गोल्छा अर्गनाइजेशनले केही समय अघिदेखि नेपालमा निप्पोन पेण्ट्सको विक्री शुरू गरेको छ । निप्पोन पेण्ट्स जापानी प्रविधिमा आधारित १ सय ३६ वर्ष पुरानो कम्पनी हो । यसका उत्पादन लीड फ्री, इको फ्रेण्ड्ली तथा ग्रीन टेक्नोलोजीबाट बनाइएको हुन्छ । यसै सन्दर्भमा कम्पनीका योजना, पेण्ट्स उद्योगकोे वर्तमान अवस्था, बजारलगायत विषयमा गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक हिमांशु गोल्छासँग आर्थिक अभियानका मदन लामिछानेले गरेको कुराकानीको सार :नेपालमा पेण्ट्सको व्यावसायिक अवस्था कस्तो छ ?
नेपालको पेण्ट्स बजार वार्षिक २० प्रतिशत बढिरहेको छ । नेपालमा वार्षिक १२ अर्ब रूपैयाँबराबरको पेण्ट्स विक्री भइरहेको छ । अहिले यहाँ तीनओटा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरिरहेका छन् भने २५ भन्दा बढी स्वदेशी पेण्ट्स उद्योग सञ्चालित छन् । त्यसैले, नेपालको सानो तर बढिरहेको बजारमा सशक्त रूपमा अगाडि आउने कम्पनीले राम्रो गर्न सक्ने अवस्था छ । आगामी ५ वर्षमा नेपाली पेण्ट्स बजार दोब्बर बढ्छ भन्ने अनुमान छ ।
बिल्डकोन एक्स्पोले यो व्यवसायमा कस्तो प्रभाव पार्ला ?
नेपालमा चौथोपटक बिल्डकन एक्स्पो हुँदै छ । नयाँ तथा पुराना कम्पनीलाई आफ्नो ब्राण्डको प्रचार प्रसार गर्न सजिलो होस् भनेर यसको आयोजना गरिएको हो । यसले प्रडक्टको ब्राण्डिङमा सहयोग पुर्याउनेछ । साथै, नेपाली बजारमा निप्पोन पेण्ट्स पनि आएको छ भन्ने जानकारी दिन पनि सहज हुनेछ । यसका लागि हामी यो प्रदर्शनीमा सहभागी भएका हौं ।
निप्पोन पेण्ट्सको बारेमा जानकारी दिनुहोस् न ?
निप्पोन पेण्ट्स जापानी प्रविधिमा आधारित १ सय ३६ वर्ष पुरानो कम्पनी हो । यो विश्वका १० ठूला पेण्ट्स कम्पनीमध्ये पर्छ । यो एशियाली पेण्ट्स बजारको अग्रणी कम्पनी हो । यो पेण्ट्स अटोमोटिभ, इण्डष्ट्रिज र डेकोरेटिभ गरी तीन प्रकारको छ । यो कम्पनीको वार्षिक कारोबार ५ अर्ब डलर छ । दक्षिण एशियामा यो पेण्ट्सको उत्पादन भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा मात्र हुन्छ । त्यसैले पनि कम्पनीले हामीसँग सहकार्य गरेर नेपालमा आउन खोजेको छ ।
यसका मुख्य विशेषता के हुन् ?
अहिले हामीले नेपाली बजारमा डेकोरेटिभ पेण्ट्स ल्याएका छौं । साथै, छिट्टै अटोमोटिभ पेण्ट्स पनि बजारमा ल्याउने तयारी गरिरहेका छौं । निप्पोन पेण्ट्सका सबै उत्पादन लीड फ्री, इको फ्रेण्ड्ली तथा ग्रीन टेक्नोलोजीबाट बनाइएको हुन्छ । बजारमा पाइने अन्य पेण्ट्समा यी सबै विशेषता पाइँदैन । यो जापानी उत्पादन भएकाले यसको गुणस्तर एकदमै राम्रो छ । यसको भारतमा रहेका प्लाण्टबाट उत्पादित पेण्ट्स अन्य एशियाली कम्पनीका पेण्ट्सभन्दा धेरै राम्रो छ । यसको मूल्य अन्य पेण्ट्सको तुलनामा महँगो पनि छैन । नेपालका मुख्य शहरमा आधिकारिक विक्रेता नियुक्त गरेर यसको विक्रीवितरण थालेका छौं ।
यो पेण्ट्सको प्रयोगबाट उपभोक्तालाई के फाइदा हुन्छ ?
