होम अप्लाइन्सेस : होम अप्लाइन्सेसमा छूटको लहर

Share News

दशैंतिहार तथा छठजस्ता पर्वहरू नजिकिँदै गर्दा होम अप्लाइन्सेसको नेपाली बजार उकासिएको छ । पर्वको फाइदा उठाउँदै ग्राहक आकर्षित गर्न विक्रेता कम्पनीहरूले विभिन्न किसिमका उपहार योजना सार्वजनिक गरेका छन् । सामान्यतया दशैंलाई नेपालीहरूले आफूलाई मन परेका सामग्री खरीद गर्ने समयका रूपमा लिन्छन् । यो सयम नेपालीहरूले खाद्यान्न र लत्ताकपडासँगै घरायसी सामग्रीलाई किनमेलको अग्रसूचीमा राख्न थालेका छन् । यस्ता घरायसी सामानले दशैंलाई थप प्रभावकारी बनाउने हुँदा यो समय क्रेता र विक्रेता दुवैका लागि उपयुक्त अवसर हुने सीजी इलेक्ट्रोनिक्सका विक्री महाप्रबन्धक कृपानन्द झा बताउँछन् ।

दशैंको समयमा कर्मचारीहरूले तलब, बोनस, पेश्की आदि पाउँछन् भने विदेशमा गएकाहरूले पनि घरमा दशैंखर्च पठाउने चलन छ । सामान्य उपभोक्ताहरूले पनि दशैंका लागि केही समय अगाडिबाटै खर्चको जोहो गर्छन् । त्यसैले, यो समयमा नेपालीहरूको खर्च गर्ने क्षमतामा वृद्धि हुने हुँदा ग्राहक अकर्षित गर्न विभिन्न योजना ल्याउने गरेको व्यवसायीहरू बताउँछन् । ‘यो समय व्यापार र प्रतिस्पर्धा दुवै बढ्छ,’ हिम इलेक्ट्रोनिक्सका उपमहाप्रबन्धक विनयराज त्रिपाठीले भने, ‘त्यसैले ग्राहक आकर्षित गर्न विभिन्न अफर राख्ने गरिएको हो ।’ अन्य समयको तुलनामा दशैंतिहारजस्ता पर्वमा घरायसी सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतसम्म वृद्धि हुने उनको अनुमान छ । हिम इलेक्ट्रोनिक्सले सामसुङ ब्राण्डका होम अप्लाइन्स विक्री गर्दै आएको छ ।

त्रिपाठीको भनाइसँग सामसुङ प्लाजा प्रालिकी निर्देशक सीमा गोल्छा पनि सहमत छिन् । उपभोक्ताहरूसँग पैसा हुने समय भएका कारण पनि कम्पनीहरू ग्राहक आकर्षित गर्न लागिपरेका छन् । खासगरी ग्राहकलाई आफ्नो ब्राण्डप्रति आकर्षित गर्न कम्पनीहरूले विभिन्न उपहार योजना सार्वजनिक गर्ने गोल्छाको भनाइ छ । दशैंमा घरमा मानिसहरूको आवतजावत बढी हुने हुँदा पछिल्लो समय घरायसी सामग्रीलाई प्रतिष्ठासँग जोडेर पनि हेर्न थालिएको छ । खासगरी दशैंतिहारजस्ता पर्वहरूमा घरायसी प्रयोजनमा आउने टेलिभिजन, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, वासिङ मेशिन, होम थिएटरलगायत विद्युतीय सामग्रीको व्यापार बढी हुन्छ ।

पर्वलक्षित अफर र व्यवसायीबीचको बढ्दो प्रतिस्पर्धाले ग्राहकलाई आफूले चाहेको सामग्री कम मूल्यमै उपहारसहित खरीद गर्न सजिलो बनाएको छ । नेपाली बजारमा सीजी, एलजी, फिलिप्स, यासुदा, वर्लपूल, शार्प, फोर्स, भिडियोकन, क्याल्भिनेटर, गोदरेज, बेको, सामसुङ, टीसीएल, हिमस्टारलगायत ब्राण्डका होम अप्लाइन्सेसको उपस्थिति बाक्लो छ । यीमध्ये कुनै एउटा ब्राण्डले मात्र वार्षिक कम्तीमा ३० करोड रुपैयाँबराबरको व्यवसाय गर्ने सम्बद्ध व्यवसायीहरू बताउँछन् । यस्ता सामग्रीको माग ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बढी हुने गरेको छ । अन्य समयभन्दा दशैंतिहारको अवसरमा होम अप्लाइन्सको व्यवसाय ४० देखि ५० प्रतिशतसम्मले बढ्ने झाको भनाइ छ ।

