पूर्वी पहाडी जिल्ला पाँचथर छिमेकी इलाम र ताप्लेजुङको छायाँमा परेको भए पनि प्रशस्त सम्भावना बोकेको जिल्ला हो । जिल्लाको मुख्य सम्भावनाका रूपमा कृषि, पशुपालन, पर्यटन तथा जलविद्युत् रहेका छन् । जिल्लाको समग्र विकास तथा आर्थिक उन्नतिका लागि यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवराज थापा बताउँछन् । परम्परादेखि चल्दै आएको कृषि तथा पशुपालनलाई आधुनिकीरण गर्दै लैजानुपर्ने सरोकारवालाहरूको तर्क छ । त्यसो त प्रशस्त पर्यटकीय सम्भावना भएका क्षेत्रहरू पनि यस जिल्लामा रहेका छन् । तिनको विकास तथा प्रचारप्रसारमा जोड दिँदै लैजानु पनि पाँचथरको विकासका लागि अपरिहार्य छ । पछिल्लो समयमा जिल्लामा जलविद्युत्को सम्भावनाको खोजी पनि हुँदै आएको छ ।
६५ हजार ५ सय ४७ हेक्टर कृषियोग्य जमीन भएको पाँचथरमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेतीले ठाउँ पाउन थालेको छ । प्रमुखतः जिल्लामा नगदे बालीतर्फ आर्कषण बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक वीरबहादुर श्रेष्ठ बताउँछन् । जिल्लामा अलैंची, अदुवा, अम्रिसो, चिया, सुन्तला, आलु तथा तरकारीजन्य बालीतर्फ कृषकहरूको आकर्षण देखिन्छ । जिल्लाको प्रमुख नगदे बालीका रूपमा अलैंचीले स्थान पाएको प्राविधिक श्रेष्ठ बताउछँन् । जिल्लामा कुल १ हजार ५ सय हेक्टर जमीनमा अलैंची खेती हुने गरेको छ । नेपालको सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्लामा तेस्रो स्थान पाँचथरले ओगटेको छ । तर, पछिल्लो समयमा अलैंचीमा देखापरेको पहिचान नभएको रोगका कारण किसानको उत्पादन घट्न थालेको छ । जिल्लाका रवि, रानीटार ,फलैंचा, च्याङथापु, ओयाम, सिदिनलगायतका ठाउँमा अलैंची खेती हुने गरेको छ ।
पछिल्लो समयमा अदुवा खेतीप्रति पनि कृषकहरूको आकर्षण बढेको छ । गोलभेंडा, काउली, साग, मूलालगायत तरकारी खेतीमा पौवासरताप, फिदिम, अमरपुर, नागी, पञ्चमी, थर्पुलगायतका गाविसमा व्यावसायिक तरकारी खेती फस्टाउँदै गएको छ । जिल्लाका उच्चपहाडी क्षेत्रका कृषकहरू पछिल्ला वर्षमा जडीबुटी खेतीतर्फ सक्रिय भएका छन् । यस क्षेत्रमा करीब १५ हजार कृषकले आफ्नो निजी पाखाकान्लामा चिराइतो, ओकेआलु, सुगन्धवाल, लौठसल्ला, चमेली, सतुवा, सिल्टिमुर, पाखनवेद, तोहो आदिको व्यावसायिक खेती गरिरहेको दीपज्योति युवा क्लबका निर्देशक सुनिल वान्तवा बताउँछन् । जिल्लामा ठूला उद्योग स्थापना गर्न समस्या रहेकाले अग्र्यानिक किसिमबाट कृषिको व्यवसायीकरणमा जोड दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य मित्रप्रसाद काफ्लेको भनाइ छ । कृषिको सहकारीकरणमार्फत व्यवसायीकरणमा जानु फाइदाजनक हुने जिल्ला कृषि सहकारी सङ्घ पाँचथरका अध्यक्ष प्रेम ओझा बताउँछन् । जिल्लामा अर्को महइभ्वपूर्ण व्यवसायका रूपमा पशुपालन पनि फस्टाउँदै गएको छ । ग्रामीण बजारमा पनि पशुजन्य कारोबार राम्रो किसिमले भइरहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शङ्कर यादव बताउँछन् । जिल्ला पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष कुमार खरेलका अनुसार १ वर्षमा नै ८० भन्दा बढी कुखुरा फार्म स्थापना भएका छन् ।
जिल्लाको अर्को सम्भावनाको क्षेत्रका रूपमा पर्यटन रहेको छ । जिल्लामा पर्यटन पूर्वाधारको त्यति धेरै विकास हुन सकेको छैन । उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भए तापनि पूर्वाधार विकास र प्रचारप्रसारको अभाव छ । जिल्लामा तिम्बुपोखरी, मिक्लाजोङ, सिलौटी, रवि, रानीटार, लोब्रेकुटी, सुमात्लुङ, पौवाभञ्ज्याङ, जोरपोखरीलगायतका अनेकौं पर्यटकीय र धार्मिक क्षेत्र रहेका छन् । पर्यटन वर्षको अवसर पारेर गतवर्ष जिल्लाका विभिन्न स्थानमा पर्यटन महोत्सवसमेत भएका थिए । जिल्लामा सांस्कृतिक पर्यटनको पनि सम्भावना रहेको आदिवासी जनजाति महासङ्घ पाँचथरका सचिव तथा संस्कृतिकर्मी सगुन सुसारा बताउँछन् । साथै जिल्लामा धान नाच, च्याब्रुङ नाच, साकेला, धुररा, सङ्गिनी, ढोल नाच, लाखेलगायत सांस्कृतिक सम्पदा रहेका छन् ।
जिल्लामा जलविद्युत् विकासको उच्च सम्भावना रहेको विज्ञहरू बताउँछन् । केन्द्रीय प्रसारण लाइनमा जोड्ने १ सय ३२ केभीको काबेली कोरिडर निर्माण चरणमा रहेकाले जिल्लामा विद्युत् उत्पादन गर्न सके पूर्वी तराईमा देखिएको विद्युत् समस्या कम गर्दै आम्दानी गर्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन् । हाल जिल्लामा साना जलविद्युत् आयोजनाबाट १ हजार ३ सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लामा ३ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने पूर्वसांसद् तथा जलविद्युत्का लगानीकर्ता वसन्तकुमार नेम्वाङ बताउँछन् । जिल्लाको सम्भाव्य विद्युत् उत्पादन गर्नका लागि कम्तीमा ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको नेम्वाङले बताए । जिल्लामा काबेली ‘ए’ ३७ दशमलव ७ मेगावाट विद्युत् आयोजना निर्माणका लागि विश्व बैङ्कबाट ऋण स्वीकृत भइसकेको छ । त्यस्तै हेवा ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य मङ्सिरबाट शुरू हुने बताइएको छ । १० मेगावाटको हेवा बीको पनि अध्ययन भइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।