निप्पोन पेण्ट्स एकपटक गरेपछि लामो समयसम्म टिक्छ । यो पेण्ट्स गुणस्तरीय हुनुका साथै यसको प्रडक्ट रेञ्ज पनि धेरै छ । अन्य कम्पनीले बजारमा नल्याएका उत्पादन पनि यसले ल्याएको छ । हामीले अहिले डेकोरेटिभ पेण्ट्सअन्तर्गत तीन प्रकारका एक्ष्टेरियर, तीन प्रकारका इण्टेरियर तथा प्राइमर, मल्टिपर्पाेज वाल सिलर, मेटल प्राइमर रेडअक्साइड प्रिण्ट, गुड तथा मेटल प्रिण्ट बजारमा ल्याएका छौं । छिट्टै डेकोरेटिभ पेण्ट्सका अरू रेञ्ज बजारमा आउँदै छ । डिलर तथा पेण्टरलाई आकर्षक स्किम दिइरहेका छौं । निप्पोन पेण्ट्सको मोबाइल फोनमा आधारित ‘प्रोचान्स’ एप्लिकेशन छ, जुन भारतमा एकदमै लोकप्रिय छ । निप्पोनका उत्पादनमा भएको बार कोड एस एप्लिकेशनमा स्क्यान गरेर प्वाइण्ट पाउन सकिन्छ र यसै प्वाइण्टका आधारमा गाडीदेखि अन्य सामानसम्म उपहार पाउन सकिन्छ । यो एप्लिकेशन एण्ड्रोइड फोनमा सजिलैसँग डाउनलोड गर्न सकिन्छ ।
नेपालमा पेण्ट्स प्रयोग गर्ने प्रवृत्ति कस्तो छ ?
नेपालमा दक्षिण एशियाली अन्य देशमा जस्तै पेण्ट्सको खपत राम्रो छ । यो एउटा विकासशील देश हो । यहाँ मानिसहरू नयाँ घरमा पेण्ट्स गरेर नै सर्ने गरेको पाइएको छ । अन्य देशमा पेण्ट्स नगरेरै पनि घर सर्छन् । अहिले मानिसले घरको इण्टेरियर डेकोरेशनमा पैसा खर्च गर्न थालेका छन् । हाउजिङ निर्माण बढेसँगै पेण्ट्को बजार पनि वर्षेनि बढ्दो छ । नेपालमा वार्षिक प्रतिव्यक्ति पेण्ट्स खपत २ दशमलव ५ किलोग्राम छ ।विकसित देशहरू, जस्तै– सिङ्गापुर, दुबईलगायत देशमा वार्षिक प्रतिव्यक्ति ४० केजी पेण्ट्स खपत छ । विकसित देशसँग तुलना गर्दा नेपालको प्रतिव्यक्ति पेण्ट्सको खपत र फ्रिक्वेन्सी पनि कम छ । अहिले नेपालमा नयाँ सडकको निर्माण बढिरहेको छ । यसले गर्दा नेपालका धेरै भूभागमा कङ्क्रिटका घर बन्न थालेका छन् । यसले पेण्ट्सको बजार बढाएको छ । साथै, नेपालीको प्रतिव्यक्ति आम्दानी बढिरहेकाले यसको खपत पनि बढेको हो ।यो व्यवसायमा के–कस्ता समस्या छन् ?
हामी बजारमा आएको भर्खरै ६ महीना भयो । त्यसैले, अबको केही समयपछि यसबारे भन्न सक्छौं । तर, अहिलेका लागि नेपाली बजार बढिरहेको देखिएको छ । निप्पोनले पनि नेपाली बजारमा आएर आफूलाई बलियो बनाउँदै लैजानेछ । हामीले बिल्डकन एक्स्पोमार्फत निप्पोन पेण्ट्स आधिकारिक रूपमा लञ्च गर्ने योजना पनि बनाएका छौं ।कम्पनीका योजना के–के छन् ?
नयाँ कम्पनी भएकोले सबैभन्दा पहिलो काम आफ्नो डिलर नेटवर्क नेपालभर बलियो बनाउँदै लैजाने हो । निप्पोन पेण्ट्स नेपाली बजारमा आएसँगै यसलाई उपभोक्ताले मन पराए, यसको प्रयोग बढ्यो भने नेपालमा पनि उत्पादन प्लाण्ट खुल्न सक्छ । यो पेण्ट्सको विक्री बढ्दै गएमा कम्पनीले यसको प्लाण्ट खोल्ने योजना बनाउनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।