आम्दानीका स्रोतहरू के–के हुन सक्छन्, दैनिक जीवनमा के–कस्ता क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ, खर्चको प्राथमिकीकरण कसरी गर्ने र बाँकी रहेको रकमलाई कसरी कहाँ लगानी गर्ने भन्ने विषयमा स्पष्ट हुनु नै वित्तीय साक्षरता हो । त्यसैले, यो आर्थिक समृद्धिका लागि अति आवश्यक पनि छ । सरकार र राष्ट्र बैङ्कले ल्याएको वित्तीय सेवा र वित्तीय संस्थासम्बन्धी विभिन्न व्यवस्थामा आम नागरिकहरू सचेत हुनुपर्दछ । सचेत नभएमा आर्थिक सङ्कट आइपर्ने सम्भावना हुन्छ । त्यस कारण वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने देखिन्छ ।
वित्तीय संस्था भनेको के हो, वाणिज्य बैङ्क, विकास बैङ्क, लघु वित्त इत्यादि भनेको के हो, सहकारी भनेको के हो भन्ने विषयमा पनि आम नागरिक स्पष्ट हुनु आवश्यक छ, जसले गर्दा बैङ्क, बीमा र शेयर बजारमा पैसा लगानी गर्न सजिलो हुन्छ । साथै, यसले वित्त ट्रान्सफरका लागि पनि सहयोग गर्दछ । वित्त ट्रान्सफरको नाममा भइरहेको विकृतिबाट बच्न वित्तीय साक्षरताले आम मानिसमा टेवा पुग्ने हुँदा अहिले वित्तीय साक्षरताको आवश्यकता बढ्दै गएको छ ।
यति मात्र नभएर यसले व्यवसाय छनोट, लगानी र त्यसको फाइदाबारे पनि अध्ययन गर्न सहयोग गर्छ । जीवन स्तर समृद्ध बनाउन र समग्र राष्ट्रलाई नै समृद्धितर्फ उन्मुख गर्न वित्तीय साक्षरतालाई एक अभियानकै रूपमा अगाडि बढाउन मेरो माग छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।