पेशागत हकहित र जनस्वास्थ्यका लागि सङ्घ

Share News
दोस्रो विश्वयुद्धका घाइतेको सेवाभावले उत्प्रेरित भएर फ्लोरेन्स नाइटिङ्गेल्सले शुरुआत गरेको नर्सिङ सेवाभावमा पूर्ण समर्पित पेशा अहिले संसारभर फैलिएको छ । विश्वका १ सय ८० देशमध्ये करीब सबै देशमा नर्सिङ पेशा (सेवा) स्थापित भएको पाइन्छ । नेपालमा १९८५ सालमा राणाकालीन समयमा जब जनताको स्वास्थ्य सेवाका लागि नर्स कर्मचारी चाहिन्छ भन्ने महसूस गरियो, त्यसपछि १८ महीने प्रसूति सेवा तालीम लिन चार जनालाई भारत पठाइएको इतिहास छ । त्यसपछि वीर अस्पतालमा नर्सिङ सेवा शुरू गरिएको हो । १९८८ सालमा फेरि नौ जनालाई प्रसूति सेवा र १९९८ सालमा अन्य स्वास्थ्य सेवा तालीमका लागि भारतको कलकत्तामा साढे ३ वर्षको कोर्स पढ्न पठाइयो । २००८ सालमा चार जना, २००९ सालमा दुई जना र २०१० सालमा चार जनालाई छुट्टाछुट्टै विषयमा नर्सिङ पढ्न पठाइएको थियो । त्यसपछि २०१३ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालमा नर्सिङ स्कूलको स्थापना भएको हो । ल्यामु अमात्यले यसमा एउटा हिस्सेदार भएर काम गरेका थिए । सन् १९५६ मा पहिलो नर्सिङ स्कूलका रूपमा रहेको सानेपाको सुरेन्द्र भवनलाई ३ वर्षपछि महाबौद्ध हुँदै महाराजगञ्जमा सारियो, जुन अहिले आफ्नै भवनमा छ । त्यसैले, महाराजगञ्ज नर्सिङ क्याम्पसलाई ‘मदर इन्ष्टिच्युट’को रूपमा लिने गरिएको छ । शुरूमा नर्सिङ पढ्दा २५ प्रतिशत सैद्धान्तिक र ७५ प्रतिशत प्रयोगात्मक पढाइ हुन्थ्यो । पछि त्रिभुवन विश्वविद्यालयलबाट चारओटा नर्सिङ कलेज विस्तार गरिए, जसमा पहिला अनमी र अहेवको कोर्स सञ्चालन भएका थिए । प्रमाणपत्र तहमा १९७२ सालमा ललितपुर, १९८० सालमा वीरगञ्ज, १९८४ सालमा विराटनगर, १९८६ सालमा पोखरा, १९८८ सालमा नेपालगञ्ज र १९८९ सालमा वीर अस्पतालमा नर्सिङ कलेज खुले । नर्सिङ स्नातक तह २०३३ मा महाराजगञ्ज क्याम्पसबाट शुरू भएको हो भने २०४८ सालदेखि स्नातकोत्तर तह शुरू भएको हो । स्वास्थ्य सेवालाई विस्तार गर्ने क्रममा वीर अस्पतालको स्थापनासँगै नर्सिङ सेवा विस्तार भएको पाउँछौं । नर्सिङ सेवाले जनताको घरदेखि संस्थासम्म र संस्थादेखि घरसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सामाजिक संरचनाका कारण नेपालमा शुरूशुरूमा यो पेशामा लाग्नेहरूमा अलि हिचकिचाहट देखिए पनि अहिले त्यस्तो अवस्था छैन । नर्सिङ सेवा शुरूमा प्रसूति सेवाबाट गरिएको हो । हाल आएर नर्सिङ सेवाले देशभर गुणस्तरीय स्वास्थ्य सेवा पहुँचका लागि आफ्नो सेवा विस्तार गरेको छ । विस्तारित सेवामा ‘प्रिभेण्टिभ, प्रोमोटिभ, क्युरेटिभ र रिह्याब्लिटेटिभ’ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शुरूमा बिरामी परेकालाई निको बनाउने पेशाका रूपमा लिइएको नर्सिङ आज बहुआयामिक सेवाका रूपमा स्थापना भएको छ । शुरूशुरूमा पेशागत महत्त्वको कम बुझाइ र सामाजिक संरचनाले नर्सिङ पेशा मन पराउने कमै मात्र थिए । तर, अहिले यसको विकाससँगै महत्त्व पनि बढेकाले हाल यो पेशा अँगाल्न उत्प्रेरित हुनेहरूको सङ्ख्या धेरै छ । अतः यसले अन्तरराष्ट्रिय बजार लिएको अवस्था छ । नर्सिङ क्षेत्रको इतिहास समेट्नुपर्ने आवश्यकता ठानेर नेपाल नर्सिङ सङ्घले ‘नेपालमा नर्सिङको इतिहास’ पुस्तक प्रकाशित गरेको छ, जसलाई पठनपाठनमा समेत समावेश गरिएको छ ।सङ्घको स्थापना र कार्यहरू २०१८ सालमा स्थापना भएको नेपाल नर्सिङ सङ्घ स्वास्थ्य क्षेत्रका सङ्घ–सङ्गठनमध्ये सबैभन्दा पहिला स्थापना भएको हो । सङ्घको पहिलो अध्यक्ष ल्यामु अमात्य हुन् । सङ्घले देशभरका सम्पूर्ण नर्सहरूको पेशागत हकहितको संरक्षण, संवद्र्धन र जनताको स्वास्थ्य वृद्धि गर्न तथा देशव्यापी रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न काम गर्दै आएको छ ।नर्सिङ सेवालाई स्तरीय र सुदृढ पार्न, नर्सिङ सेवालाई प्रभावकारी, दक्ष, जनमुखी र मर्यादित बनाउन, नर्सिङ सेवामा आफ्नो स्तरअनुसारको शीप र दक्षता पूर्ण रूपले प्रयोग गर्न, प्रवर्द्धनात्मक, प्रतीकात्मक, अपेक्षात्मक तथा पुनःस्थापनात्मक स्वास्थ्य सेवालाई सरल, सूक्ष्म एवम् सुव्यवस्थित ढङ्गले उपलब्ध गराउन सङ्घले सहयोग पुर्‍याउँदै आएको छ । नर्सिङ पेशाका लागि नीति, नियम निर्माणमा पनि सङ्घ सहभागी हुँदै आएको छ ।वर्तमान अवस्था हाल नेपालमा ७४ हजार नर्स छन् । नर्सहरूले अहिले बेहोरिरहेको समस्या राज्यले सम्बोधन गर्न सकिरहेको छैन । सरकारी जागीरमा रहेकाहरूलाई सेवा सुविधा, वृत्ति विकास र भत्ताको व्यवस्था छैन । निजीक्षेत्रमा खोलिएका अस्पतालमा नर्सहरूलाई लामो समय बिदा नदिने, न्यून तलब सुविधा दिने, इण्टर्नशीप तथा स्वयम्सेवाको रूपमा काम लगाउने, नियुक्तिपत्र नदिनेजस्ता समस्या छन् । यी समस्याको समाधानका लागि हालै मात्र नर्सिङ सङ्घले ११ सूत्रीय माग राखी आन्दोलन गरेपछि सरकारसँग सहमति भएको छ । तर, यसको कार्यान्वयन पक्ष बाँकी नै छ । उक्त ११ बुँदे सम्झौता कार्यान्वयन भएमा हालको नर्सिङ क्षेत्रमा केही सुधार पुग्ने देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।