कास्कीका उम्मेदवारको खर्च २१ हजारदेखि २४ लाखसम्म

Share News
कास्की । गत मङ्सिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कास्कीका उम्मेदवारले आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् । विभिन्न दल सम्बद्ध र स्वतन्त्र उम्मेदवारहरूले २१ हजारदेखि २४ लाख ४७ हजारसम्म खर्च गरेको विवरण बुझाएका छन् । निर्वाचनको अन्तिम नतीजा घोषणा भएको ३५ दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्थाअनुसार उनीहरूले क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा विवरण पेश गरेका हुन् । जिल्लाबाट प्रदेशसभा र प्रतिनिधिसभामा स्वतन्त्र तीनसहित विभिन्न १८ राजनीतिक दलका तर्फबाट ९५ जनाले उम्मेदवारी दिएका थिए । तर, अहिलेसम्म प्रदेशसभा तर्फबाट ३९ र प्रतिनिधिसभातर्फ २५ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । अझै ठूलो सङ्ख्याका उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले बताए । सुवेदीका अनुसार प्रदेशसभा सदस्यतर्फ सबैभन्दा कम विवेकशील साझा पार्टीका नवराज खनालले २१ हजार ९ सय ७० रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् भने सबैभन्दा बढी सङ्घीय समाजवादी फोरमका चीनबहादुर नेपालीले १४ लाख ६१ हजार ५ सय खर्च गरेको विवरण बुझाएका छन् । त्यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ सबैभन्दा कम खर्च विवरण बुझाउनेमा नेकपा मालेका टेकनाथ भण्डारी छन् । उनले ३४ हजार १ सय खर्च गरेको विवरण कार्यालयमा बुझाएका छन् । त्यसैगरी, प्रतिनिधिसभातर्फ सबैभन्दा बढी खर्च विवरणमा बुझाउनेमा सङ्घीय समाजवादी फोरमका डिलबहादुर नेपाली छन् । उनले २४ लाख ७० हजार ९ सय खर्च भएको विवरण पेश गरेका छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ७२ अनुसार प्रतिनिधिसभा उम्मेदवारलाई २५ लाख रुपैयाँको खर्च सीमा तोकिएको थियो । प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने व्यवस्था थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।