नेपालको शिक्षा गुणस्तरीय छ

Share News
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहनेगरी २०५२ सालमा गठित नेपाल नर्सिङ परिषद्ले नेपालमा नर्सिङ शिक्षा र सेवाको व्यवस्थापनका लागि के कस्ता काम गर्दै आएको छ भन्ने विषयमा आर्थिक अभियानका शर्मिला दुलालले परिषद्का अध्यक्ष गोमा निरौलासँग गरेको  कुराकानी : पछिल्लो समय नर्सिङ क्षेत्रमा आउन चाहनेको सङ्ख्या बढ्दै गएको पाइन्छ । नेपालको परिप्रेक्ष्यमा नर्सिङ शिक्षा क्षेत्रको अवस्था कस्तो छ ? वर्षेनि करीब ७ हजारका दरले नर्स उत्पादन भइरहेका छन् । १ सय १७ ओटा कलेजले स्टाफ नर्सिङ पढाउँछन् । नेपालमा सञ्चालन भएका नर्सिङ शिक्षाको गुणस्तर वास्तवमै राम्रो छ । व्यावहारिक शिक्षामा बढी जोड दिइने भएकोले समेत यसको गुणस्तर छिमेकी मुलुकको भन्दा उत्कृष्ट भएको मान्न सकिन्छ । नेपालका कतिपय विद्यार्थीहरू भारत, बङ्गलादेशलगायत देशमा पढ्न गएको पाइन्छ । उनीहरूको शीप नेपालमा पढेकाहरूको जत्तिको उत्कृष्ट हुँदैन । कारण, त्यहाँ सैद्धान्तिक शिक्षामा बढी जोड दिइन्छ । जब कि नेपालको पनि सैद्धान्तिक शिक्षा राम्रो नै छ । विद्यार्थीले नर्सिङको प्रयोगात्मक अभ्यासन ‘डमी’मा गर्छन् र हस्पिटलमै गएर व्यावहारिक ज्ञान हासिल गरिरहेका हुन्छन् । त्यसरी हासिल गरेको शीपकै आधारमा पनि नेपालमा उत्पादित नर्स दक्ष छन्, जुन नेपालको गुणस्तरीय शिक्षाकै उपज हो । नर्सिङ शिक्षा र नर्सहरूको क्षेत्रमा परिषद्ले के कस्ता काम गर्दै आएको छ ? परिषद्को मुख्य उद्देश्य भन्नु नै गुणस्तरीय सेवा हो । गुणस्तरीय सेवा तब हुन्छ, जब गुणस्तरीय शिक्षा सम्भव हुन्छ । जनताको गुणस्तरीय सेवाको अधिकार सुनिश्चितताका लागि जहिले पनि परिषद्ले शिक्षाको गुणस्तरमा चासो राख्दछ । नर्सिङ पढाइने कलेजहरूको भौतिक पूर्वाधार, शैक्षिक पाठ्यक्रमको मापदण्ड निर्धारण गर्नेदेखि मापदण्डअनुरूपको काम भएको नभएको निरीक्षण गर्ने काम परिषद्ले गर्ने गरेको छ । साथै, शिक्षक र विद्यार्थीको अनुपातको मापदण्ड बनाउने काम पनि परिषद्को हो । हरेक कलेजमा १ शिक्षक बराबर ८ विद्यार्थी रहने गरेका छन्, जसले सेवाको स्तरलाई बढावा दिन्छ । जनताको स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्नु परिषद्को पहिलो जिम्मेवारी भएकाले यसले सेवाप्रदायक भन्दा पनि सेवाग्राहीको विषयलाई बढी महत्त्व दिने गर्दछ । नर्सहरूको हकहितको पक्षमा बोल्ने काम परिषद्ले भन्दा पनि नेपाल नर्सिङ सङ्घले गर्दै आएको छ । तर, नर्सहरूको सुविधा राम्रो भएमा, उनीहरू सन्तुष्ट भएमा मात्र उनीहरूले दिने सेवाको गुणस्तर पनि राम्रो हुन्छ, जसले के देखाउँछ भने यी दुवैको सम्बन्ध परस्पर हुन्छ । वार्षिक रूपमा नेपालमा जति नर्सहरू