दशैंतिहारलगायत चाडपर्वको आगमनसँगै जुत्ता उत्पादक कम्पनीहरूले विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् । हरेक किसिमका फूटवेयरको विक्रीमा केही न केही उपहार योजनाहरू गाँसिएका छन् । यतिबेला बजारमा कम्पनीहरूबीच उपहारको एक किसिमको प्रतिस्पर्धा नै चलेको छ । उपहार योजनाको प्रतिस्पर्धामा स्वदेशी मात्र होइन, विदेशी ब्राण्डका जुत्ता विक्रेता कम्पनीहरू उत्तिकै लागिपरेका छन् । तर, यस्ता योजनाहरूमा राखिने उपहारको भार अन्त्यमा उपभोक्तामै पर्ने छालाजुत्ता तथा वस्तु उत्पादक सङ्घ नेपालका अध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । त्यसकारण विस्तारै उपहारको संस्कृति हटाउँदै जानुपर्ने उनको धारणा छ ।
कम्पनीहरूले सार्वजनिक गरेका योजनाहरूमा स्क्र्याच कार्डमार्फत ५० देखि २ लाख रुपैयाँसम्मका उपहार, जुत्ताको मूल्यका आधारमा १० देखि शतप्रतिशतसम्म छूटलगायत छन् । त्यस्तै, केही कम्पनीले बम्पर उपहारअन्तर्गत हुण्डाईको ‘आई१०–कार’ र ‘अल्टो कार’सम्म उपहारका रूपमा राखेका छन् । चाडपर्वको अवसरमा अन्य समयको भन्दा शतप्रतिशतसम्म व्यापार वृद्धि हुने भएका कारण ग्राहक आकर्षित गर्न उपहार योजना ल्याउनुपरेको व्यवसायीहरू बताउँछन् ।
जुत्ताको माग र आपूर्ति
नेपालमा वार्षिक ६५ देखि ७० लाख जोर जुत्ताको माग रहेको अनुमान छ । खपत हुनेमध्ये करीब ४५ प्रतिशत बजारहिस्सा स्वदेशी उत्पादनले लिएको छ । नेपालमा जुत्ताको बजार हरेक वर्ष १० देखि १५ प्रतिशतले वृद्धि हुँदै गएको व्यवसायीहरू बताउँछन् । शहरी क्षेत्रमा एक परिवारले १ वर्षमा करीब ७ हजार रुपैयाँसम्मको जुत्ता खरीद गर्ने अध्यक्ष उपाध्यायको अनुमान छ । नेपालमा वार्षिक करीब १५ अर्ब रुपैयाँको जुत्ता खपत हुने गर्छ । यसमध्ये करीब ४ अर्ब रुपैयाँबरारबको स्वदेशी उत्पादन खपत हुन्छ । बजारमा ३ सयदेखि ३ हजार रुपैयाँसम्मका स्वदेशी ब्राण्डका जुत्ता उपलब्ध छन् । पछिल्ला वर्षमा छालाजुत्तासँगै स्याण्डल र स्पोटर्स शूको पनि उत्पादन हुन थालेको छ । यद्यपि, त्यसले विदेशबाट आयात हुने जुत्तालाई पूर्णरूपले विस्थापित गर्न सकेको छैन । पुरुषले लगाउने जुत्तामा नेपाली उत्पादनले विदेशी जुत्तालाई क्रमशः विस्थापित गर्ने क्रम देखिए पनि महिलाले लगाउने जुत्तामा तत्काल सम्भावना नभएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादन हुने जुत्तामा २ प्रतिशत मात्र महिलाले लगाउने जुत्ता उत्पादन हुने गरेको छ । प्रकृतिअनुसार नेपालमा जुत्ता उद्योग स्थापनाका लागि १ लाखदेखि करोडौं रुपैयाँसम्म लगानी भएको छ ।
छालाजुत्तामा ब्राण्डिङको आवश्यकता
नेपालमा लामो समयदेखि स्तरीय छालाजुत्ता उत्पादन भए पनि ब्राण्डिङ हुन सकेको छैन । ब्राण्डिङको अभावमा छालाजुत्ताको निर्यात बढ्न नसकेको कतिपय व्यवसायीहरूको भनाइ छ । स्वदेशमा उत्पादन भएका जुत्ता भारतबाहेक दक्षिण एशियाका अन्य देशमा निर्यात गर्न नसकिएको किरण शू म्यानुफ्याक्चररका सेल्स तथा मार्केटिङ हेड राजन श्रेष्ठले बताए । किरण शूले विगत १४ वर्षदेखि भारतमा तयारी जुत्ता निर्यात गरिरहेको छ । स्वदेशी उत्पादनको खपत बढेमा मात्र अन्तरराष्ट्रिय ब्राण्डका जुत्ताको आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ ।
नेपालमा व्यावसायिक रूपमा जुत्ता उत्पादन गर्न थालिएको दुई दशक भएको छ । २०४७ सालमा छालाजुत्ता तथा वस्तु उत्पादक सङ्घ दर्ता भएसँगै नेपालमा जुत्ताको व्यावसायिक उत्पादन शुरू भएको हो । तर, पहिचानको अभावमा उद्योगले लामो समयसम्म विकसित रूप लिन नसकेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । अन्तरराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण पहिचानको अभाव नै भएको उनीहरूको ठम्याइ छ । अहिलेसम्म छालाजुत्ता तथा वस्तु उत्पादक सङ्घमा मात्र चार दर्जनभन्दा बढी उद्योग आबद्ध भइसकेका छन् ।
त्यसमध्ये केही उद्योगले मात्र ब्राण्ड दर्ता गराएका छन् । पछिल्ला वर्षहरूमा सङ्घले आयोजना गर्ने नियमित मेला तथा प्रदर्शनीले समेत स्वदेशी ब्राण्डका जुत्ताको खपत बढाउन सघाएको अध्यक्ष उपाध्यायको कथन छ ।
जनशक्ति अभाव
छालाजुत्ता तथा वस्तुको उत्पादन गर्ने उद्योगहरूलाई आवश्यक दक्ष जनशक्तिको अभाव छ । उद्योगमा रहेका जनशक्ति पनि अवसरको खोजीमा विदेशिने क्रम बढेको छ । एउटा दक्ष जनशक्ति तयार बनाउन न्यूनतम १ लाख रुपैयाँ लगानी गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । दक्ष जनशक्ति उत्पादनका लागि तालीम केन्द्र सञ्चालन गर्न विभिन्न प्रयास भए पनि सफल हुन नसकेको छालाजुत्ता तथा वस्तु उत्पादक सङ्घका संस्थापक अध्यक्ष सुरेन्द्रप्रसाद दाहालको भनाइ छ । अहिले उद्योगहरूको आफ्नै पहलमा तालीम उपलब्ध गराई जनशक्ति तयार गर्ने काम भइरहेको छ । तर, यस्तो तालीम पाउनेको सङ्ख्या बजारको मागभन्दा धेरै कम छ । केही व्यवसायीले भने छालाजुत्ता तथा वस्तुको उत्पादनमा स्थानीयलाई तालीम प्रदान गरी उद्योग सञ्चालन गरिरहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।