छन् । ब्राण्डेड कपडाको गुणस्तर कायम राख्न प्रयोग गरिने प्रविधिले गर्दा यसको मूल्य केही महँगो हुने एडिडास शोरूमका निर्देशक सुनिल डङ्गोल बताउँछन् ।
नेपालमा अहिले एक दर्जनभन्दा बढी शोरूमले ब्राण्डेड वेयर आयात तथा विक्री गर्दै आएका छन् । त्यसमध्ये, स्पोर्ट्स प्लाजा प्रालि, टुगेदर फेशन स्टोर, युनाइटेड फेशन आउटफिट (यूएफओ), स्पाइकर शोरूम, पुमा स्टोर्स, युनाइटेड कलर अफ बेनेटन केही चर्चित शोरूम हुन् । ब्राण्डेड पोशाकका शोरूमको सङ्ख्यात्मक वृद्धिसँगै खपत पनि वर्षेनि बढिरहेको छ । नेपालमा ब्राण्डेड वेयर मात्रै वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी खपत हुने व्यवसायीहरूको अनुमान छ । तर, विदेशी ब्राण्डेड पोशाकको विक्रीका विषयमा भने व्यवसायीहरूको फरकफरक धारणा छ । कोही व्यापार बढेको बताउँछन् त कोही घटेको । तर, अधिकांश व्यवसायीहरूले भने यो समय व्यापार २० देखि ३० प्रतिशतसम्म वृद्धि हुने बताएका छन् । दशैंतिहारमा ब्राण्डेड वेयरको व्यापार ३० प्रतिशतसम्मले वृद्धि हुने रोदिमोड शोरूमका प्रबन्ध निर्देशक अखिल चापागार्इंले बताए ।
पछिल्लो समयमा धेरैजसो शोरूमले शाखा विस्तारको क्रम बढाएका छन् । दशैंतिहारजस्ता पर्वहरूमा ग्राहकको भीड हुने हुँदा एकै स्थानबाट व्यवसाय गर्न गाह्रो हुन्छ । त्यसैले, अधिकांश ब्राण्डेड शोरूमहरूले शाखा विस्तार गर्दै लगेका छन् । यस्ता शाखाहरू उपत्यकामा मात्र सीमित नभई बाहिरका शहरहरूमा समेत खुल्न थालेका छन् । विशेषगरी पोखरा, चितवन, विराटनगर, धनगढी, वीरगञ्ज, बिर्तामोड, बुटवललगायत शहरी क्षेत्रमा यस्ता कपडाहरूको आउटलेट खुल्न थालेका हुन् । युनाइटेड फेशन आउटफिट (यूएफओ)ले मात्र उपत्यकामा नौओटा र पोखरा, नारायणगढ, बुटवल, वीरगञ्जमा पनि शाखा खोलको कम्पनीका ब्राण्ड म्यानेजर सचिन श्रेष्ठले जानकारी दिए । यस्तै अन्य कम्पनीले पनि शाखा विस्तारलाई तीव्रता दिएका छन् ।
नेपालमा रिबोक, एडिडास, नाइकी, जिर्यादानो, यास्नी, इण्डियन टेरियन, यूएस पोलो, ग्लोबल देशी, टफ, लिज, क्रोकोडायल, अमेरिकन इगल, जर्जिओ अर्मानी, बेनेटन, नर्थ फेस, गुच्ची, जोन, स्प्रिङऊड, जोन प्लेयर्सलगायत ब्राण्ड लोकप्रिय छन् । बढ्दो आधुनिकतासँगै फेशन चासोको विषय बन्दै गएकाले नेपालमा ब्राण्डेड कपडाको आयात बढ्न थालेको सिटी सेण्टरस्थित स्पाइकर शोरूमका ब्राण्ड म्यानेजर भिभेक शर्माले बताए । विश्वप्रसिद्ध ब्राण्डहरूको आगमनले ग्राहकहरू पनि यसतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी मध्यम तथा उच्चवर्गका उपभोक्ताको रोजाइमा ब्राण्डेड सामग्री नै पर्ने व्यवसायीहरू बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।