२०३३ सालमा नेपालमा स्नातक तहको नर्सिङ जनशक्ति उत्पादन गर्न थालिएसँगै मिड्वाइफ्री कार्यक्रम पनि शुरू गरिएको थियो । तर, यो कार्यक्रमले निरन्तरता पाएन । पीसीएल नर्सिङपछि स्नातक र स्नातकोत्तर तहमा मिड्वाइफ्री अध्ययन गर्न सकिन्छ । अहिले नेपालमा काठमाडौं विश्वविद्यालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतका कलेजमा विशेषज्ञ शिक्षाका रूपमा मिड्वाइफ्रीको अध्यापन भइरहेको छ ।
विभिन्न देशमा गरिएको अध्ययन अनुसन्धानअनुसार जुन देशमा मिड्वाइफ छन्, सो देशको मातृ तथा शिशु मृत्युदर घटेको देखिन्छ । मिड्वाइफ रहेको श्रीलङ्काले ६० वर्षअघि नै मातृ तथा शिशु मृत्युदर विकसित राष्ट्रको हाराहारी बनाएको छ । अफगानिस्तानले पछिल्लो डेढ दशकमा मातृ मृत्युदर प्रतिलाख १ हजार ६ सयबाट ४ सयमा झारिसकेको छ । यसका लागि मिड्वाइफको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । त्यसैले नेपालले पनि आफ्नो स्वास्थ्य क्षेत्रमा मिड्वाइफहरूको उपस्थिति बढाउँदै लैजानुपर्ने आवश्यकता देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
देशमा विद्यमान उच्च मातृ तथा नवजात शिशु मृत्युदर घटाउन २०६३ सालमा सरकारले राष्ट्रिय दक्ष प्रसूतिकर्मी नीति ल्याएको छ । सोही नीतिअनुसार सुरक्षित मातृत्व सेवा प्राप्त गर्नुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न महत्त्वपूर्ण र विशेषज्ञ जनशक्तिका रूपमा मिड्वाइफको उत्पादन गर्ने नीति लिइएको स्वास्थ्य मन्त्रालयकी नर्सिङ शाखाकी अधिकृत अमृता पाण्डेले बताइन् । प्रायः विकसित मुलुकमा महिला प्रजनन तथा मातृत्वसम्बन्धी सेवा मिड्वाइफहरूले गर्ने गरेको डा. भोला रिजालको भनाइ छ । नेपालमा पनि विस्तारै मिड्वाइफ तयार गरी लागू गर्नुपर्नेमा उनको जोड छ ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार प्रति १ हजार जनसङ्ख्यामा २/३ जनाभन्दा कम नर्स र मिड्वाइफ छन् । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिला ८० प्रतिशतभन्दा कम छ भने त्यो सङ्कटग्रस्त अवस्था हो । नेपालमा प्रति १ हजार जनसङ्ख्यामा शून्य दशमलव ५० जना नर्स र मिड्वाइफ छन् । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिला ५ प्रतिशत देखिन्छ । यो अत्यन्तै न्यून रहेकाले नेपालमा मिड्वाइफहरू बढाउनुपर्ने देखिएको मन्त्रालयको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।