कम मूल्य र उपहारसँगै आवश्यक सामग्री खरीद गर्न पाउने भएकाले उपभोक्ताहरू पनि यही समयको पर्खाइमा रहने कतिपय व्यवसायीहरू बताउँछन् । हाल नेपालमा २० भन्दा बढी होम अप्लाइन्सका ब्राण्डले स्किम तथा योजना सार्वजनिक गरिसकेका छन् । यस्ता स्किमले ग्राहक तथा विक्रेता दुवैलाई फाइदा हुने नवीन डिष्ट्रब्युटर प्रालिका निर्देशक आशिष टिवडेवालाले बताए ।

छूटमा प्रतिस्पर्धा
नेपालमा होम अप्लाइन्सेसको विक्री गर्ने कम्पनीहरूको ग्राहकलाई कसले बढी छूट दिने भन्ने प्रतिस्पर्धा नै चलेको छ । कतिपय कम्पनीले गतवर्षको तुलनामा नयाँ तथा आकर्षक खालका उपहार योजना पनि ल्याएको पाइन्छ । यसले ग्राहकलाई त फाइद पुग्छ नै । तर, कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेर जाने सम्भावना बढाउने झाले बताए । यहाँ २० भन्दा बढी स्वदेशी तथा विदेशी ब्राण्डका होम अप्लाइन्सका विभिन्न सामान उपलब्ध छन् । दशैंको समयमा विक्री बढाउन सबै कम्पनीले स्किममा प्रतिस्पर्धा गर्न थालेका छन् । स्वदेशी ब्राण्ड सीजीले यसपटकको दशैंमा ‘सीजी दशैंखर्च’ अफर ल्याएको छ । यो योजनाअन्तर्गत एक हप्तामा दुईजनालाई ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । सीजीको कुनै पनि सामान किन्दा ग्राहकले सीजीकै अन्य उत्पादन उपहारस्वरूप प्राप्त गर्ने झाले बताए । अफरअन्तर्गत सीजीका कुनै पनि उत्पादन खरीद गर्दा सीजी ब्राण्डकै अन्य सामान कुपनमार्फत प्राप्त गर्न सकिनेछ ।

त्यस्तै, शार्प ब्राण्डले दशैंमा विभिन्न उपहार योजना ल्याएको छ । यस अफरमा ग्राहकले शुरूमै छूट पनि पाउँछन् । नेपालमा एसजी ग्लोबल प्रालिले शार्पका होम अप्लाइन्स विक्री गर्दै आएको छ । शार्प ब्राण्डका एलसीडी तथा एलईडी टेलिभिजन खरीद गर्दा मिनी होम थिएटर उपहार पाउने कम्पनीका निर्देशक अखिल गुप्ताको भनाइ छ । कम्पनीले कतिपय सामग्रीमा २ देखि १० प्रतिशतसम्म छूट दिने बताएको छ । यसैगरी हिम इलेक्ट्रोनिक्सले सामसुङ ब्राण्डका होम अप्लाइन्समा ‘सामसुङ स्वादोत्सव’ दशैं अफर ल्याएको छ । कम्पनीले किचनका लागि आवश्यक पर्ने सामग्री उपहारका रूपमा दिने बताएको छ ।

वर्लपूल र हाइसेन्स ब्राण्डका होम अप्लाइन्सेसको विक्रेता नवीन डिष्ट्रब्युटर प्रालिले पनि दशैंमा हात खाली नजाने अफर ल्याएको छ । वर्लपूल र हाइसेन्स ब्राण्डका प्रत्येक सामग्रीको खरीदमा ग्राहकले उपहारस्वरूप खेतानका प्रडक्ट एवम् डीभीडी प्लेयरहरू पाउने टिवडेवालाले बताए । त्यस्तै, सग्तानी एक्जिम प्रालिले दुई प्रडक्टमा उपहार योजना ल्याएको छ । कम्पनीले ‘आईएफबी’ ब्राण्डका वासिङ मेशिन र माइक्रोवेभ ओभनमा उपहार योजना ल्याएको हो । वासिङ मेशिनमा दुई केजी वासिङ पाउडर र माइक्रोवेभ ओभनमा ‘माइक्रोवेभ किट’ उपहार दिइने कम्पनीका अध्यक्ष विनोद सग्तानीले बताए ।

विज्ञापनमा उस्तै
कम्पनीहरूले सार्वजनिक गर्ने स्किमसँगै विज्ञापनमा पनि प्रतिस्पर्धा गर्न थालेका छन् । अहिले छापा तथा विद्युतीय सञ्चारमाध्यमहरू दशैंका विभिन्न स्किम तथा योजनाले भरिन थालेको स्वयम् व्यवसायीहरू बताउँछन् । कम्पनीहरूले ल्याएका स्किमलाई लक्षित उपभोक्तासम्म पुर्‍याउन पनि विज्ञापनमा प्रतिस्पर्धा भइरहेको सग्तानी एक्जिम प्रालिका अध्यक्ष सग्तानीले बताए । विज्ञापन तथा प्रवद्र्धनका लागि छुट्ट्याइने रकमको ५० प्रतिशतभन्दा बढी दशैंको समयमै खर्च हुने व्यवसायीहरूको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।