माघ १३, कास्की । प्रदेशसभा बैठकको मिति नजिकिदै गर्दा प्रदेश नम्बर ४ को राजधानी पोखरामा आवश्यक भौतिक संरचनाका साथै अन्य पूर्वाधारको तयारी तिव्र गतिमा भइरहेको छ ।
प्रदेश सभाहल, प्रदेश मुख्यसचिव, मुख्य मन्त्री, मन्त्रीलगायतको कार्यालय, सचिवालय एवम् निवासका लागि आवश्यक संरचनाको व्यवस्थापन कार्य तिव्र गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । प्रदेश प्रमुखको कार्यालय र निवास भने एक साता अगाडि नै तयार भइसकेको छ ।
सरकारले अध्यागमन कार्यलयलाई प्रदेश प्रमुखको कार्यालय बनाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले गतहप्ता त्यही कार्यलयमा कार्यभार सम्हाल्दै जेष्ठ सदस्य तथा सांसद जनकलाल श्रेष्ठलाई पद तथा गाोपनियतको सपथ गराएका थिए । यस्तै हाल क्षेत्रीय प्रशासकले प्रयोग गर्दै आएको निवासलाई प्रदेश प्रमुखको निवासको लागि प्रयोगमा ल्याएको प्रजिअ अधिकारीले बताए ।
प्रजिअ अधिकारीका अनुसार जिल्ला भू–संरक्षण कार्यालयका १० कोठा खाली गराएर प्रदेश मुख्यसचिवको निवासको तयारी अगाडी बढाइएको छ । त्यसैगरी सभामुखको लागि एयरपोर्टस्थित पर्यटन कार्यलयको नवनिर्मित भवनलाई प्रयोगमा ल्याउन काम अगाडी बढेको छ । क्षेत्रीय प्रशासकको निवासमा प्रदेश प्रमुखको लागि व्यवस्था गरिएपछि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई राष्ट्र बैङ्क कर्मचारी आवास गृहमा सारिएको छ ।
नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको प्रजिअ अधिकारीले बताए । ‘कार्यालय र प्रदेश सभाका पदाधिकारीका निवासलगायत अन्य संरचनाको पनि मर्मत र विस्तारको काम भइरहेको छ’ उनले भने । ‘अब, केही समय भित्रनै निर्माण र मर्मतको कार्य सकिन्छ ।’
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख किशोरलाल महाजुकाअनुसार प्रस्तावित कार्यालय र निवासको मर्मतको काम तिव्र पारिएको छ ।
मुख्यमन्त्री, गृह र अर्थमन्त्रीको कार्यालय प्रस्ताव गरिएको सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । उक्त भवनको निर्माण सम्पन्न नहुँदासम्म मुख्यमन्त्री कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा राखिनेछ ।
त्यसैगरी पोखरा–लेखनाथ महानगरपालिकाको ड्याम साइड स्थित रहेको गेस्ट हाउसलाई मुख्यमन्त्रीको निवासका रूपमा प्रयोगमा ल्याइने भएको छ । मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा रहने छन् । सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको कार्य सकिएपछि मुख्यमन्त्रीको निवास र कार्यलय सारिनेछ ।
अहिले व्यवस्था गरिएका सबै कार्यालय र निवास अस्थायी प्रकृतिका रहेका छन् । प्रदेश सरकार बनेपछि भने कार्यालयको उचित व्यवस्थापन सङ्घीय सरकारले नै गर्ने प्रजिअ अधिकारी बताउँछन् । ‘अहिले हामीले गर्ने अस्थाई व्यवस्थापन मात्र हो, भोली प्रदेश सरकार बनेपछि उपयुक्त व्यवस्थापन आफैँ गर्छ’, उनले भने ।
पोखराको नागढुङ्गामा रहेको तारागाउँ रिसोर्टमा उप–सभामुखको निवास राखिने छ भने क्षेत्रीय वन, शिक्षा, खानेपानी तथा ढल निकास, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण, सहकारी प्रशिक्षण तथा डिभिजन, क्षेत्रीय हुलाक, सडक, सिँचाइ, स्वास्थ्य, क्षेत्रीय कृषि, जिल्ला कृषि कार्यालय, घरेलु तथा साना उद्योग र शहरी विकास तथा भवन डिभिजन कार्यालयमा विभिन्न मन्त्रालय राखिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।