एनएसका लागि ५३ ग्यास उद्योगको आवेदन

Share News
काठमाडौं । पछिल्लो समय सरकारले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका ग्यास उद्योग बन्द गर्ने चेतावनी दिएसँगै सबै ग्यास उद्योगले ‘नेपाल गुणस्तर ५३३–२०७०’ प्रमाण (एनएस) चिह्नका लागि आवेदन दिएका छन् । मुलुकभित्रका ५५ ओटा ग्यास उद्योगमध्ये ५३ ओटा उद्योगले एनएसका लागि आवेदन पेश गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । आम उपभोक्ताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाना पकाउने ग्यासका सिलिण्डर गुणस्तरहीन र असुरक्षित हुँदा मानिसको ज्यान जाने घटना हुने क्रम बढेपछि विभागले ग्यास उद्योगलाई एनएस चिह्न अनिवार्य गरेको थियो । एनएस चिह्न नलिएका बोटलिङ प्लाण्ट बन्द गर्ने चेतावनी दिएसँगै ती ग्यास उद्योगले उक्त चिह्नका लागि आवेदन पेश गरेको विभागकी प्रवक्ता रोमी मानन्धरले बताएकी छन् । एनएस चिह्न नलिएका ग्यास उद्योग बन्द गर्न विभागले नेपाल आयल निगमलाई पत्राचारसमेत गरिसकेको उनले जानकारी दिइन् । विभागका अनुसार एनएसका लागि उद्योगीले पेश गरेको कागजपत्रमा विस्तृत अध्ययन भइरहेको छ । ती कागजपत्रमा नभएका आवश्यक कागजपत्र उपलब्ध गराउन भनी सम्बद्ध सबैलाई पत्राचारसमेत गरिसकेको विभागले स्पष्ट पारेको छ । उद्योगीले पेश गरेको उक्त कागजपत्रको आधारमा निरीक्षण एवम् अनुगमन गरेर एनएस प्रदान गरिने तयारी रहेको प्रवक्ता मानन्धरले बताइन् । हालसम्म श्रीकृष्ण, साईबाबा, नेपाल ग्यास र मनोज ग्यासले मात्रै एनएस चिह्न लिएका छन् । सरकारले २०७३ माघ २९ गतेसम्म नेपालभर सञ्चालनमा रहेका ग्यास उद्योगलाई एनएस चिह्न लिन अनिवार्य गरे पनि ग्यास व्यवसायीले भने अटेर गर्दैआएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।