घ्यू र तेल

Share News

आधुनिक एवम् व्यस्त जीवनशैलीले तयारी खानातर्फ धेरैको आकर्षण बढेको छ । तयारी खाद्यवस्तुको प्रयोगसँगै खाने तेल एवम् घ्यूको खपत बढेको व्यवसायीहरू बताउँछन् । अधिकांश तयारी खाद्यवस्तु उत्पादनका लागि खाने तेल वा घ्यूको प्रयोग हुन्छ । अहिले नेपालमा वार्षिक ५० हजार मेट्रिक टन खाने तेलको माग हुने नेपाल चामल, तेल तथा दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगड बताउँछन् । उनी भन्छन्, ‘ नेपालमा वार्षिक रूपमा तेलको खपत १५ प्रतिशतले बढेको छ ।’

अरू समयभन्दा दशैंतिहारजस्ता पर्वमा खाने तेल एवम् घ्यूको खपत निकै बढ्छ । नेपाली उपभोक्ताले विशेषगरी तोरी, सोयाबिन, सनफ्लावर र कर्न आयलको बढी माग गर्ने व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित तेलका लागि आवश्यक अधिकांश कच्चापदार्थ विदेशबाट आयात हुने दुगडको भनाइ छ । नेपालमा अहिले एक व्यक्तिले वार्षिक करीब साढे चार किलोग्राम खाने तेल उपभोग गर्छ । विश्वमा खाने तेलको औसत खपतदर प्रतिव्यक्ति २२ किलोग्राम छ । भारतमा खपतदर वार्षिक करीब ९ किलोग्राम छ । नेपालमा मानिसको क्रयशक्ति कम भएकाले प्रतिव्यक्ति उपभोग दर पनि कम रहेको दुगडको भनाइ छ ।

हाल नेपालका करीब १५ ओटा उद्योगले आधुनिक मेशिनबाट खाने तेल उत्पादन गर्दै आएका छन् । यसबाहेक सामान्य मिलको सङ्ख्या भने ६० भन्दा बढी रहेको अनुमान छ । अहिले दैनिक ३ सय टन तोरीको तेल उत्पादन गर्ने उद्योग स्थापना गर्न १५ करोड रुपैयाँ लगानी गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । त्यस्तै, दैनिक १ सय ५० टन उत्पादन क्षमता भएको रिफाइनरी मेशिन जडान गर्न करीब २५ लाख रुपैयाँ लगानी गर्नुपर्छ । यसलाई आधार मान्दा नेपालमा तेल उद्योगमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । यद्यपि, ठूला लगानीका केही उद्योग भने बन्दसमेत भएका छन् । यहाँ सञ्चालित सबै उद्योगले आफ्नो क्षमताको करीब ४० प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् । नेपालमा सञ्चालित वनस्पति घ्यू तथा प्रशोधित तेल उत्पादन गर्ने ठूला १६ उद्योगमा मात्र करीब ८ अर्ब रुपैयाँ लगानी भएको व्यवसायीहरू बताउँछन् । यसमा करीब २ लाख जनशक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा वनस्पति घ्यू तथा तेलको उत्पादन अत्यधिक बढेको देखिन्छ । २०६० सालमा वार्षिक उत्पादन करीब ७० टन रहेको घ्यू तथा तेल अघिल्लो आर्थिक वर्षमा करीब २ लाख टन पुगेको नेपाल वनस्पति तेल तथा घ्यू उत्पादक सङ्घले जानकारी दिएको छ । नेपालबाट २०६४ अघि कुल उत्पादनको ७० प्रतिशत वनस्पति घ्यू भारत निर्यात हुन्थ्यो । तर, त्यसपछि भारतले वनस्पति घ्यूको उत्पादनमा आवश्यक कच्चापदार्थको आयातमा शून्य प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)लाई ४ प्रतिशतमा झारेपछि नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा भारतीय बजार गुमाएको थियो । नेपालमा यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थको आयातमा २ दशमलव ५ प्रतिशत भन्सार शुल्क र ६ दशमलव ५ प्रतिशत भ्याट गरी कुल ९ प्रतिशत शुल्क लगाइएको छ ।