उत्पादन भइरहेका छन्, उनीहरूका लागि रोजगारीको सम्भावना न्यून रहेको छ । यसको अनुगमन र मूल्याङ्कन कसरी गरिरहनु भएको छ ? नेपालमा उत्पादन भएका नर्सहरूको व्यवस्थापन राम्रो छैन । वास्तवमै नेपालमा मानव स्रोतको योजना छैन । देशमा प्रत्येक वर्ष कति नर्स उत्पादन हुन्छन्, कति रोजगार छन् भन्ने कुराको यकिन विवरण राख्ने सरकारी निकाय छैन । बारम्बार हामीले मन्त्रालयअन्तर्गत नर्सहरूलाई हेर्ने एउटा छुट्टै महाशाखा चाहियो भनेर माग गरिरहेका छौं । जुन माग आजसम्म पूरा हुन सकेको छैन । जब कि २०३५/३६ सालको दरबन्दीका कर्मचारीले अझै अवकाश पाएका छैनन् । नयाँ पिँढीका लागि कसरी पर्याप्त अवसर निस्किऊन् ? नेपालमा अध्ययन गरेका धेरैजसो नर्स विदेश पलायन हुनु र यो सङ्ख्या बढिरहनुको मुख्य कारण के होला ? नेपालमा नर्सको उत्पादनको तुलनामा यहीँ रोजगार हुनेको सङ्ख्या न्यून छ । खर्च गरेर पढ्यो तर रोजगारी पाउन गाह्रो, कतै कुनै स्वास्थ्य संस्थामा संलग्न हुन पाए पनि परिश्रमअनुसारको पारिश्रमिकको व्यवस्था छैन । न त रोजगारको ग्यारेण्टी छ, न त सेवा सुविधा नै लोभ्याउन सक्ने खालको छ । यी सबै परिस्थितिको कारण नर्स मात्र होइन, सबै क्षेत्रका व्यक्तिले गतिलो आयलाई नै प्राथामिकता दिन्छन् । साथै, अधिकांश नर्सका श्रीमान्, परिवार नै बाहिर हुन्छन् र बाहिरको जीवनशैली नेपालको भन्दा सुविधासम्पन्न नै भएको पाइन्छ । यसले स्वाभाविक रूपमा सबैलाई लोभ्याउँछ नै । विशेषज्ञ नर्सिङ उत्पादनका लागि परिषद्ले कस्तो तयारी गरिरहेको छ ? विशेषज्ञ नर्सिङ उत्पादनका लागि परिषद् एक्लैले मात्र भूमिका निर्वाह गर्ने होइन, यो त युनिभर्सिटीसँगको समन्वयमा हुने हो । प्रत्येक दिन नयाँ रोग आएका छन् । यी प्रत्येक दिन थपिएका रोगको उपचारका लागि स्वास्थ्य क्षेत्रको जनशक्तिमा पनि सोहीअनुसारको वृद्धि आवश्यक छ । रोगको प्रकृतिअनुसारका विशेषज्ञ आवश्यक छन् । यसका लागि परिषद्ले युनिभर्सिटीसँगको समन्वयमा शिक्षण संस्थाको पूर्वाधार तोक्ने र पाठ्यक्रमको मापदण्ड बनाउने काम गर्दछ ।नेपालमा रोजगारीको यस्तो अवस्था रहेकोमा नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ? नयाँ पिढीहरू हाम्रा पालाको जस्तो सेवाभावले नर्सिङ क्षेत्रमा आउन चाहने खालका छैनन् । नर्सिङ क्षेत्रमा त बिरामीलाई आफन्त सम्झनु पर्दछ र दत्तचित्त भएर उनीहरूको सेवा गर्न सक्नुपर्छ । वास्तवमै अहिलेका केटाकेटीका लागि नर्सिङ विदेश जाने खुड्किलो मात्र बनेको छ । नर्सिङ विदेश जाने अवसर होइन, बिरामीको सेवा गर्ने अठोट हो । त्यसैले जो कोही यो विषय अध्ययन गर्न चाहनुहुन्छ, संवेदनशीलता र सेवाभाव लिएर आउनुहोस् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।