शिखर शुज इण्डष्ट्रिज प्रालिले दशैंतिहारको अवसरमा ‘शिखर शुजमा झड्का बम्परमा अल्टो पक्का’ योजना ल्याएको छ । शिखर ब्राण्डका जुत्ता खरीद गर्नेमध्ये भाग्यशाली एकजना ग्राहकले अल्टो कार पाउने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।
कम्पनीले दशैंको अवसरमा ग्राहकलाई ५ देखि ५० प्रतिशतसम्म छूटको व्यवस्थासमेत मिलाएको छ । प्रत्येक शिखर शुज किन्दा ग्राहकले एउटा स्क्र्याच कुपन पाउने र त्यसमा हात खाली नजाने गरी ५० देखि १ लाख रुपैयाँसम्म नगद पुरस्कारको व्यवस्था गरिएको प्रसाईंले बताए । हालसम्म शिखर शुजको स्क्र्याच कुपनबाट न्यूरोड, नयाँ बानेश्वर, पाटन, बौद्ध, कान्तिपुर मल र हेटौंडाका ग्राहकले क्रमशः ५०, १०/१० हजार नगद पुरस्कार प्राप्त गरिसकेको उनले जानकारी दिए ।
शिखर शुजले दशैंलाई लक्षित गरेर विभिन्न मोडल र रङका पार्टी, क्याजुअल, डेली युज र स्पोर्ट्स जुत्ता बजारमा ल्याएको छ । यसमध्ये पार्टी शुजमा ९ रङका १५ मोडल, डेली युजमा ११ र स्पोर्ट्स शुजमा १७ मोडलका जुत्ता बजारमा ल्याएको प्रसाईंले बताए । हरेक जुत्तामा गुणस्तरीय छाला र अन्य कच्चापदार्थ प्रयोग गरिएकाले आरामदायी, टिकाउयुक्त र खुट्टाका लागि स्वस्थकर भएको उनको दाबी छ । नेपाली बजारमा कम्पनीका ५ सयदेखि ३ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल उपलब्ध छन् ।
१५ वर्षअघि १० लाख रुपैयाँको लगानीमा स्थापना भएको शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा करीब ४५ प्रतिशत बजारहिस्सा ओगटेको बताएको छ । काठमाडौंको गोलढुङ्गामा रहेको कारखानामा ३ सय ५० जनाले रोजगारी पाएका छन् । यसले गतवर्ष १ लाख ५० हजार जोर जुत्ता उत्पादन गरेको थियो । यस वर्ष भने ३ लाख जोर जुत्ता उत्पादन गर्ने लक्ष्य राखेको प्रसार्इंले बताए । यो लक्ष्य पूरा गर्न कम्पनीले हालै मात्र नयाँ प्लाण्ट थप गरेको छ । उक्त प्लाण्टको उत्पादन क्षमता दैनिक ५ हजार जोर रहेको छ ।
हाल कम्पनीले दैनिक ५ सयदेखि ७ सय जोर जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ । शिखर शुज विक्रीका लागि नेपालमा १३ ओटा शोरूम रहेका छन् । अहिले ८ सयभन्दा बढी पसलबाट शिखरका जुत्ता विक्री हुने गरेको प्रसाईंले बताए । शिखरका हरेक जुत्तामा मूल्य टाँसिएका कारण जुनसुकै स्टोरबाट खरीद गरे पनि एउटै मूल्य पर्छ । कम्पनीले आफ्ना उत्पादनमा ६ महीनाको वारेण्टी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।