उद्योगका समस्या
नेपालमा खाने तेल उत्पादनका मुख्य समस्या खुला सिमाना हो । भारतसँग १ हजार ७ सय किलोमिटर खुला सिमाना भएकाले अवैध रूपमा खाने तेल भित्रिएको व्यवसायीहरू बताउँछन् । नेपाली उत्पादनको तुलनामा भारतीय खाने तेलको खरीद मूल्य केही कम भएका कारण अवैध तरीकाले भित्रिने गरेको छ । भारत सरकारले कृषि उत्पादनमा कुनै प्रकारको कर नलगाएका कारण पनि भारतीय खाने तेल सस्तो भएको दुगडको अनुभव छ । तर, नेपालले खाने तेल उत्पादनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । आव २०६६/०६७ मा नेपालमा उत्पादित खाने तेलका लागि भ्याटमा ५० प्रतिशत सहुलियत प्रदान गरिएको थियो ।

नेपाली खाने तेलको उपभोग बढाउन र उत्पादन लागत कम गराउन सरकारले पहल गर्नुपर्ने दुगड बताउँछन् । स्वदेशी उद्योगको अर्को मुख्य समस्या विद्युत् आपूर्ति सहज नहुनु हो । वर्षको ६ महीना दैनिक १४ घण्टा लोडशेडिङ हुँदा पनि उद्योगले क्षमताअनुसार तेल उत्पादन गर्न नसकेको व्यवसायीहरूको भनाइ छ । लोडशेडिङका कारण अधिकांश समय जेनेरेटर सञ्चालन हुँदा लागत झण्डै दोब्बर बढ्ने गर्छ । त्यस्तै, नेपालमा खाने तेलको आधुनिक भण्डारण स्थलको पनि अभाव छ । भण्डारण स्थलको अभावले पनि १० प्रतिशत उत्पादन खेर गइरहेको व्यवसायीहरूको गुनासो छ ।

गुणस्तरीय तेल कसरी पहिचान गर्ने ?
तेल खरीद गर्दा सामान्य जानकारी हुन आवश्यक छ । गुणस्तरीय परीक्षणका लागि उपभोक्ता स्वयम्ले पनि परीक्षण गर्न सक्छन् । विकरमा राख्दा ८/१० घण्टामा तोरीको तेलको गन्ध हराएमा त्यो कम गुणस्तरको तेल हो । गुणस्तरीय तोरीको तेल खुला कप वा विकरमा लामो समय राख्दा पनि त्यसको गन्ध हराउँदैन । त्यस्तै कम गुणस्तरको तेल गिलासमा राख्दा तल्लो भागमा लेदोजस्तो देखिन्छ । रिफाइन तेलमा भने केही गन्ध हुँदैन र रङ पनि सफा हुन्छ । तेलको रङ जति सफा हुन्छ, रिफाइन तेल त्यति नै गुणस्तरीय हुन्छ ।

खाने तेलसम्बन्धी केही जानकारी

सनफ्लावर तेल : सनफ्लावर खाने तेल स्वादिष्टका साथै पौष्टिकतायुक्त हुन्छ । यसमा भएको लिनोलिक एसिड खाना पकाउन उपयोगी हुन्छ । यसमा प्रोटिन तथा भिटामिन ए, सी, डी र ई उपलब्ध छ । विशेषगरी रगतमा जम्मा हुने कोलेष्ट्रोल रोगको सम्भावना कम गर्न यो उपयोगी हुन्छ ।

तोरीको तेल : तोरीको तेल परम्परागत रूपमा खाने गरिएको छ । कप, बाथ, टाउको तथा कानसम्बन्धी रोगमा समेत तोरीको तेल प्रयोग गरिन्छ । विविध प्रकारका तोरीमा भिन्नभिन्न मात्रामा तेल पाइन्छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशत तेलको मात्रा हुन्छ । कालो तोरीमा २० देखि ३३ प्रतिशत तेल हुन्छ । अचारमा तोरीको तेलबाट विशेष स्वाद पाउन सकिन्छ । विशेषगरी मूला, आँप र गोलभेंडाको अचारमा तोरीको तेल प्रयोग गरिन्छ ।

सोयाबिन तेल : सोयाबिन प्रोटिनयुक्त तेल हो । यलिनेलिक एसिड धेरै मात्रामा पाइने हुनाले यो तेल स्वास्थ्यवद्र्धक मानिन्छ । सोयाबिन तेलमा ग्लिसराइडोललगायत स्टोराल, अल्कोहल, आयोडिन, फास्फेटराइडजस्ता एसिड पाइन्छ ।

पाम आयल : बोलचालको भाषामा पाम आयलको बोटलाई ताडको रूख भनिन्छ । यसको बोट नेपालको तराई भागमा पाइन्छ । इलेसिस जिनेसिस जातको यस रूखको फलबाट साधारण तथा अन्य तीन किसिमको तेल उत्पादन गर्न सकिन्छ । यसका रूख नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड मलेसिया र भियतनाममा पाइन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।