काठमाडौं । नेपालको वैदेशिक व्यापार असन्तुलनको अवस्थाबाट माथि उठ्न सक्ने सम्भावना थप जटिल बन्दै गएको छ । नेपालको वैदेशिक व्यापारमा लामो समयदेखि असन्तुलन कायम रहँदै आएको अवस्थामा चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महीनासम्म आइपुग्दा अवस्था थप जोखीमपूर्ण देखिएको हो । चालू आवको ६ महीनाको अवधिमा नेपालको व्यापारघाटा करीब रू. ५ खर्ब पुगेको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको पहिलो ६ महीनामा नेपालको व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा १५ दशमलव ५२ प्रतिशतले बढेको छ । गत आव २०७३/७४ को पहिलो ६ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा ४ खर्ब २७ अर्ब रुपैयाँमा थियो । चालू आवको सोही अवधिमा उक्त व्यापारघाटा ४ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको छ ।
नेपालको अर्थतन्त्रले नै धान्न नसक्ने गरी विविध प्रकारका वस्तु तथा सामग्रीको आयात बढ्दै गएकाले व्यापारघाटा क्रमिक रूपले बढ्न थालेको विज्ञहरूले औंल्याएका छन् । त्यस्तै निर्यातयोग्य वस्तुको पहिचान, प्रवद्र्धन र बजारीकरणको अभावले हरेक वर्ष व्यापारघाटा तीव्र गतिले बढ्दै गएको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।
व्यापारविज्ञ पोषराज पाण्डेका अनुसार तीव्र बढिरहेको आयातझैं निर्यात बढाउन नसक्दा व्यापारघाटा कहालीलाग्दो अवस्थामा पुगेको हो । अझै पनि निर्यातयोग्य वस्तुमा विविधता ल्याउन सकिएको छैन, पाण्डे भन्छन्, हामी उही पहिलेकै परम्परागत वस्तु निर्यात गरिरहेका छौं । फलस्वरूप मुलुकको निर्यात बढ्न सकेको छैन । कमजोर पूर्वाधार, नवीनतम प्रविधिको कमीलगायत कारण मुलुकको उत्पादन क्षमतासमेत कमजोर भएकाले निर्यातमा समस्या देखिएको पाण्डेले औंल्याएका छन् ।
गत आवको पहिलो ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा मुलुकको निर्यातमा सामान्य सुधार देखिए पनि अत्यधिक आयातका कारण व्यापारघाटामा बढेको भन्सार विभागका अधिकारीहरू बताउँछन् । गत आवको समीक्षा अवधिमा नेपालले करीब ४ खर्ब ६४ अर्ब रुपैयाँको विविध वस्तु तथा सामग्री आयात गरेको थियो । तर, चालू आवको सोही अवधिमा आयात १५ दशमलव ३८ प्रतिशतले बढी ५ खर्ब ३५ अर्ब रुपैयाँबराबर पुगेको छ ।
यसरी आयातमा अत्यधिक वृद्धि हुँदा व्यापारघाटा क्रमिक रूपमा चुलिँदै गएको हो ।समीक्षा अवधिमा निर्यात भने सामान्य बढेको विभागको तथ्याङ्क छ । चालू आवको पहिलो ६ महीनामा नेपालबाट कुल रू. ४१ अर्बभन्दा बढीको सामान निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालबाट कुल ३६ अर्ब रुपैयाँबराबरको सामान निर्यात भएको थियो ।चालू आवको ६ महीनाको वैदेशिक व्यापार अवस्था हेर्दा नेपालको कुल वैदेशिक व्यापार रू. ५ खर्ब ७६ अर्बबराबर रहेको छ । गत आवको सोही अवधिमा ५ खर्ब रुपैयाँमा सीमित रहेको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा भने १५ दशमलव २६ प्रतिशतले बढेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।