सुर्खेतमा भूकम्पप्रतिरोधी भवन निर्माण बढ्यो

Share News
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माणको क्रम बढेको छ । भवन निर्माण मापदण्ड कार्यान्वयनमा नगरपालिकाको कडाइ र बढ्दो जनचेतनाका कारण सुरक्षित भवन निर्माण बढेको हो । २०७२ वैशाखमा गएको भूकम्पपछि वीरेन्द्रनगरमा भूकम्पप्रतिरोधी भवन बनाउनेको सङ्ख्या बढेको थियो । वीरेन्द्रनगर नगरपालिकाले अहिले नगर क्षेत्रभित्र बनाइने भवन अनिवार्य रूपमा भूकम्पप्रतिरोधी हुनुपर्ने मापदण्ड कार्यान्वयन गरेको छ । भूकम्पप्रतिराधी नबनाए घरनक्सा पास नहुने भएकाले समेत सुरक्षित संरचना निर्माणमा ध्यान दिन थालिएको छ । नगरपालिकाले घर निर्माणको स्वीकृति लिँदा नै भूकम्पप्रतिरोधी मापदण्ड पालनामा अनिवार्य गरेको छ । नगरपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा घर निर्माण स्वीकृतिका लागि आएका निवेदनमध्ये भूकम्पप्रतिरोधी नदेखिएका घरको नक्सा पास गरिएको छैन । उक्त आवमा नक्सासहित नगरपालिकामा दर्ता भएका ६ सय ६९ मध्ये ४ सय ९० भवनको मात्र नक्सा पास भएको छ । यसैगरी चालू आवको ६ महीनामा ७६ ओटा भवनको नक्सा पास भएको छैन् । नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ३ सय ३० ओटा भवन निर्माणका लागि निवेदन दर्ता भएका छन् । यसमध्ये २ सय ५४ ओटा मात्रै स्वीकृत भएको नगरपालिका नक्सा पास उपशाखाका अमिन भूपेन्द्रबहादुर अधिकारीले बताए । भूकम्पप्रतिरोधी भवन निर्माण नभएसम्म नक्सा पास नै नहुने उनले बताए । ‘नगरभित्र अनिवार्य रूपमा भूकम्पप्रतिरोधी घर बनाउने नियम कडाइका साथ लागू गरिएको छ,’ उनले भने । नक्सा पासविना घर बनाउनेलाई नगरपालिकाले विद्युत् र खानेपानी जडानका लागि सिफारिश दिँदैन । सेवा–सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले पनि भूकम्पप्रतिरोधी संरचना निर्माणको चेतना बढेको अधिकारीले बताए । नगरपालिकामा करीब २५ प्रतिशतले अझै पनि नक्सा पास नगरी भवन बनाउने गरेको पाइएको छ । भूकम्पप्रतिरोधी शक्ति कमजोर भएका पुराना संरचनालाई भूकम्पीय प्रबलीकरण तथा सुदृढीकरण गर्न सकिने भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख भूकम्पविद् रत्नमणि गुप्ताले बताए । शहरी विकास तथा भवन डिभिजन कार्यालयका इञ्जिनीयर टीकाराम पोखरेलले भवनको लागत २० प्रतिशत मात्रै बढ्ने भएकाले अनिवार्य रूपमा भूकम्पप्रतिरोधी बनाउन आग्रह गरे । नगरभित्रका अधिकांश पुराना सरकारी तथा निजी घर भूकम्पप्रतिरोधी नभएको उनको भनाइ छ । भूकम्पबाट हुने जोखीम न्यूनीकरणका लागि बनिसकेका भवनको प्रबलीकरण गर्नुपर्ने र नयाँ भवन भूकम्पप्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले क्षति कम गर्न पहिले नै सतर्कता अपनाउनुपर्ने उनले बताए ।वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र निर्माण हुने सरकारी तथा निजी भवनमा आचार संहिताको पालना भए÷नभएको अनुगमन गरिँदै आएको बताए । ‘हामी नगरभित्रका भवन भूकम्पप्रतिरोधी बनाउने प्रयासमा छौं,’ उनले भने, ‘भवन बनाउँदा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेका छौं ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।