ज्वेलरी : गहनाको गहकिलो बजार

Share News

तिहार नजिकिँदै गर्दा हीरा, मोती तथा रत्नजडित सुनचाँदीका गरगहनाका साथै चाँदीका मूर्ति एवम् भाँडाकुँडाको माग बढ्ने गर्छ । यस वर्ष पनि तिहारको आगमनसँगै गहनाका शोरूमहरूमा ग्राहकको चहलपहल बढेको छ । बढ्दो मागका कारण यतिबेला व्यवसायीहरू आफ्ना उत्पादनलाई आकर्षक रूपमा सजाउन र विक्री गर्नमै व्यस्त छन् ।

नेपालमा विशेषगरी तिहारमा चाँदीका भाँडा तथा मूर्तिहरू बढी विक्री हुन्छन् । धनकी देवी लक्ष्मीको पूजा हुने भएकाले उक्त दिन सुनचाँदीजस्ता धातु खरीद गरेर राख्ने चलन रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । केही वर्षदेखि भने नेपालमा कागतिहारको दिन गहना र भाँडाकुँडा खरीद गर्ने प्रचलन बढेको छ । कागतिहारलाई धनतेरससमेत भनिने हुनाले उक्त दिनमा यस्ता सामग्रीको विक्री बढी हुने सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

नेपाली संस्कृतिअनुसार पनि सुनलाई शुभ वस्तुका रूपमा लिने गरिन्छ । कतिपय समुदायमा जन्मदेखि मृत्यु संस्कारमा समेत सुनको प्रयोग अनिवार्य मानिन्छ । त्यसैले पनि चाडपर्व, विवाह आदिको समयमा सुनलगायत बहुमूल्य धातुको माग बढ्ने गर्छ । तर, पछिल्लो समय नेपाली ग्राहकले छनोट गर्ने गहनामा भने परिवर्तन हुँदै छ । केही समय अघिसम्म धेरै प्रकार र वजनदार गहना प्रयोग गरिनुलाई गौरव मान्ने नेपाली ग्राहकको रोजाइ अहिले हलुका गहनामा परिवर्तन हुन थालेको छ । गहनाको मूल्यमा भएको अत्यधिक वृद्धिले पनि नेपालीहरू साना तथा चिटिक्क परेका गहनातर्फ आकर्षित हुन लागेका हुन् । ग्राहकको त्यही चाहनालाई बुझेर अहिले व्यवसायीहरूले पनि हल्का गहना विक्री शुरू गरिसकेका छन् । अन्तरराष्ट्रिय बजारमै बहुमूल्य धातुको भाउ निरन्तर बढेपछि यस्ता गरगहना सर्वसाधारण नेपालीको पहुँचबाहिर पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष शाक्य बताउँछन् । उनी भन्छन्, ‘वर्षभरिको आम्दानीले एक तोला सुन नआउने गरी महँगिएपछि व्यापारसमेत प्रभावित भएको छ ।’

अहिले आधुनिक सुनका गहना र राशिअनुसारको पत्थरजडित गहना लगाउने प्रचलन पनि बढेको छ । गहनामा नयाँपन दिन परम्परागत गहनालाई आधुनिक डिजाइनमा निर्माण गर्दै आएको अश्री ज्वेलर्स प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वरलाल जोशी बताउँछन् । नेपालमा सुनचाँदी व्यवसायको शुरुआत काठमाडौं उपत्यकाका स्थानीय शाक्यहरूले गरेका थिए । काठमाडौंको झाछेबाट शुरू भएको सुनचाँदी व्यवसाय २०४४ सालसम्म स्थानीय ज्यासः पसःबाट नै हुने गरेको थियो । ग्राहकको चाहनाअनुसार सुन पसलमा नै गहना बनाउने प्रणालीलाई ज्यासः पसः भनिन्छ । उपत्यकामा अहिले पनि थुप्रै ज्यासः पसःहरू सञ्चालनमा छन् । अहिले सामान्यस्तरको ज्वेलरी पसल स्थापना गर्न ५० लाख रुपैयाँ लगानी गर्नुपर्छ । ग्राहकलाई आकर्षित गर्न गरगहनाको बनावटमा विविधता ल्याउनुपर्ने अवस्था छ । त्यसका लागि ठूलो लगानी आवश्यक परेको हो । नेपालमा करीब ५ लाख रुपैयाँको लगानीमा स्थापना भएका ज्वेलरी पसलको सङ्ख्या पनि बाक्लै छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घमा मात्रै ३९ जिल्लाका ५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

