प्रदेशको भौतिक संरचनाको तयारी

Share News
कास्की । प्रदेशसभा बैठकको मिति नजिकिँदै गर्दा कार्यालय तथा निवासका भौतिक संरचनालगायत अन्य पूर्वाधारको तयारी अगाडि बढेको छ । प्रदेश नम्बर ४ को राजधानी पोखरामा केही संरचना तयार भइसकेका छन् भने केही तयार गरिँदै छ । प्रदेश प्रमुखको कार्यालय र निवास भने हप्ता दिनअगाडि नै तयार भइसकेको छ । सरकारले अध्यागमन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय बनाएपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गतहप्ता त्यही कार्यालयमा कार्यभार सम्हाल्दै जेष्ठ सदस्य तथा सांसद जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रदेश प्रमुख कुँवरको निवाससमेत तयार भइसकेको छ । हाल क्षेत्रीय प्रशासकले प्रयोग गर्दै आएको निवासलाई प्रदेश प्रमुखको निवासका लागि प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवासलगायत मुख्यमन्त्री र मन्त्रीको कार्यालयको तयारीमा खटिएको अधिकारीले बताए । उनका अनुसार जिल्ला भूसंरक्षण कार्यालयका १० कोठा खाली गराएर प्रदेश मुख्यसचिवको निवासको तयारी अगाडि बढाइएको छ । त्यसैगरी, सभामुखका लागि विमानस्थलस्थित पर्यटन कार्यालयको नवनिर्मित भवनलाई प्रयोगमा ल्याउने काम अगाडि बढेको छ । क्षेत्रीय प्रशासकको निवासमा प्रदेश प्रमुखका लागि व्यवस्था गरिएपछि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई राष्ट्र बैङ्क कर्मचारी आवास गृहमा सारिएको छ । नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेशसभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको प्रजिअ अधिकारीले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख किशोरलाल महाजूका अनुसार प्रस्तावित कार्यालय र निवासको मर्मतको काम तीव्र पारिएको छ । प्रदेशसभा हलमा र अन्य संरचनाहरूको निर्माण तथा मर्मतको काम अगाडि बढेको छ । मुख्यमन्त्री, गृह र अर्थमन्त्रीको कार्यालय प्रस्ताव गरिएको सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । उक्त भवनको निर्माण सम्पन्न नहुँदासम्म मुख्यमन्त्री कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा राखिनेछ । त्यसैगरी, पोखरा–लेखनाथ महा नगरपालिकाको ड्यामसाइडस्थित रहेको गेष्ट हाउसलाई मुख्यमन्त्रीको निवासका रूपमा प्रयोगमा ल्याइने भएको छ । मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा रहनेछन् । शीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको कार्य सकिएपछि मुख्यमन्त्रीको निवास र कार्यालय सारिनेछ । मन्त्रिपरिषद्को बैठकले क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले प्रदेश कार्यालय र पदाधिकारीको निवासका लागि प्रतिवेदन पेश गरेको थियो । सो प्रतिवेदनलाई मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेपछि मर्मत र तयारीका काम थालिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।