बजारमा सुनको अभाव
दशैंतिहार तथा विवाहको मौसममा सामान्य समयको भन्दा ५० प्रतिशत बढी सुनको माग हुने गर्छ । त्यस्तै चाँदीको माग भने दोब्बर वृद्धि हुन्छ । अहिलेको बजारमा दैनिक करीब ४५ किलोग्राम सुनको माग रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घको अनुमान छ । तर, विभिन्न वाणिज्य बैङ्कहरूबाट व्यवसायीहरूले १५ किलोग्राम मात्र पाइरहेका छन् । उक्त परिमाण देशभरिका व्यवसायीहरूलाई बाँड्न अपुग रहेको अध्यक्ष शाक्यको भनाइ छ । दैनिक उपलब्ध हुने १५ किलोग्राम सुनमध्ये वाग्मती अञ्चलका लागि ९ किलोग्राम छुट्ट्याइन्छ । बाँकी ६ किलोग्राम सुन भने १३ अञ्चलमा भागबण्डा गर्ने गरिन्छ ।

चाडपर्वको समयमा सुनको मागमा वृद्धि हुँदा समेत नेपाल सरकारले आयात कोटा नबढाएपछि दशैंदेखि नै बजारमा सुन को अभाव देखिन थालेको हो । सनु अभाव हुँदा व्यवसायीहरूले पुरानो अर्डरसमेत पूरा गर्न सकेका छैनन् । यसपटक तिहारलगत्तै विवाहको लगन पनि परेकाले सुनको माग अझ बढेको व्यवसायीहरू बताउँछन् । सुन आयातले शोधनान्तर घाटा उच्च भएको भन्दै नेपाल सरकारले २ वर्ष अघिबाट कोटा प्रणाली लागू गर्दै आएको छ । बजारमा सुनको अभाव भए पनि आयात भने हरेक वर्ष बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । आव २०६९/७० को पहिलो २ महीनामा नेपालमा ४ अर्ब ६५ करोड रुपैयाँबराबरको सुन आयात भएको छ । यो अघिल्लो आवको तुलनामा १८ दशमलव ५ प्रतिशतले बढी हो । आव २०६८/६९ को पहिलो २ महीनामा नेपालमा तेस्रो मुलुकबाट ३ अर्ब ९२ करोड रुपैयाँबराबरको सुन आयात भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

अधिकांश भारतीय कालिगढ
नेपालमा अधिकांश कलात्मक गरगहनाहरू भारतीय कालिगढले बनाएका हुन् । यहाँ गरगहना बनाउने ७० प्रतिशतभन्दा बढी कालिगढ भारतको पश्चिम बङ्गालबाट आएका छन् । करीब ४५ हजार यस्ता कालिगढले कलात्मक गरगहना बनाउने गरेको सङ्घको अनुमान छ । नेपालमा ६० हजारको सङ्ख्यामा सुनचाँदीका कालिगढ रहेका छन् । यस्ता कालिगढले वार्षिक ५ अर्ब रुपैयाँ विदेशमा लगिरहेको शाक्यले बताए । एउटा कालिगढले महीनामा औसत १० हजार रुपैयाँ कमाउने गर्छ । नेपालीहरू यस पेशाप्रति आकर्षित नभएकाले पनि भारतीय कामदारहरूको सङ्ख्या बढेको हो । २०५५ सालमा काठमाडौंमा कति भारतीय कालिगढ छन् भनेर एक सर्वेक्षण गरिएको थियो । त्यसबेला उपत्यकामा मात्रै १२ हजार भारतीय कालिगढ रहेको पत्ता लागेको थियो । उनीहरूले महीनामा ३० हजार रुपैयाँसम्म कमाउने गर्छन् । सङ्घले २०६० सालमा सरकारसँग समन्वय गरेर नेपालीहरूलाई गहना बनाउने तालीमको आयोजना पनि गरेको थियो । तर, रुचि नदेखिएकाले २०६५ सालबाट बन्द गरिएको शाक्य बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।